काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ नेतृत्व चयनका लागि विशेष महाधिवेशन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशनका लागि केन्द्रीय समितिलाई आयोजक समितिमा परिणत गर्ने निर्णय गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विशेष महाधिवेशन आयोजक समितिको संयोजक हुनेछन् । ९ असोजमा बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोक्नेछ ।
मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्न स्थायी र केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय भएको र महाधिवेशनले युवा पुस्तामा नेतृत्व लाने गरी निर्णय निर्णय गर्ने बताइएको छ ।
२०७८ पुसमा माओवादीको आठौं महाधिवेशन भए पनि त्यसले नेतृत्व हस्तान्तरण गर्न सकेको थिएन । प्रत्यक्ष निर्वाचित केन्द्रीय समिति र नेतृत्व चयन गर्न माग भए पनि दाहालकै अरुचिका कारण प्रत्यक्ष निर्वाचन भएको थिएन ।




