काठमाडौं । नेपाल आइडल सिजन–६ को विजेता गंगा सोनाम बन्न बनेकी छन् । आइतबार ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै सोनम नेपाल आइडलको विजेता बनेकी हुन् ।
विजेता बनेसँगै गंगाले उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन् । सोनमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरेका थिए ।
फिनालेमा फस्ट रनरअप बबिता थापा मगर र सेकेन्ड रनरअप दर्शना गन्धारी भएका छन् । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे ।
यस्तै, अभिनय खाति चौथो बने भने मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार पाइन् । उनीहरू दुवैले १ लाख रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
नेपाल आइडलको यो सिजनमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए भने आसिफ शाहले उद्घोषण गरेका थिए । सुरेश पौडेल र एलेन श्रेष्ठले शोको निर्देशन गरेका हुन् ।
यसअघि नेपाल आइडलमा क्रमशः बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र गतवर्ष करण परियार विजेता बनेका थिए ।




