काठमाडौं । गाजामा विगत २४ घण्टामा अनिकाल र कुपोषणका कारण थप नौ जनाको मृत्यु भएको छ । गाजामा रहेको हमास स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
यसबाहेक खानाको अभावमा मृत्यु हुनेहरूमा ८३ बालबालिका रहेको अन्तराष्ट्रिय समाचारहरूमा उल्लेख छ ।
बीबीसीका अनुसार गत साता गाजामा मृत्यु हुनेहरूमा खाना खोज्न गएका एक किशोर र महिनौँसम्म कुपोषण भोगेका एक पुरुषसमेत छन् ।
सहायता संस्थाहरूले गाजामा इजरेलले गरेको नाकाबन्दीले गर्दा सम्पूर्ण क्षेत्रमा “आम भोकमरी” फैलाएको चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।
यस हप्ताको सुरुमा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको २१ लाख जनसंख्याले आधारभूत आपूर्तिको गम्भीर अभावको सामना गरिरहेको, कुपोषण “बढ्दो” र गाजामा “भोकमरीले हरेक ढोका ढकढक्याइरहेको” बताएका थिए ।




