November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जुलुसमा निस्किरहेका कवितासँगको साक्षात्कार

योङ्हाङ प्रदिप लिम्बू
२०८२ श्रावण ३

3.5K

बाध्यताले हिँडिन्छ दोहोर्‍याएर थुप्रै बाटाहरू, रहरले दोहोर्‍याइदोहोर्‍याइ हिँडेका बाटाहरू त बिरलै होलान् । दोहोर्‍याइदोहोर्‍याइ सुन्ने गीतहरू पनि कति नै पो हुन्छन् र ? अनि कविताहरू नि ? कविता पनि त त्यस्तै हो । दोहोर्‍याएर पढ्न मन लाग्ने कविताहरू, दोहोर्‍याएर पल्टाउन मनलाग्ने कविताका किताबहरू एकदमै बिरलै हुन्छन् । म पढाकु मान्छे कदापि होइन, तर सिमित किताबहरू पढिसक्दा केहि कविताका किताबहरू मात्रै दोहोर्‍याएर पढ्न मन भयो/हुन्छ । यसैले यो प्रसङ्ग यहाँ उल्लेख गर्न मन भयो ।

मैले भरखरै “जब कविता निस्कन्छ जुलुसमा” कविता सङ्ग्रह दोहोर्‍याएर पढी सकेँ र केही लेखौँ लाग्यो । यो सङ्ग्रह कवि सुरज रानाको कविता सङ्ग्रह हो । सङ्ग्रह २०८१ भदौ तिरै बजारमा आएको हो । बजारमा आए लगत्तै बढो सँयोगले सङ्ग्रह हात लाग्यो । सङ्ग्रह निस्किएको समय आसपासमै म भाईबहिनीहरू सँग भेडेटार घुम्न गएको थिएँ । त्यही बेला यो सङ्ग्रह हात पर्ला भनेर सोचेको पनि थिईनँ तर त्यही घुमघामको दौरान अचानक कवि उत्तम तुम्सा र कवि केजि सुब्बालाई भेडेटारमा बाइकमा हुइकिरहेको अवस्थामा फेला पारेँ । चिया पिउने सल्लाह भयो । ठिक त्यही बेला यो सङ्ग्रह बारे सोधेँ । कवि उत्तमले एक प्रति बोक्नु भा रहेछ । त्यही प्रति लिएँ । सङ्ग्रह यसरी अचानक र अप्रत्यासित रुपमा हात परेको थियो । कवि सुरजका कविताहरू सञ्जालमा पढ्न पाए देखिनै म उनको कविताको फ्यान भएको थिएँ । सङ्ग्रह किन्न यसैले पनि उत्साहित थिएँ ।

पैँतालिस वटा कवितालाई पाँच वटा खण्डमा विभाजित गरेर सङ्ग्रहित गरिएको छ । सुरजका प्रत्येक कविताहरूमा विद्रोही स्वभाव वा विद्रोही चेत भेटिन्छन् । उनको कविताको सशक्त पाटो नै यही लाग्यो । यसैले जुनजुन कवितामा उनी विद्रोही हुन छुटेका छन्, ति कविताहरू मेरा लागि कमजोर सावित भएका छन् ।

Advertisement

१. ओ बाहुनी !
यस खण्ड अन्र्तगत दश वटा कविता छन् । सुरजका कविताको सशक्त पक्ष नै उनको कवितामा आउने विद्रोही चेत हा,े भनेर मैले सुरुमै भनें । यस खण्डका कविताहरूले नै त्यसलाई पुष्टि गर्दछन् । भावना, केवल भावनालाई छोडेर विद्रोही शैलीका प्रेम कविता कस्तो हुनसक्छ ? भन्ने एउटा गतिल्लो उदाहरण ‘ओ बाहुनी’ कविता हुन सक्छ ।

ओ बाहुनी !
अब समाज र दुनियाँको नियम तोडेर
भगवान्हरूलाई खुल्ला चुनौती दिँदै
निर्धक्क भएर मेरो अँगालोमा आइज,
तेरो र मेरो संसर्गबाट जन्माइदिऊँ
एउटा समुन्नत समाज ।
(ओ बाहुनी !)

यसरी यस कविताले जातिय विभेदका कुरालाई छाडेर जातीय समानता सहितको समाजको परिकल्पना गर्दछ । यस खण्डका तलब, ओ बाहुनी, राज्य र सडक बालक, सुस्केराको उदेकलाग्दो नदी, साँढेहरूको कन्र्सट लगायतका कविताहरू मलाई मन परेका कविताहरू हुन् ।

प्रधान साँढे
सबैभन्दा अगाडि बसेर घोक्रो फुलाउँदै
गाइरहेछ इतिहासको सबैभन्दा झुटो गीत
‘हामी देश बनाउँछौ
हामी देश बनाउँछौ’

(साँढेहरूको कन्र्सट)

साँढेहरूको कन्र्सट मलाई औधी मनपरेको कविता हो । बढो सन्तुलित ढङ्गले बिम्बको प्रयोग गरेर वर्तमान नेपाली राजनीति र राजनीतिक साक्षरताको (Political literacy) दुःखद अवस्थाको चित्रण गरिएको छ ।

‘माछाको शिकार’ कविताको फिनिसिङ् कम्जोर लाग्यो । सुरुका स्टान्जामा कविता जसरी बिम्बमा बगेको छ, अन्तिमको स्टान्जामा त्यो बिम्बको बहाव छताछुल्ल भयो । मेरो दृष्टिकोणमा यो खण्डको सबैभन्दा कम्जोर कविता यहि हो ।

२. प्रहरी चौकीमा सोल्टा
यस खण्डमा जम्मा नौ वटा कविता रहेका छन् । यस खण्डमा भएको ‘इतिहासको बृहत सभा’ भन्ने शिर्षकको कविता साँच्चै भव्य छ । यो कविता बाध्यताको आँधीमा फसेर समय, समाज, देशको नजरमा पटकपटक विचार विहीन करार भैरहने आम मानिसको कविता हो ।

यत्रो महाज्ञान र अचुक सुझावसहित
दुनियाँ बदल्ने उत्साह बोकेर
जसै म बाहिरिएँ सभाबाट
भोकले मेरो कठालो समातेर लतार्दै भन्यो
भात खानु छ ए मजदुर,
बेल्चा समात ।
(इतिहासको बृहत सभा)

विचारको बिरुवा खाली पेटको धरातलमा हुर्कन मुश्किल छ, यो यर्थाथ चित्रण छ कवितामा ।

‘प्रहरी चौकीमा सोल्टा’ कविता आर्को सशक्त कविता हो । गोजीमा संविधान च्यापेर हिँड्नेहरूले संविधानलाई सुरक्षित राखेका हुन् कि अपहरण गरेर राखेका हुन् भन्ने दुविधाको अवस्था छ । यहि कुरा सशक्त ढङ्गले कवितामा आएको छ । ‘याक्थुम्बा बाजेको जीवनगीत’ मा कविले ‘याक्थुङ्बा’ हुनु पर्नेमा ‘याक्थुम्बा’ प्रयोग गरेका छन् । यो त्रुटी भन्दा पनि कवि गैर याक्थुङ् भएकोले उनले आफ्नो लवज अनुसार लेखेका हुन भन्ने रुपमा बुझेको छु । यदि मेरो बुझाई गलत हो भने कवि जी ले यहाँ गल्ति गर्नु भएको छ ।

‘थेचम्बू’ कविता पनि सुन्दर छ । कविमा विद्रोही चेत/युद्ध/आक्रोश किन छ ? भन्ने प्रश्नको उत्तर यहाँ भेटिन्छ ।

हात माग्न आउँदा आउँदै, स्वप्निल स्मृतिको प्रेम पत्र, यस खण्डका कम्जोर कविता हुन् भन्ने लाग्यो ।

३. म ब्रह्माण्ड
यस खण्डमा नौ वटा कविता छन् । यसमा भएका कविताहरू अलि बढी सेल्फपोट्रेट प्रकारका छन् ।

‘बोध’
कविताको अन्तिममा लेख्छन्ः

मैले यति बोध त गर्नै पर्छ
कि आफ्नो रहरमा बुट्टा भरेर
क्रिस्टल काँच जस्तो चमक्दार
अतिशयोक्तिपूर्ण अभिव्यञ्जना पोखिरहँदा
यदि मैले बाँचरहेको परिवेश
र मैले टेकिरहेको धरती
शोक–सन्तप्त छ भने
त्यो नै कवितामाथिको
सबैभन्दा ठूलो अपमान ठहर हुनेछ ।

कवि सुरजको कविताको मुख्य धरातलनै यथार्थवाद हो भन्ने कुराको पुष्टि यो कविताले गर्दछ । उनी आफ्नो लेखन्मा के लेख्ने भन्ने कुरामा स्पष्ट छन् । यसैले उनको कवितामा सत्ता इतरका मान्छेहरूको आवाज छ । यस खण्डको ‘म’ शिर्षकको कविता बढो दार्शनिक लाग्यो । उपमा र अलङ्कारहरूको बिस्कुनमा खासमा आफू को हुँ ? भनेर चिन्नु एउटा सुन्दर दर्शन त होनि । हैन र? यात्राग्राफ, सपना जुत्ता, हजुर मुस्कुराउनुुुस् कविता फितलो लाग्यो ।

४. लेस्बियन छाँया
यस खण्डमा जम्मा नौ वटा कविता रहेका छन् । अलि बढी प्रेम कविता छन् । कविता पढ्दै गर्दा मलाई लाग्यो, विद्रोही स्वभाव कविताको सशक्त पक्ष हो । किनकी जुनजुन कवितामा कविको यो स्वभाव छुट्यो, ती कविताहरू कम्जोर महशुस भयो । यस कवितामा ‘लेस्बियन छायाँ’ बाहेकका कविता कम्जोर लाग्यो । ‘लेस्बियन छायाँ’ कविता भव्य छ । समाजले निर्माण गरेको लैङ्गिक संरचनाको विनिर्माणको पक्षमा कवि अभिएका छन् । यो कविता जुन शैलीमा छ, त्यो शैली मलाई खुब मनप¥यो ।

५. जब कविता निस्कन्छ जुलुसमा
यस खण्डमा जम्मा आठ वटा कविता रहेका छन् । प्रत्येक कविताहरू सशक्त छन् । कवितामा आक्रोश छ । अस्तित्वकोृ उत्खन्न हुनैपर्छ भन्ने उद्घोष छ ।

‘किताबमा देश’ यो खण्डको पहिलो कविता हो । आधुनिक शिक्षा प्रणाली सुरु भएदेखि बाल मनोविज्ञानको निर्माण लगभग स्कुलका किताबहरूले गर्छन् । तर त्यही किताबमा त्रुटीपूर्ण विषयवस्तु पढाइन्छ । त्यहाँका विषयवस्तुमा समावेशिता छैन् । बालबालिकाले किताबका पन्नाहरूमा आफ्नो अनुहार नदेखिरहेको अवस्था छ । आफ्नो भाषा, भेष नपाइरहेको अवस्था छ । यही असमान र अव्यवहारीक प्रवृत्तिको चर्को असन्तुष्टि छ, यो कवितामा । इतिहास पुन लेखन गरिनु पर्छ भन्ने आशय पनि भेटिन्छ कवितामा ।

पन्नै उप्किएर हरायो कि?
मेटिएर पो हरायो कि?
या जानीजानी मेटाइयो?
पाठशालाको किताबमा
हामीले माटोसँग बोल्ने भाषाको आदिम लय छैन ।
(किताबमा देश)

‘कविताका मालिकाहरूलाई’ क्या गज्जबको सटायर कविता । सिर्जना त स्वतन्त्र हुन्छ । उसको आफ्नै लय हुन्छ । तर एउटा तप्काले ‘पिजँडाको सुगा हो’ जस्तो गरी सिमितता नै सिमितताले भरेर कविताको व्याख्या गरिदिन्छन् । त्यही तप्काले पछिल्लो पुस्ताले कविता लेखिरहेको छैन भनिदिन्छ । त्यो तप्काप्रति कवि असन्तुष्ट छन् । त्यही तप्कालाई गतिल्लो सटायर हा,े यो कविता ।

‘अक्षरहरू’ यस खण्डको अर्को भव्य कविता हो । कवि सुरजका कविताहरू किन सशक्त छन् ? भन्ने प्रश्नको एउटै उत्तर हुन सक्छ कि उनी शब्द र अक्षरहरू प्रति इमान्दार छन्, गम्भिर छन् । अक्षर र शब्दको प्रयोगमा सचेत छन् । त्यसकै प्रतिफल हो यो सशक्त कविता । उनी कवितामा लेख्छन्ः

कागजको छातीमा बाटो बनाएर
अक्षरहरूले महायात्रा गरेपछि मात्रै
कागज बाइबल बन्यो
कागज कुरान बन्यो
कागज त्रिपिटक बन्यो
बने–गीता, पुराण, महाभारत

आज यिनै कागजहरूको थुप्रोलाई ढोगेपछि
मान्छे इसाइ बन्छ
मान्छे इस्लाम बन्छ
मान्छे बौद्ध बन्छ
मान्छे हिन्दु बन्छ
र भुलिदिन्छ मान्छे बन्न
………
…….
नसम्झनू सामान्य
अक्षरहरूकै राँको बालेर
जब कविता निस्कन्छ जुलुसमा ।

समग्रमा भन्नुपर्दा यथार्थको धरातलमा टेकेर लेखिएको एउटा सशक्त सङ्ग्रह हो ‘जब कविता निस्कन्छ जुलुसमा’। कवि थुप्रै कवितामा भुईंमान्छेको पक्षमा उभिएका छन् । सत्ताको ठिक विपरीत ध्रुवमा उभिएर सत्तालाई प्रश्न गरिरहेछन् । मलाई लाग्छ “अहिलेनै सत्ताले निर्माण गरेको देशको कविता लेखिहाल्ने हाम्रो अवस्था भैसकेको छैन् । यसैले कविले सत्ताको विपरित ध्रुवमा उभिएर प्रश्न गर्नै पर्छ ।” कविका कविताहरू पढ्दा यहि कुरा आभाष भैरहँदा एकदम खुसि लाग्यो । मेरो पुस्ताको एउटा राम्रो सङ्ग्रह हो ‘जब कविता निस्कन्छ जुलुसमा’ । यस सङ्ग्रहमा कम्जोरीनै नभएको भने हाइन् । मेरो दृष्टिकोणमा हजुर मुस्कुराउनुस्, दुःखका आकाश, हात माग्न आउँदा आउँदै जस्ता केही कविताहरू कम्जोर छन् । यी कविताहरूको अनुपस्थ्तििमा पनि सङ्ग्रह बलियो नै रहन्छ । तलब, ओ बाहुनी, साँढेहरूको कन्सर्ट, इतिहासको बृहत् सभा, म, लेस्बियन छायाँ, किताबमा देश, अक्षरहरू जस्ता कविताहरू मेरो दृष्टिकोणमा कवि सुरज रानाका मास्टरपिस कविता हुन् ।

पहाडलाई चार जनाले चारै तिरबाट हेर्ने हो भने पहाड चार प्रकारकै लाग्छ । सिर्जना त पहाडभन्दा धेरै फरक कुरा हो । अनेकौँ दृष्टिकोणबाट हेर्न सकिन्छ । मैले मेरो दृष्टिकोणबाट यो सङ्ग्रहलाई हेरेँ र मेरो दृष्टिकोणनै यो सङ्ग्रहको अन्तिम मानक होइन । र यो लेख कुनै समीक्षा नभएर एउटा पाठकको पठन अनुभूति मात्रै हो । धन्यवाद !