चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिकाको सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित “बाल चलचित्र महोत्सव, इलाम” जेठ ५ देखि सुरू भएको थियो भने विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ ।
सिनेमा, शिक्षा र पर्यटनको त्रिकोणात्मक समन्वयमा केन्द्रित यो महोत्सवले इलामलाई चलचित्र निर्माण र प्रदर्शनको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण भूमिका खेलेको छ ।
महोत्सवमा बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामार्फत ३७ जना विद्यार्थीलाई चलचित्र लेखन, निर्देशन र अभिनयको व्यावहारिक प्रशिक्षण दिइयो भने विशिष्ट कलाकार बद्री अधिकारीको निर्देशनमा उनीहरूको लेखन र अभिनयमा तयार भएको लघु चलचित्र “हजार सपनाहरू”को प्रभावशाली प्रदर्शनले सृजनशीलता र आत्मविश्वासको सन्देश दिएको छ। यसैगरी सिनेमा साक्षरता अभियान अन्तर्गत घुम्ती सिनेमा इलाम बजार र श्रीअन्तु विद्यालयहरूमा सडकछेउमा प्रदर्शन गरियो । जसमा सर्वसाधारणदेखि विद्यार्थी र अभिभावकहरुले चलचित्र हेर्ने नयाँ अनुभव गरे। इलामकी फुटबलर एन्जिला तुम्बापोको जीवनीमा आधारित चलचित्र “एन्जिला” सो चलचित्रका निर्माता तथा निर्देशकको उपस्थितिमा इलाम बजार चोकको एलईडी स्कृनमा प्रदर्शन गरिएको थियो ।
महोत्सवमा बाल चलचित्र प्रदर्शनी अन्तर्गत “शिलावाला”, “घुर्रा”, “द स्कुल वाल” र “पाउलो” चलचित्रहरू गौतम बुद्ध हलमा प्रस्तुत गरिए। सेलिब्रेटीसँग बालबालिका अन्तर्गत बसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, सन्तोष लोहनी, मिलन चाम्स, प्रेम कुमार श्रेष्ठ, श्रीदेव भट्टराई, बालकृष्ण निरौला, दिनेश डिसी, जनकदिप पराजुली, पुनम क्षेत्री लगायतले बालबालिकासँग खुला संवाद गरे ।
समापन समारोह इलाम नगरपालिकाको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित इलाम नगरपालिकाका मेयर केदार थापा, उपमेयर विष्णु कुमारी लिम्बु, वडाध्यक्षहरू, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा विशिष्ट कलाकार र चलचित्रकर्मीहरूसहित नायिकाहरु बसुन्धरा भुसाल, गौरी मल्ल, कलाकार मोहन निरौला, साहित्यकार राधेश्याम लेकाली, निर्देशकहरु जनकदीप पराजुली, पुनम क्षेत्री, श्रीदेव भट्टराई आदिको उल्लेखनीय सहभागिता रह्यो ।
इलाम नगरपालिका परिसरमा प्रदेश सरकारको सहयोगमा निर्माणाधीन दुई चलचित्र घरको प्रवद्र्धनमा समेत यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ । समापन समारोहमा बोल्दै मेयर थापाले भने, “इलामको सांस्कृतिक र प्राकृतिक सुन्दरतालाई चलचित्रमार्फत देशविदेशमा चिनाउन यस्ता महोत्सव प्रभावकारी हुन्छन्। यहाँ छायांकन गर्न चाहने फिल्मकर्मीलाई नगरपालिकाले पूर्ण सहजीकरण गर्छ।” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले भने, “सिनेमाले सिर्जना मात्रै होइन, शिक्षा र पर्यटनलाई पनि समेट्न सक्छ भन्ने उदाहरण इलामको महोत्सवले प्रस्तुत ग¥यो। यो महोत्सव कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचार–प्रसारमा पनि सहयोगी हुने विश्वास लिएका छौं ।”
पर्यटन प्रवद्र्धनमा सेलीब्रेटीहरूले “चलचित्र छायांकनको लागि ईलाम” लेखिएको टिसर्ट लगाएर ईलामको भ्रमण गरे, जसले छायांकनको लागि इलाम उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह ग¥यो। चलचित्र विकास बोर्डको नेतृत्वमा सम्पन्न यो महोत्सवले बालबालिकाहरुको सृजनात्मक क्षमता विकास, स्थानीय स्तरमा सिनेमा चेतना अभिवृद्धि, र इलामको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।




