April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

गोलोन्जोर दुर्घटना: खोजी कार्य तिब्र बनाउन सांसद श्रेष्ठको निर्देशन

3.8K

बागमती प्रदेशका सांसद गंगानारायण श्रेष्ठले सिन्धुलीको गोलोन्जोर गाउँपालिका वडा नं. १ कुडुले नजिक पाख्रिन घुम्तीमा भएको गाडी दुर्घटनास्थलको अनुगमन गरेका छन्।

शनिबार साँझ खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेका व्यक्तिहरु सवार प्रदेश ३–०१०२३ च ६३६६ नम्बरको सुजुकी हाईलक्स गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका– १ कुडुले नजिक पाख्रिन घुम्तीबाट सुनकोसी नदिमा खसेको थियो।

गाडीमा सवार चारजनामध्ये एक जना बाँच्न सफल भए भने तीनजना वेपत्ता भएका छन्। गाडी भने शनिबार राति २ बजे नै फेला पारी किनारामा राखिएको छ। दुर्घटनास्थलको बागमती प्रदेश सभा सदस्य श्रेष्ठले आइतबार दिउँसो अनुगमन गरेका हुन्।

Advertisement

घटनास्थलको अनुगमन गर्दै उनले उद्धार कार्यमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका छन्। बागमती प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका सांसद श्रेष्ठले खोजी कार्यमा चाहिने थप आवस्यक उपकरणहरू उपलब्ध गराउन सशस्त्र प्रहरी बल नेपालका डिआईजिपी गणेशबहादुर ठाडा मगरलाई निर्देशन दिएका हुन्।

सांसद श्रेष्ठले दुर्घटनामा परेका व्यक्तिका आफन्तहरूलाई भेटेर सान्त्वना व्यक्त गरेका छन्। दुर्घटनामा परेका व्यक्तिका आफन्तहरूलाई आवस्यक सहयोग गर्न प्रशासन, स्थानीय पालिका र स्थानीय समुदायलाई अनुरोध गरेको उनले जानकारी दिए।

वेपत्ता ३ जनाको खोजि गर्न सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली सुनकोसी नदीमा र्‍याफ्टिङ र अन्य उपकरणसहित सक्रिय रहेको छ।