काठमाडौं। वेस्ट इन्डिज टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । बिहीबार बिहान सम्पन्न समूह सी अन्तर्गतको खेलमा न्यूजील्याण्डलाई १३ रनले पराजित गर्दै वेस्ट इन्डिज विश्वकपको सुपर आठमा पुगेको हो ।
वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन मात्र बनाएको थियो ।
न्यूजील्याण्डका लागि ग्लेन फिलिपले सर्वाधिक ४० रन बनाए भने फिन एलेनले २६ तथा मिचेल सान्टनरले अविजित २१ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका बलर अल्जारी जोसेपले ४ र गुडाकेश मोतिले ३ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
यो जितपछि वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंकसहित समूह सी बाट सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
न्यूजील्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ र सुपर आठको यात्रा संकटमा परेको छ ।