March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

आइसिसी टी–२० विश्वकप: नेपाल बंगलादेशसँग पराजित

1.1K

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । नवौँ संस्करणको खेलमा नेपाल २१ रनले पराजित भएको हो ।

बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८८ रनमै अलआउट भयो ।

नेपालका लागि कुशल मल्लले ४० बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २७ रन बनाए । उनले दीपेन्द्र सिंह ऐरीसँग ५८ बलमा ५२ रनको साझेदारी गरे भने ऐरीले २५ रन बनाए ।

Advertisement

यस्तै, आसिफ शेखले १७ रन बनाउदा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर–८ दौडबाट बाहिरिसकेको छ ।

बंगलादेशका लागि तन्जिम हसन साकिबले चार, मुस्तफिजुर रहमानले तीन, शाकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।

त्यसअघि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १ सय ६ रनमा अलआउट भयो । उसका लागि शाकिवअल हसनले १७, महुमुदुल्लाह र राशिद हुसेनले १३÷१३, जकिर अलीले १२ र लिटन दासले १० रन जोडे ।

नेपाल समूह चरणका चार खेलमा जितविहीन नै रह्यो । तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको हार बेहोर्दा श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।