April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

स्थानीय तहले कोरियामा मौसमी कामदार पठाउन नपाउने

1.6K

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहले कोरियामा मौसमी कामदार पठाउन नपाउने बताएको छ । मन्त्रालयले विज्ञप्तिमार्फत मौसमी कामदार पठाउन स्थानीय तहहरूले कोरियाका एक कम्पनीसँग धमाधम सम्झौता गरेको पाइएको भन्दै यो कार्य कानून र अधिकारबाहिर भएको बताएको हो ।

मन्त्रालयले स्थानीय तहहरूले समझदारी गरेर मौसमी कामदारका रूपमा श्रमिकलाई कोरिया पठाउन नपाउने पनि स्पष्ट पारेको छ।

मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले ‘अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पन्जामा स्थानीय तह, कोरिया पठाउने भन्दै धमाधम अवैध सम्झौता गर्दै पालिका प्रमुखहरू’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनकाअनुसार कोरियामा मौसमी कामदार पठाउने भन्दै सम्झौता गरेर पैसासमेत असुल गरेको पाइएको छ । स्थानीय तहसँग कामदार पठाउने सम्झौता गर्ने अधिकार कानूनमा नभएको उनको भनाई छ ।

Advertisement

प्रवक्ता पोखरेलले मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ ले समेत कोरिया कामदार पठाउन इपिएसमार्फत मात्र रहेको भन्दै स्थानीय तहले कामदार पठाउन निर्देशिका या कुनै पनि कानुनले नदिने बताए ।

श्रम मन्त्रालयले यसअघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत मौसमी कामदार पठाउने सम्बन्धमा २०७९ साल जेठ २० मै पत्राचार गर्दै रोक लगाएको भन्दै कामदार पठाउने सम्झौता नगर्न र गरेको भए यसले वैधता नपाउने बताए हो ।