April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

अब कोरिया जान मागको तीन गुणा मात्रै आवेदन लिने

1K

काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तीन गुणा सङ्ख्यामा मात्रै आवेदन लिने भएको छ ।

इपिएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या अत्यधिक भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कार्यालय, मानव संसाधन विभाग (एचआरडी) कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि सो कुरामा सहमति गरेको हो।

एचआरडीको आग्रह अनुसार सन् २०२५ देखि माग सङ्ख्याको तीन गुणा मात्रै आवेदन सङ्कलन गरिने र माग सङ्ख्याको तीन गुणा बढी आवेदन परेसँगै ‘अटोमेटिक’ रूपमा आवेदन बन्द हुने गरी प्रणाली विकास गरिने पनि बताइएको छ ।

Advertisement

सन् २०२५ देखि कोरियाले लैजाने सबै क्षेत्र (सेक्टर) का लागि एकैपटक आवेदन आह्वान गरिने छ । हाल कोरियामा विभिन्न चार क्षेत्रमा काम गर्न नेपाली श्रमिक जाने गरेका छन् । त्यसका लागि फरक फरक समयमा आवेदन आह्वान गर्ने गरिएको छ ।

जसले गर्दा कोरियन भाषा पढेर कोरिया जान तयार रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिने गरेका छन् । इपिएस शाखाले सन् २०२५ देखि भने वर्षको एक पटक सबै क्षेत्रका लागि आवेदन आह्वान गर्ने र एउटा व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था गर्ने बित्तिकै आवेदकको सङ्ख्या घट्ने जनाएको छ ।

इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् । जसमा पहिलो चरणको परीक्षा सम्पन्न भएको छ । दोस्रो चरणको परीक्षा यही वैशाख ३१ गतेदेखि सञ्चालन गरिने सो शाखाले जनाएको छ ।