June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

कोरियाः पराजित पोमु बिनाको नेपाली साहित्य

दिलिप बान्तावा
२०८२ जेष्ठ १

455

अप्रील ३० देखि मे ९ सम्म २६ औँ छन्जु अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल चल्यो । यो फेस्टिवल दक्षिण कोरियाको प्रमुख फिल्म फेस्टिवलहरु मध्येमा पर्दछ । फेस्टिवलको क्लोजिङ फिल्मस्का रुपमा ‘इन द ल्याण्ड अफ मसिन’ शीर्षकको ९२ मिनेट लामो डकुमेन्ट्री राखिएको थियो । अनि यो थियो ‘यो मेशिनको शहर हो’ शीर्षकको कोरियन भाषामा अनुदित कोरियामा कार्यरत नेपाली श्रमिक कविहरुको कविता सँग्रहसँग सम्बन्धित डकुमेन्ट्री ।

युरेसिया कल्चरल फोरम दक्षिण कोरियाले प्रकाशन गरेको उक्त कवितासँग्रहमा ३५ जना नेपाली कविहरुको ७० वटा कविता सँग्रहित छन् । कोरियामा श्रमिकका रुपमा आएका नेपालीहरुको मनोभावहरू समेटिएको कवितासँग्रहले कोरियामा राम्रो चर्चा मात्रै कमाएन विभिन्न सम्मानसहित पुरस्कारसमेत प्राप्त गर्‍यो । सङ्ग्रहले रुसी बोल्सेभिक क्रान्तिको स्मृतिमा दक्षिण कोरियामा प्रदान गरीने सन् २०२० का लागि रेड अवार्ड तथा कोरियाका लोकप्रिय कवि स्वर्गीय वाकदुजिनको स्मृतिमा प्रदान गरिने दक्षिण कोरियाको प्रतिष्ठित पुरस्कार ‘एशिया भिजन’ सम्मानसहित २५ लाख वन राशिको पुरस्कारसमेत प्राप्त गरेको थियो ।

दक्षिण कोरियामा राम्रै चर्चा पाएको कवितासँग्रह दक्षिण कोरियामा करिब ४ दशक अघिदेखि चलचित्र लेखन, निर्माण तथा निर्देशन गरीरहेकी किम ओक्यङको नजरमा पर्‍यो । दक्षिण कोरियामा श्रम गर्न आउने प्रवासी श्रमिकहरुलाई केवल मजदुरका रुपमा मात्रै बुझिरहेको उनलाई नेपाली श्रमिकहरुबाट लेखिएका ती कविताहरुले चकित बनाए । त्यसपछि उनलाई ती कविताको पृष्ठभूमि, कविहरुको अवस्था र नेपालमा तिनको अनुभव जस्ता बिषयहरुमा चासो बढ्यो र उनले एउटा टिम बनाएर सङ्ग्रहका कवितामध्ये विभिन्न आधारमा छनौट गर्दै ८ जना श्रमिक कविहरुको दैनिकीलाई पर्दामा उतार्ने निधो गरिन्। त्यसपछि उनले बनाएको टोलीले छानेका कविताहरुको सर्जकहरुलाई सम्पर्क गर्ने र आवस्यक प्रक्रिया पूरा गर्ने काम गर्‍यो । छानिएका ८ जना कविहरुलाई करिव २ बर्षभन्दा बढी समय लगाएर उनीहरुको कार्यस्थल, विदाको समय, घुमफिर लगायतका सम्पूर्ण दैनिकीलाई फरक मौसम र ऋतुहरुमा निरन्तर पच्छ्याएर खिचिएको डकुमेन्ट्री नै “In The Land Of Machines” हो ।

Advertisement

सो कवितासङ्ग्रहका लागि सुरुवातमा ती ३५ कविहरुको छनौट, तिनका कविताहरू संकलन तथा सम्पादन गरी कोरियन भाषामा अनुवाद गर्ने अनुवादकको हातसम्म पुर्‍याउने अदृष्य कर्म भने कवि पराजित पोमुले गर्नुभएको थियो । त्यो भन्दा अघि नै निक्कै लामो समयदेखि युरेशिया कल्चरल फोरमले नेपाली कविहरुसँग मिलेर कवितासङ्ग्रह प्रकाशन गर्ने जमर्को गरीरहे पनि त्यो सम्भव भईरहेको थिएन । फोरमबाट कवि पोमुलाई सम्पर्क गरीएपछि भने उहाँको सम्पर्क, सम्बन्ध तथा सक्रियतामा कविताहरू संकलन भए, सम्पादन गरीए र प्रकाशनका लागि तयार भयो ।

डकुमेन्ट्री बनाउने समुहबाट पनि कवितासङ्ग्रहमा सम्पादक रहनुभएको पोमु कै खोजी भयो र उहाँले आवश्यक समन्वय र सहभागिता जनाउनुभयो । कतिपय सन्दर्भमा उहाँको प्रत्यक्ष संलग्नतासमेत रह्यो । कोरोना महामारीको समयमा विभिन्न असहजताहरुका विच खिचिएको डकुमेन्ट्री लामो समयको पर्खाईपछि फेस्टिवलमा स्क्रीनिङ भयो । तर त्यो उत्सवमा निम्तो गरीए पनि डकुमेन्ट्रीमा समावेश सबै कविहरू उपस्थित हुन सकेनन् कवि जीवन खत्री बाहेक, न त शुरुबाटै जोडिने पराजित पोमु नै । किनभने पोमु त केही बर्ष अघि नै नेपाल फर्किसक्नुभएको थियो भने बाँकी कविहरुको आ–आफ्नो कम्पनीको अवस्थाले गर्दा उपस्थित हुन सकेनन् ।

यसर्थमा यदि पराजित पोमुको त्यो सक्रियता तथा नेपाली साहित्यप्रतिको त्यो खाले लगन नभएको भए न त “यो मेसिनको शहर” तयार हुन सक्थ्यो न त त्यसपछिका अन्य उपलब्धी, जसले दक्षिण कोरियालिहरुमाझ अलिकति भए पनि नेपाली भाषा र साहित्यको प्रचार हुने तथा नेपालीहरुको सकारात्मक परिचयलाई थप बलियो बनाउन सहयोग गरेको छ ।

सबैसँग हुने समय दैनिक २४ घण्टा नै हो । यहाँका सबै मजदुरले दैनिक १०–१२ घण्टा शारिरिक श्रम गर्नै परिहाल्छ । तर कम्पनी साहुलाई बेचिएको समयबाट अलिकति उबारेर भए पनि केही सृजनसिल काम गर्ने थोरै नेपाली मात्र भेटिन्छ । त्यसरी सृजनामा रमाउने नेपालीहरुको एउटा ठुलै तप्काले पराजित पोमुलाई आफ्नो मेन्टर ठान्यो । उहाँले पनि निरन्तर घच्घच्याईरहनुभयो । “निरन्तर लेखिरहनुपर्छ है…” उहाँले सधै दोहो¥याईरहने वाक्य हो । व्यक्तिगत रुपमा भन्नुपर्दा उहाँले निरन्तर कोट्याईरहनुभएकै कारण मैले कथासँग्रह प्रकाशन गर्ने हिम्मत पनि गरेको थिएँ । उहाँबाट मैले जस्तै आड, भरोसा र हिम्मत पाउने लेखनमा रुचि हुने थुप्रै साथिहरू हुनुहुन्छ ।

नेपाली साहित्यमा निक्कै पछिसम्म नै आदिवासी जनजाति समुदायको साँस्कृतिक सौन्दर्य, कला, भाषा तथा ज्ञानका बिषयहरु फरक धारका रुपमा अथ्र्याईए अर्थात तिनलाई मुलधार भनिने साहित्यले आँखा तरिरह्यो । यसको प्रतिरोधमा निरन्तर लेखोटहरु आईरहेका थिए, आवाजहरु उठिरहेका थिए । यिनै पृष्ठभूमिमा दक्षिण कोरियामा इतर आवाज साहित्य समाज नामको संस्था स्थापना भयो र पराजित पोमुले त्यसैको नेतृत्वमा गर्दै खास गरी आदिवासी जनजाति समुदायका लेखकहरुलाई सृजना कर्ममा प्रेरित गरीरहनुभयो । उक्त संस्था स्थापनाको अवधारणा अनुसार विचार निर्माण गरी सृजित सृजनाहरु विभिन्न मञ्चहरुमा मन्थनको शीर्षक बनेका छन् । संस्थाको नेतृत्वकर्ताको हैसियतमा पोमु कै नेतृत्वमा सम्भवतः नेपाली कविताको इतिहासमा सबैभन्दा धेरै भाषा समेटिएको र संख्यात्मक हिसाबले पनि धेरै कविहरू अटाईएको कवितासङ्ग्रह “इतर कविता” संकलन तथा सम्पादन गरी प्रकाशन भयो । सो कवितासँग्रहलाई नेपालका कवि, लेखक तथा बिद्धतवर्गहरुले समेत विभिन्न सन्दर्भहरुमा सन्दर्भ सामग्रीका रुपमा प्रयोग गर्ने गरेका छन् भने त्यसका बारे शोधकर्ताहरुबाट थुप्रै शोधकार्यहरु समेत भएका छन् ।

मेसिनसँगै नारिएर काम गरी लखतरान ज्यान लिएर बासस्थान फर्किएको एउटा मजदुरले यदि सामान्य आराम मात्रै गरी बसेको भए यति महत्वपूर्ण कृति नेपाली साहित्यले पाउने थिएन । यसलाई पराजित पोमुको पागलपन पनि भन्न सक्नुहुन्छ यदि “इतर कविता” छुनुभएको छ भने ।

संसारभर कोरोना महामारी शुरु भयो । यही विचमा एउटा संस्था निर्माण भयो, “नेपाल आदिवासी जनजाती साहित्यकार/लेखक महासंघ”। शुरुवातमा यसको शाखा नेपालको सातै प्रदेश तथा बिदेशमा समेत बिस्तार गर्ने तयारी र आह्वान गरीयो । सोही अनुसार दक्षिण कोरियामा पनि यसको शाखा बन्यो जसको नेतृत्व पराजित पोमुले नै लिनुपर्‍यो । उहाँकै नेतृत्वमा बनेको महासंघले अनलाईनमार्फत बहुभाषिक कविता महोत्सवको आयोजना गर्‍यो । करिब डेढ दर्जन नेपाली राष्ट्रिय भाषाका ५० जना कविहरुले कविता वाचन गरेको सो महोत्सवमा वाचित सम्पूर्ण कविताहरु पुनः सम्पादन गरी पोमुकै नेतृत्वमा “भुइँ मान्छेका आवाज” शिर्षकमा सङ्ग्रह प्रकाशन गरियो । सो सङ्ग्रहले पनि नेपाली साहित्यलाई बहुभाषिक, बहुसाँस्कृतिक आयाम दिन एउटा इँटाको काम गरेको छ ।

दक्षिण कोरियामा नेपाली साहित्य कर्मसँग सम्बन्धित संघसंस्थाहरू नभएका होईनन् त्यसो त । तर तिनले बेलाबेलामा सामान्य जमघट, भेटघाट, कविता वा मुक्तक वाचन जस्ता कार्यक्रम गर्नुबाहेक खास देखिने काम गरेको पाईन्न । नेपाली साहित्यको फैलावट र आयामका बारे छलफल गर्ने, विमर्श गर्ने जस्ता कामहरु भएको देखिन्न । तर पराजित पोमु र उहाँ आवद्ध संस्थाहरुले देखिने कामहरु गर्नुभयो, कोरियामा नेपाली साहित्यका लागि एउटा बेञ्च मार्क बनाईदिनुभयो । इतर आवाज साहित्य समाज दक्षिण कोरियाले नेपालका प्रसिद्ध लेखक तथा कविहरु प्रगती राई, बिना थिङ्, राजन मुकारुङ, उपेन्द्र सुब्बा, स्वप्निल स्मृति जस्ता सिद्धहस्त ब्यक्तित्वहरुलाई दक्षिण कोरियामा ल्याई साहित्यिक कार्यक्रमहरु सम्पन्न गरेको छ । साहित्यिक कार्यक्रमहरु मुलतः नाफारहित हुन्छन्, बरु आयोजकहरु आफ्नै खल्तिबाट पैसा निकालेर यस्ता गतिबिधिहरु ग्रिरहेका हुन्छन् । अर्थात कोरियामा साहित्यिक कार्यक्रम गर्नु कुनै नाफा वा फाईदाका लागि नभएर बिशुद्ध सृजना र सृजना गर्नेहरुका प्रतिको सम्मान हो ।

तर, यतिखेर पराजित पोमु नेपाल बस्नुहुन्छ । सन् २०२३ को फेब्रुअरी तेस्रो साता कोरियाको दशक लामो श्रमिक जिन्दगिलाई छोडेर नेपाल फर्किनुभयो । त्यसपछि उहाँको अनुपस्थिति देखिने गरी नै महसुस भईरहन्छ । समयसमयमा उहाँको नेतृत्वमा साहित्यिक जमघटहरु हुने गर्दथे फरक आयाममा । ती कार्यक्रमहरु अर्थपूर्ण रहन्थे, दीर्घकालसम्मका लागि सम्झिरहने कार्यक्रमहरु बन्दथे । खास गरेर नेपाली साहित्यिक लेखनलाई दक्षिण कोरियाका नेपालीहरु माझ स्थापित गर्न, लेख्न चाहनेहरुलाई प्रेरित गर्न सायद पराजित पोमुले जति लागिपर्ने त्यो पुस्ताका लेखकहरु कमै होलान् यतिखेर। त्यही भएर पनि उहाँको अभाव महसुस हुने गर्दछ ।