काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ऐन संशोधन गर्ने विधि मिचेको बताएका छन् ।
पछिल्लो समय सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका नाममा ऐन संशोधन गर्ने विधिलाई सरकारले मिचेको उनको आरोप छ ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा बोल्दै महामन्त्री थापाले भने, ‘सरकारले विगतको ऐन संशोधन गर्ने विधि र परम्परालाई मिच्दै केही नेपाल ऐन संशोधनको नाममा १५० भन्दा बढी कानूनलाई एकै ठाउँमा राखेर संशोधन गरेको छ । यो प्रवृत्तिले विकृति ल्याउँछ । यो कानून संशोधन गर्ने बाटो होइन ।’
महामन्त्री थापाले आवश्यक संशोधनका लागि मन्त्रालयगत छुट्टाछुट्टै ऐनका रुपमा ल्याउन आवश्यक रहेको बताए ।
सरकारले गरेको कानून संशोधनको गलत बाटोमा यसपटक संसद् र सांसदहरु समेत मिसिएको महामन्त्री थापाले बताए । उनले भने, ‘सरकारले केही नेपाल ऐन संशोधनको नाममा विकृति अघि सार्यो । त्यसलाई संसद् र सांसदहरुले सदर गरिदिएको अवस्था छ ।’