नयाँ दिल्ली (भारत)- भारतले शनिबारदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध खोप अभियानको उद्घाटन गरेका हुन्।
एक सरसफाई कर्मचारी कोभिडविरुद्धको भ्याक्सिन पाउने पहिलो भारतीय नागरिक बनेका छन्।
प्रधानमन्त्री मोदीले शनिबार बिहान देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘हामी विश्वको सबैभन्दा ठूलो खोप अभियानको सुरुवात गर्दैछौं र यसले विश्वलाई हाम्रो क्षमता देखाउँछ।’
प्रधानमन्त्री मोदीले डाक्टर, नर्स र अन्य अंग्रपक्तिमा खटिने कर्मचारीले ‘अध्यारोमा समयमा उज्यालो’ देखाएको भन्दै प्रशंसा समेत गरेका थिए।
खोपको सुरक्षा बारेमा हुने कुनै पनि प्रचार र हल्लामा विश्वास नगर्न उनले सबैलाई आग्रह गरेका छन्। ‘यी खोपको स्वीकृति वैज्ञानिक र विशेषज्ञहरुले सुरक्षाका बारेमा सन्तुष्ट भएपछि मात्र दिइएको छ। म सबैलाई भन्न चाहन्छु कुनै पनि हल्लामाव विश्वास नगर्न आग्रह गर्छु,’ मोदीले भने।
कोभिडविरुद्धको उक्त भ्याक्सिन १ अर्ब ३० करोडभन्दा बढी मानिसलाई लगाउने तयारी भारत सरकारले गरेको छ। संयुक्त राज्य अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा छन्।
भारतले स्वीकृत गरेका दुई भ्याक्सिन कोभिसिल्ड र कोभाक्सिनको लाखौं डोजहरु खोप अभियान सुरु गर्न विभिन्न क्षेत्रमा पठाइएको थियो।