April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

धनकुटाले शुरु गर्‍यो किवीको वाइन उत्पादन, चखाउन पठायो काठमाडौं

8.7K

सुनसरी । फलफूलको राजा मानिने किवीको वाइन पहिलो पटक काठमाडौंको बजारमा आएको छ । किवीको बजार विस्तारका लागि धनकुटाको राजारानीमा उत्पादित ‘वाइन फ्याक्ट्री’ले आफ्नो पहिलो उत्पादन काठमाडौंमा विक्री सुरु गरेको हो । पोसिलो फलको रूपमा रहेको किवीको व्यावसायिक खेती पूर्वी नेपालमा सुरु भएसँगै वाइन उत्पादन सुरु गरि बजारमा ल्याएको हो । पूर्वी पहाडी जिल्लामा उत्पादन भएको फलको वाइन पहिलो पटक काठमाडौंलाई चखाउन विक्री सुरु गरेको माउण्ट एभरेष्ट वाइनरीका प्रवन्ध निर्देशक विष्णु वास्तोलाले बताए । प्रिन्सेस नामक वाइन बजार ल्याएका छौ बास्तोलाले भने।

नेपालकै धनकुटामा उत्पादित किवीको वाइन।

अनुकूल हावापानीका कारण नेपालको पहाडी क्षेत्रमा किवीको व्यावसायिक खेती गर्न सकिने भन्दै किसानहरुलाई लक्षित गरेर करिब २० करोडको लागतमा वाइन फ्याक्ट्री मार्फत उत्पादन शुरु गरिएको छ । ‘उत्पादन शुरु भएसँगै वाइनलाई काठमाडौंका पारखीहरुलाई चखाउन पठाएका छौं । लगतै केहि दिन भित्रै पूर्वी नेपालको सहरहरुमा विक्री सुरु गर्छौ,’ प्रवन्ध निर्देशक बास्तोलाले बताए । ‘प्रिन्सेस वाइनले वाइन पारखी उपभोक्ताको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने । उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ । उद्योगमा करिब २ सय जनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको बास्तालाले जानकारी दिए । ‘उद्योग आफैले पनि किवी खेतीमा लगानी गरेको छ,’ उनले भने । वाइनरी क्षेत्रमा संगालेको लामो अनुभव र देशविदेशका तालिमबाट प्राप्त गरेको विज्ञताका कारणले आफूहरुले उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल हुने बास्तोला बताउँछन । 

साढे दुई दशकको इतिहास रहेको स्वदेशी वाइन उद्योगको बजार विस्तार हुँदै जाँदा उद्योगहरूको संख्या करीब दुई दर्जन पुगेको छ । उच्च वर्गमा सीमित वाइन पछिल्लो एक दशकदेखि नेपाली बजार सुहाउँदो उत्पादन, मूल्यका कारण मध्यम र निम्नमध्यम वर्गमा प्रिय बनिरहेको छ । आफ्नै देशको किसानको उत्पादन खेर जान नदिन हामीले पहिलो पटक किवीको वाइन बजारमा ल्याएका हौ कम्पनीका अध्यक्ष हरेराम साह भन्छन् । हामी बजारलाई नयाँ स्वाद चखाउन चाहन्छौ।

Advertisement

नेपालीहरुको महान पर्वमा हामी हाम्रै देशको फलबाट उत्पादन भएको वाइन चाख्न सबैलाई अनुरोध गछौ अध्यक्ष साहले भने । स्वदेशी उत्पादन विदेशी भन्दा कम नभएको दाबी गर्दे अध्यक्ष साहले आफ्नै गाउँ पाखामा उत्पादन भएको वाइन चाखेर रमाइलो गर्न आग्रह गरे । 

नेपालको हावापानीमा किवी चैत वैशाखमा फूल फुल्छ र कात्तिक, मंसिरमा फल टिप्न तयार हुन्छ। यसको बाहिरी झुस न्युजील्यान्डको राष्ट्रिय चरा किवीको भुवा जस्तो देखिने भएकाले किवी नाम दिइएको हो । संसारमा पाइने २७ फलमध्ये सबै भन्दा पोसिलो फलको रूपमा किवीलाई लिने गरिएको छ ।

पोसिलो फल अनारमा ५ प्रतिशत खाद्यतत्व हुन्छ भने किवीमा १६ प्रतिशत । काँचो खाँदा अमिलो हुने किवीमा भिटामिन तथा खनिज पदार्थ प्रशस्त पाइन्छ। किवीमा औषधिजन्य गुण पनि पाइन्छ। पेट सम्बन्धी रोग, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोल, मधुमेहजस्ता रोगका लागि उपयोगी मानिन्छ। किवी फलबाट जुस, जाम, वाइन लगायत विभिन्न परिकार बनाउन सकिन्छ।