काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आलोपालो सरकारको विषयमा पछि थाहा हुने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालपछि माधव नेपाल एक वर्ष र त्यसपछि दुई वर्ष देउवा प्रधानमन्त्री हुनेबारे गठबन्धनमा भएको सहमतिको हल्लाबारे सोधिएको प्रश्नमा उनले पछि थाहा हुने जवाफ दिएका हुन् ।
यस्तै, देउवाले गणतन्त्रबाट मुलुकलाई कसैले पछाडि फर्काउन नसक्ने पनि दाबी गरे । सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
सभापति देउवाले गणतन्त्रको विकल्प नभएको बताउँदै गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे । यस्तै, उनले गणतन्त्रविरोधी गतिविधिबाट आफूहरू नअत्तालिएको पनि स्पष्ट पारे ।