काठमाडौं । आइसिसी टी-२० विश्वकपअन्तर्गत एसिया छनोटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।
समूह ‘ए’ मा लगातार दुई जित निकाल्दै नेपालले समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले मलेसियाले दिएको १६६ रनको लक्ष्य १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
नेपाल सेमिफाइनल गरेसँगै समूहको अर्को टिम ओमानले पनि अन्तिम चारमा स्थान पक्का गर्यो। नेपाल र ओमान दुवैले मलेसिया र सिंगापुरलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। मलेसिया र सिंगापुर भने अन्तिम खेलअघि नै बाहिरिए।
अब नेपाल र ओमानबीच बिहीबार हुने खेलबाट समूह विजेताको टुंगो लाग्नेछ।