April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

एनआरएनए निर्वाचन विवाद: समापन कार्यक्रम स्थगित

5.7K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समापन कार्यक्रम स्थगित भएको छ । मत परिणाममा प्राविधिक त्रुटि भएको भन्दै अर्को नतिजा नआएसम्मका लागि कार्यक्रम स्थगन भएको एनआरएनएले जनाएको हो ।

काठमाडौंंस्थित होटेल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनको आज समापन समारोह थियो । तर, असन्तुष्ट मतपरिणाम अस्वीकार गरेसँगै आजलाई कार्यक्रम स्थगित भएको हो ।

यसअघि अध्यक्षका प्रत्यासी आरके शर्माले प्रेस नोट जारी गर्दै नतिजा अस्वीकार गरेका थिए भने अर्का अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले पनि अस्वीकार गरेका छन्।

Advertisement

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषदले अनलाइन भोटिङका लागि अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीलाई जिम्मा दिएको थियो । कम्पनीले इमेलबाट पठाएको विवरण प्राप्त हुनासाथ पाँच सदस्यीय निर्वाचन कमिटीले नतिजा सार्वजनिक गरेको थियो ।सार्वजनिक मतपरिणामअनुसार बद्री केसी १३७८ मत ल्याएर विजयी भएका छन् भने आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट प्राप्त मत भने शून्य देखिएपछि निर्वाचनको विश्वसनीयतामा प्रश्न उठेको थियो ।

अध्यक्षका उम्मेदवार लगायतले निर्वाचनमा धाँधली भएको भन्दै रद्द गर्न माग गरेका छन् । उपाध्यक्षमा विजयी घोषणा गरिएका खगेन्द्र न्यौपानेले समेत निर्वाचनमा धाँधली भएको भन्दै आफू विजयी भएको नतिजालाई नस्वीकार्ने बताएका छन् ।