काठमाडौं । इजरायलमा हमासले गरेको आक्रमणमा परी कृषि विज्ञानमा स्नातक गरेका नेपाली विद्यार्थीहरू एकै स्थानमा साङ्घातिक आक्रमणमा परेपछि इजरायलमा रहेका अरू क्षेत्रका नेपालीलाई पनि ‘त्रसित बनाएको’ त्यहाँस्थित नेपालीहरूले बताएका छन् । अहिलेसम्म मृतक र घाइते नेपालीहरू कसरी आक्रमणको चपेटामा परे भन्नेबारे नेपाली कूटनीतिक अधिकारीहरू र इजरायलस्थित गैरआवासीय नेपालीहरूले निर्क्योल गर्न नसकेको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार कुराकानी गरेका अधिकारीहरू र इजरायलस्थित नेपालीहरूले ती १० जना आक्रमणमा पर्दाको अवस्थाबारे फरकफरक विवरण दिएका छन् । यद्यपि एउटा कुरामा भने सबै पक्ष सहमत देखिन्छन्, “भर्खरै इजरायल गएकाले उनीहरूले त्यहाँको सुरक्षा व्यवस्था र आक्रमणका बेलामा बच्ने उपायबारे पर्याप्त जानकारी नपाएका हुन सक्छन् ।” तर, त्यसलाई पुष्टि गर्न पनि केही समय कुर्नुपर्ने र आक्रमणमा परेर घाइते भएका तथा उक्त समूहमै भएर पनि सुरक्षित रहेकहरूको विवरणमा भर पर्नुको विकल्प नरहेको अधिकारीहरूको भनाइ छ ।
नेपालीहरू कसरी मारिए भन्ने विषयमा यकिन गर्न अझै केही समय लाग्न सक्ने इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएको बीबीसीले उल्लेख गरेको छ ।
सोमवार बिहान बीबीसीसँगको कुराकानीमा उनले भनिन्, “अहिलेसम्म हामीले पाएको विवरण अनुसार उहाँहरूलाई रकेटबाट खसेका कुराले पनि लागेको र गोली पनि लागेको भन्ने छ। तर अस्तपालले रिपोर्ट नदिईकन सबै कुरा भन्न सकिन्न ।”
केही नेपाली सञ्चारमाध्यमले उक्त घटनाका पर्ने अरू नेपालीहरूसँग टेलिफोनबाट प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूलाई उद्धृत गर्दै ग्रिनेड आक्रमण र गोली प्रहारबाट पहिले घाइते भएका नेपालीहरूको मृत्यु भएको जनाएका छन् । त्यस्ता विवरणमा घाइतेमध्ये कतिपयको उच्च रक्तश्रावका कारण निधन हुन पुगेको पनि उल्लेख छ ।
यद्यपि नेपाली दूतावासका अधिकारीहरू आफूसँग विस्तृत जानकारी नभएको बताउँछन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारी मृतकहरूलाई गोली नै लागेको हुने सम्भावना देखिएको बताउँछन् । आक्रमण सुरु भएपछि मृतकहरूसँगै रहेका केही नेपालीसँग सम्पर्क भएको र सोही समूहका सुरक्षित रहेका दुई जनालाई सोमवार तेल अभिभ ल्याइएपछि उनीहरूसँग पनि कुरा गरेको उनले बताएको बीबीसीले जनाएको छ ।