कालिकोट । तिलागुफा नगरपालिका–१० मा अज्ञात रोग फैलिएको रुडु र रानावाडा गाउँमा चिकित्सकको टोली पुगेको छ ।
अज्ञात रोग फैलिएको रुडु र राना गाउँमा तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट चिकित्सकको टोली पुगेको हो ।
एक सातादेखि फैलिएको अज्ञात रोगबाट एक १३ वर्षीया कर्मा थापाको मृत्यु भएको छ भने एक सय ७८ जना बिरामी परेका छन् ।
गाउँका फैलिएको अज्ञात रोगका उपचारका लागि तिलागुफा नगर अस्पताल राँचुलीका प्रमुख डा टङ्कप्रसाद आचार्यसहितको टोली पुगेर उपचारको थालनी गरेको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिएका छन् । “अज्ञात रोग फैलिएको ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरिरहेको छ ।” डा. आचार्यले भने, “अहिले नगरपालिकाको चिकित्सकसहितको टोली अज्ञात रोग फैलिएको गाउँमा रहेका छन् ।”
ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण रहेको केही नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको त्यसपछि मात्र कुन रोग हो भन्ने यकीन हुने डा आचार्यले बताएका छन् ।