काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालको पोल्टामा परेको छ । मंगलबार भएको फाइनल खेलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो ।
टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । विशाल लक्ष्य पाएको मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भएको हो।
नेपालको जितका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडन राख्दै ७ रनमात्र खर्चेर ६ विकेट लिए भने सन्तोष यादवले ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चेर ३ तथा सागर गैरे र अशोक धामीले १ विकेट लिए ।
मलेसियाबाट मोहम्मद अक्रम (१०) ले बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।
यसअघि नरेन भट्टले सानदार शतक बनाएपछि नेपालले फाइनलमा मलेसियाविरुद्ध मजबुत स्कोर बनाएको थियो । नरेनले ८२ बलमै १ सय रन पूरा गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको थियो ।
नरेन १ सय १२ रन बनाई अविजित रहे । उनले ८९ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । नरेन र सन्तोष यादवले पाँचौं विकेटमा शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोर बनाउन सफल भयो । सन्तोष २६ रनमा आउट भएपछि १ सय ४ रनको यो साझेदारि टुटेको थियो । उनले २९ बल खेल्दै २ चौका प्रहार गरे ।
प्रतियोगितामा नेपालले समूहचरणमा मलेसियासहित थाइल्यान्डलाई र सेमिफाइनलमा सिंगापुरलाई पराजित गरेको थियो ।