November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आइसिसी विश्वकप छनोट: नेपालसँग अमेरिका ६ विकेटले पराजित

2.1K

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ। मंगलबार भएको खेलमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गरे। तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका भीमले नटआउट ७७ रन जोडे। उनले ११४ बलमा ७ चौका र १ छक्का हिर्काए। यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन जोडे। उनले ३२ बलमा ५ चौका र १ छक्का हिर्काए।

कप्तान रोहित पौडेल १६ रन र कुशल मल्ल १३ रनमा आउट भए। यस्तै आसिफ शेख १२ रनमा अमेरिकाका नेत्रभाल्करको एलबिडब्लूको धरापमा पर्दा कुशल भुर्तेल ३९ रनमा केन्जिगेबाट क्याच भए। 

Advertisement

यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। 

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। 

अब नेपालले २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्। सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने छन् ।