March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

बुबाको अनुभूतिः ओडारमा ऐठन परेको रात

टेक लावती ‘खाम्बोङसा लाजेसा याक्थुङ्बा’
२०८० जेष्ठ २३

5.4K

जयबहादुर लावती

सरङ्वा खोलाको शीरबाट सिदिङ्लाम्, घुमाउँने, फङ्द्रा र भोटुटार खेतमा सिंचाईको लागि ठूलो पानी–कुलो बग्थ्यो । परिश्रम गरे, ती खेतहरूमा वर्षे–हिउँदे धान फल्थ्यो । फङ्द्रा खेतको सिरानबाट त्यो पानी–कुलो भोटुटार खेतमा सिंचाईको लागि जान्थ्यो । राम्रोसँग खेती गरे ५–६ मुरी बर्षेधान फल्थ्यो फङ्द्रा खेतमा । विशेष गरी सुख्खा याममा हिउँदे धान रोप्न पानीको अभाव खड्किन्थ्यो । फङ्द्रा खेत जंगलको विच भागमा रहेकोले बाँदरहरूबाट जोगाउन पनि त्यतिकै चुनौती थियो ।

त्यो वर्ष वि.सं. २०२० तीरको हुनुपर्छ । मेरो तुम्बा साइलाको छोरा चन्द्रबहादुर लावतीको थैली परेकोले भाईले कुतमा कमाईखान मलाई जिम्मेवारी दिएको थियो । चैतको महिना थियो । धान रोपी सकिएको थियो । रोपेको धानलाई पर्याप्त मात्रामा पानी हाल्नुपर्ने भएकोले प्राय दैनिक रुपमा त्यो खेतमा जान्थे । पानीको सारै समस्या भएकोले वेलुकाको खाना खाईवरी रातको समयमा खेतमा पानी हाल्न गएँ । अन्दाजी रातको ९ बजेको थियो । कुलोबाट पानी मेरो खेतीतर्फ सोझ्याएँ । त्यस समय न त टर्च थियो, न कुनै उज्यालो नै । हिंउदको समय भएकोले न भ्यागुताहरूको ट्वार्र–ट्वार्र, न त किरा फट्याङ्ग्राको किर्र–किर् सुन्न पाइन्थ्यो । रातमा चरीखाने न त चराचुरुङ्गीको आवाज नै सुनिन्थ्यो । चकमन्न रातको समयमा ठ्याङ्वा र सरङ्वा खोला बगेको आवाज मात्र सुनिन्थ्यो । आकाशको अनगिन्ति ताराहरूको मधुरो प्रकाशले जमिनको सतह, डाँडा–काडाँ धमिलो अलि–अलि देखिन्थ्यो ।

Advertisement

कुलोबाट पानी खेतमा सोझ्याईसकेपछि खेतको दाईनेपटी सिरान भागमा रहेको एउटा ठूलो ओडारमा गएर बसें । भोटुटारबाट फाक्चुवाली कृषकहरू पानी मार्न आउँछन् कि भनेर निक्कैबेर सम्म पर्खेर बसें । रातको १०–११ बजेको हुँदो हो, एक्कासी कुलै–कुलो मान्छेहरू कुरा गर्दै आएको सुने । मेलै सम्झे, फाक्चुवाली कृषकहरू पानी मार्न आएछन् । उनीहरू त्यहाँबाट निक्कै टाढा पुगिसकेको हुनुपर्छ भन्ने अड्कल् काटी पानी सोझ्याउँन पुनः कुलोतर्फ गएँ । तर पानी मारेको देखिन । कुलोबाट पानी खेतमा पसिरहेकै देखें । त्यतिखेर मनमा चिसो पस्यो । अरे हौ ! पानी मार्न त कोही पनि आएनछन् । तीनै कुराहरू सोच्दै अब सुत्नुपर्यो भनेर पुनः ओडारतर्फ गएँ ।

ओडारमा पराल विछ्याएर आरेण्डी पःत्थाङ् (रेसमको खास्टो) ओडेर सुतेँ । गहिरो निन्द्रामा डुबिसकेको थिइनँ । एक्कासी एउटा खाँडीको दौरा–सुरुवाल लगाउँने बुढो मान्छे आएर बेजोड्ले थिच्यो । सासै जाला जस्तो भयो । पल्टिन खोज्छु, सकिन । कराउँन खोच्छु स्वर नै भासियो । त्यसो हुँदा खुट्टाको बुढी औंला चलाउँनु भनेको सुनेको थिएँ । त्यो कुरा मनमा आयो । बुढी औंला चलाएपछि विस्तारै झसङ्ग भए । हैट, यस्तो त जीन्दगीमा पहिलो पटक भोगेको थिएँ । दाबबाट खुकुरी झिकेर काट्छु, मार्छु भन्दै जोडले कराएँ । अब सुत्न नहुने रहेछ भनेर रातको समय छाम्–छाम्, छुम्–छुम् गर्दै फङ्द्रा खेत मुनि भिरको बाटो, र ठ्याङ्वा र सरङ्वाको संगमस्थल मान्छे पोल्ने ठाउँ मसान–घाट हुँदै राता–रात घर आईपुगें ।

पछि कुरा बुझ्दा त्यस ओडारमा एकजना हुक्का तान्ने बृद्घ मान्छे बस्ने गथ्र्यो । त्यो बृद्घ मान्छे विरामी भएर त्यही ओडारमा मरेको रहेछ । उसको सास गएको पनि कसैले देखेनन्, भनेर सुने । धेरैले तर्साउने भूत–प्रेतको कुरा गर्थे । जीवनमा धेरै पटक, धेरै ठाउँहरूमा रात–साँझ अबेरसम्म हिंडेको थिए । कुनै–कतै ठाउँमा पनि कहिल्यै तर्साउनेसँग भेट भएन । तर त्यस ओडारको घटनाले मलाई धेरैपटक सोच्न बाध्य बनायो ।

(लेखकले आफ्नो बुबा जयबहादुर लावतीको अनुभूतिलाई उतारेर लेख्नुभएको हो ।)