March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

यशकुमार: ढुगामाथि फक्रिएको फूल

सीता तुम्खेवा
२०८१ माघ २९

1.3K

– स्वर्ग जाँदा पनि यस्तै गीत सुन्दै जाने मन छ ।

– यश सरको गीत सुन्दै–सुन्दै जिन्दगीको आधा बाटो काटिसकियो । अब जति बाँकी छ, तपाईंकै नयाँ–नयाँ गीतहरू सुन्दै बिताउन पाऊँ है !

यी पंक्तिहरू गायक यशकुमारको चारमहिना अघि सार्वजनिक गरिएको गीत ‘आँखा बन्द गरेर’को म्युजिक भिडियोमा आएका दर्शक तथा स्रोताहरूको प्रतिनिधि प्रतिक्रियाहरू थिए । प्रखर अभिनेत्री अनु थापासँग यशकुमारको यो तेस्रोपटकको सहकार्य थियो । प्रेम, समाज र सामाजिक यथार्थ समेटिएको उक्त भिडियोलाई यस लेख तयार पार्दासम्म १८ लाख ९३ हजारपटक बढी हेरिसकिएको छ भने ४ हजार ४ सय तीस प्रतिक्रिया र ७७ हजारजनाले लाइक गरेका छन् ।

Advertisement

– यशकुमार नामैमा मनभित्रको संगीतको धुन पाईन्छ । हरेक पात्रलाई सुहाउदो गीत बनाउनुहुन्छ ।

– सामाजिक विषयलाई मजबुद बिषय बनाएर समाजमा प्रस्तुत गर्न अब्बल कलकाार यशजी, नमन ।

यी पंक्तिहरू सोमबार मात्रै सार्वजनिक गरिएको नयाँ म्युजिक भिडियो ‘मैले तिम्रो मायामा’ भित्र दर्शक तथा स्रोताले दिएका प्रतिक्रिया हुन् । यस भिडियोले पनि दर्शकको माया पाउने छनक दिइसकेको छ ।

जमलस्थित विश्वज्वति हलमा एक कार्यक्रमको आयोजना गरी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा साहित्यकार राजन मुकारुङको प्रमुख आतिथ्यतामा उक्त भिडियोको प्रिमियर शो गरिएको थियो । प्रेमसप्ताहको अवसर पारेर दर्शकमाझ ल्याइएको यस भिडियोमा संघर्षरत संगीतकार र दृष्टिवीहिन गायिकावीचको संयोग, प्रेम, प्रेम र संघर्षमा आउने चतारचढाव पाइन्छ । ‘मैले तिम्रो मायामा’मा यशकुमारले दार्जिलिङकी गायिका स्मिता प्रधानसँग सहकार्य गरेका छन् । भिडियोमा थिएटर आर्टिस्ट रमिला मोक्तानलाई पनि समेटेका छन् ।

‘मैले तिम्रो मायामा’ भिडियो प्रिमियरका क्रममा  बायाँबाट क्रमशः स्मिता प्रधान, यशकुमार र रमिला मोक्तान ।
मैले तिम्रो मायामा’ भिडियो प्रिमियरका क्रममा बायाँबाट क्रमशः स्मिता प्रधान, यशकुमार र रमिला मोक्तान ।

उक्त भिडियो हेरिसकेपछि प्राज्ञ मुकारुङले यशुकुमारको सृजनामा चेतना, संवेदना, मानिसको मानवीय न्यायका विम्बहरू पाइने बताए । ‘यदि नेपाली संगीतको इतिहासमा यशकुमारलाई छुट्याइदिने हो भने नेपाली संगीतले ठूलो खाडल प्राप्त गर्छ’, मुकारुङले भने ।

हुन पनि यशकुमार झण्डै ३ दशकदेखि अनवरत यही क्षेत्रमा छन् । कतिपय सँगैका सहकर्मीहरू या आफू पछिका कैयौं कलाकर्मीहरू संगीत र देशबाट पलायन भइसकेका छन् । तर यशकुमार न पलायत भए, न त विश्राम लिए । उनी निरन्तर हिँडिरहेका छन्, आफ्नै लयमा । सायद यस्तै किसिमको दर्शकको मायाले उनलाई चुम्बक जसरी तानिरह्यो । ‘सन् २००० मा रित्तो ज्यान हङकङ प्रवेश गरेकी हुँ । त्यतिबेला मँसग केही थिएन । मेरो साथमा मात्रै यशकुमारका ३ वटा एल्वम थिए ।’ यो भनाई हङकङ निवासी साहित्यकार बालिका बान्तावाको हो । उनी आज पनि यशकुमारको शुभचिन्तक नै हुन् । दर्शक तथा स्रोताहरूको यस्ता किसिमका प्रेमले प्रमाणति गर्छ कि यश निरन्तर रसाइरहने मुल हुन्, नकि कुनै बर्खाको खहरे ।

यश आफैमा एक आन्दोलन हुन् । उनले झण्डै तीन दशकअघि गाएको ‘मैले छोएको पानी चल्दैन’, ‘म आफ्नै आँगनमा’ गीतहरूको अझैं चर्चा हुने गर्छ । त्यसबेला जनयुद्धमा होमिएका लडाकुहरू उनका गीत सुनेर आफूमा अझैं उर्जा भर्थे भनिन्थ्यो । गीतसंगीतको माध्यमबाट उनले पनि विद्रोह गरिरहेका थिए । सांगीतिक जीवनको तीन दशक वितिसक्दा पनि समाजलाई उनको आवाज झन्–झन् सान्दर्भिक हुँदै छ । छुवाछुत, भेदभाव, उचनीच प्रथा यथावत छ । अहिले पनि उनका सिर्जनाहरू यीनैविरुद्ध छ । चारवर्षअघि इतिहासले विर्सन नसक्ने ‘रुकुम घटना’ घट्यो । त्यसविरुद्ध राष्ट्रिय कलाकार संघले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा यशले भनेका थिए, ‘कलाकार त हामी पछि हौं, त्योभन्दा अघि त हामी यो देशका अंग हौं । हो उनले यस समाजसँग संघर्ष गरेको वर्षौं भइसक्यो । उनको लडाइँ जारी छ । उनको नजरमा विभेद कायम छ, स्वरूप मात्रै फेरिएको हो । अहिलेको विभेद ‘भिआइपी विभेद’ हो । हिजो उनी विभेद र छुवाछुत बारे बोल्थे, पछिल्लो समय सांस्कृतिक अतिक्रमण बारे पनि बोल्न थालेका छन् । उनको सिर्जना सांस्कृतिक विविधातातर्फ मोडिएको छ । सम्पदा लिम्बुसँगको पडकास्टमा उनले भनेका छन्, ‘यो देशमा मानिने जुनसुकै कल्चर मेरो पनि हो । त्यसको उजागर र संरक्षण गर्नु मेरो पनि दायित्व हो ।’ हो यही कुरा नेतृत्व वर्गले बुझ्न नसक्दा प्रदेश १ मा महिनौंसम्म ‘कोशी प्रदेश’ नामकरण खारेजीको आन्दोलन भएको हो, जहाँ सयौं घाइते भए, एक सहिद बने । अहिले पाथिभरामा ‘नो केवलकार’ आन्दोलन जारी छ । पहिचानको संरक्षण गर्ने योद्धाहरुलाई राज्यले छातीमा ताकिताकि गोली हान्यो । सरकार टँसमस गर्दैन ।

जीवन र संघर्षलाई फर्केर हेर्दा यशकुमार ढुगामाथि फक्रिएका फूल हुन् । ‘जबसम्म स्वास्थ्य र स्वरले साथ दिन्छ, तबसम्म गाइरहने मन छ’, ‘मैले तिम्रो मायामा’को प्रिमियरको क्रममा यशकुमारले दिएको अभिव्यक्ति हो यो । प्रायः उनका समकालिनहरूलाई दर्शकले विर्सन थालिसके । तर यशकुमार सधैं मिडियाको अग्रपंक्तिमा छन् । दर्शक तथा स्रोताको मायाको कमी छैन ।