दुई वर्षअघिको कुरा हो । भख्खर भख्खर कोरोनाले बिदाइ लिँदै थियो र मान्छेहरू फेरि हिँडडुल गर्न पाएका थिए । सिंगापुरको तमसिक फाउन्डेसनले बर्सेनि चलाउँदै आएको एक फेलोसिपअन्तर्गत एकदिन विभिन्न देशका केही पत्रकारको अन्तक्रिया त्यहीँको सरकारी भवनमा डिजिटल विकास, सूचना र सञ्चारमन्त्री जोसेफिन टीयोसँग थियो । माहोल उतिसारो औपचारिक थिएन । अन्य दुईतीनको सँगै मेरो पनि प्रश्नको लागि हात उठ्यो । तर मेरो प्रश्नमा प्रतिप्रश्न गर्न सजिलो थियो । त्यो जोसुकैले गर्न सक्थ्यो । हलमा अन्य विधाका व्यक्तिहरु पनि थिए, जिज्ञासुहरू थिए । मेरो हात विस्तारै तल झ¥यो । सायद कसैले केही सोध्दैनथे होला, म आफैं बढी सोचमा परेको हुन सक्छ । मैले उत्तर चाहेको प्रश्न चाहिं (हुन त सिंगापुरको विकास, व्यवस्था हर दृष्टिकोणबाट चुस्त छ, भावी योजना, तयारी उस्तै लोभलाग्दा छन्, तैपनि) तपाईँको नजरमा के यस्तो कुरा होला या हुन सक्छ जसमा जनता असन्तुष्ट छ वा के कुरामा ठुलो गुनासो होला ?
मन्त्री टीयोको उत्तरको आँकलन गर्न त सकिन्थ्यो, थुप्रै दिनदेखि हामीलाई सिंगापुरसँग नजिक्याउन हाम्रा फेलोसिपका निर्देशक एलेन जोन लागी परेकै थिए । तैपनि टीयोकै मुखैबाट चाहिँ के आउला, जुन सोचेभन्दा निकै फरक पनि हुन सक्छ भनेरै प्रश्न गर्न मन थियो । तर आफ्नै देशतिर सुई घुमेको भए आम नेपालीझैँ हारेको मानसिकता, मनोदशा लुकाउन कम गाह्रो हुने थिएन । त्यसमाथि दुईचार दिनअघि एक प्रसंगमा भुटानी पत्रकारले आफ्नो देशमाथि प्रस्तुति दिँदै गर्दा भुटान, चीन र इन्डियाको बीचतिर छ भनेकी थिई । अलि उत्साहित नभएको अनुहार लाउँदै मैले पनि उस्तै टोनमा ‘सेम सेम’ भनिहालेँ । मेरो आमनेसामने भएर बसेको साथी, एक भारतीय पत्रकारले फ्याट्टै ‘ह्वाई डोन्ट यु मर्ज विथ अस्’ भन्यो । उसले शायद आफूले ठिकै भनेँ भन्ठान्यो होला । प्राय भारतीयहरु नेपालबारे हचुवामै यसो भन्ने गर्छन् र चीनले तिमीहरुलाई खान्छ है भन्दै पत्याउन दबाब दिन्छन् । मैले झनक्क भएर ‘ह्वाई डोन्ट यु’, ‘यु’ मा अलि बढी नै दबाब दिएर ‘मर्ज विथ अस्’ भनेपछि बल्ल उसले चेत्यो । नेपालीहरुको कत्रो शान हुन्छ, भलै उसलाई त्यो खोक्रो लागोस् । त्यसपछि हामी एकअर्कासँग बोल्दै बोलेनौँ ।
आफ्नो देशतिर फर्किँदा नेतृत्व अत्यासलाग्दो छ, जनतामा आशा छैन । वर्षौँ बित्यो, हामी देश बनाउँछौ भनेर सत्तामा आएकाहरु आफैंमा बढी अलमलिए । मुटुभित्र देश दुख्नुपर्ने, तर दुख्यो आफ्नै छटपटी, आफ्नै कुण्ठा, दम्भ, आफ्नै लोभ लालचको व्यस्थापन । क्षणिक स्वार्थबीच देशको दुरगामी लक्ष्य, सुशाशन, सुव्यवस्था, नैतिकता सबै गौण बन्यो । देशका महत्वपूर्ण निकाय खोक्रा, प्रभावहीन, अन्यायी बन्दै गए । यसको मूल्य आम जनताले पलपल भोग्छ, रुन्छ, कराउँछ, रीसाउँछ, तर मनग्गे सुखसुविधाबिचको दैनिकीमा व्यस्त ती ‘देश बनाउन आएकाहरु’को कानसम्म पुग्दैन, दुरी त्यति धेरै छ । यसबीच नयाँ नेतृत्व वृतमा घुस्यो तर उसले पनि चरीत्रमा साह्रै फरक भएको छनक दिएन । छट्टु, लोभी, मौकापरस्त पुराना पनि थिए, नयाँ पनि देखिए । अदूरदर्शी र हल्का चरित्रका थुपै नेता देखिन्छन् । जिम्मेवार र विवेकी, उचाईं छुन सक्ने नेतृत्व राजनैतिक तस्बिरमा कमसेकम आजको नेपालमा देखिँदैन ।
भिजन, अडान, स्पष्टता र त्यागबिना दुई व्यक्तिबिचको प्रेम त बुम¥याङ हुन्छ, देशको के कुरा! यता राज्य संरचना नै भएन, शासकीय प्रणाली यही रहेसम्म जोसुकै , जस्तोसुकै सुकिलो नेतृत्व आएपनि त्यही दलदलभित्र पस्ने हो, देश झन् कंगाल हुने हो भनेर विश्लेषण गर्नेहरु पनि धेरै छन् । न वर्तमान सन्तोषजनक, न भविष्य सुनिश्चित भन्दै युवाहरुले भूमि छोडेको छोड्यै छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षित बसोबास, सुलभ सेवासुविधा सबैमा राज्य चुकेको छ र यो बहसको विषय बन्दैन । देशको मुहार यति मलिन छ कि कुनै पनि अन्तिराष्ट्रिय फोरममा प्रतिनिधित्व गरिरहँदा नेपालका तर्फबाट उभिएकाहरुको दायरा स्वत संकुचित हुन्छ । न सुनाउन केही, न ठुलै सिक्न केही । प्रश्न सोध्ने हैसियत यहीँबाट खुम्चिहाल्छ ।
त्यस भेटघाटकै भोलिपल्ट हाम्रो हातमा एक पुस्तक पर्यो । जुन देश बनाउन हतारोको बारेमा थियो । इमानदार पार्टी र नेतृत्व, अपत्यारिलो साहस र क्षमताको बारेमा थियो । एक हैन, धेरै हिरोहरुको बारेमा थियो । पहेँलो कभर भएको द लास्ट फुल्स (सन् २०२२)का सम्पादक, चर्चित पत्रकार एवम् लेखक पे सिग हुई भन्दै थिए, ‘यो किताब, यी घटना शृंखला, लेखिन जरुरी थियो र हामी आठ पत्रकार मिलेर, प्रत्येकले एक एक फुललाई पच्छ्याएर लेखेका हौँ । यिनीहरु कुनै राजनितिज्ञ, मन्त्रीभन्दा पनि प्रशासनका बादशाह थिए, लि क्वान युको समृद्ध सिंगापूरको सपनालाई आकार दिन सक्ने नायक, उनका प्रिय सेना यिनै थिए । यिनीहरुको यात्रा, कथा, पटकथाले बताउँछ कि यिनीहरु आफैँमा कति कडा नेता थिए, कति दत्तचित्त थिए । म विश्वस्त छु, यी गजब मुर्खहरुले तपाईँहरुलाई पनि उत्तिकै प्रेरणा दिनेछन् ।’ मुर्ख भन्ने बित्तिकै त्यहाँ हाँसोको फोहोरा छुट्यो । एकछिनमा हामी बाटो लाग्यौं । हाम्रो गोठालो लागेर हिँडेका एलेनसँग होटेल फर्कियौँ ।
लेन पनि आफैँमा एक गहकिलो पुस्तकझैँ लाग्थे । सिंगापुरमा लेखक र पत्रकारका रुपमा नामुद एलेन सत्तरी वर्ष भैसक्दा पनि निकै चुस्त, तन्नेरी उर्जा भएका, सरलता, सहजताका प्रतिमूर्ति । आफ्नो देशबारे अघिल्लो दिनकै गफगाफ जारी राख्दै उनले भने, आम जनताले पहिलेका नेता, मन्त्रीहरुलाई निस्वार्थ , देशको लागी आफ्नो सुख सुविधा छोड्न सक्ने महान पथप्रर्दशकको रुपमा पाउँथे । अब त्यो रहेन । सरकारमा रहेकाहरुको राम्रो तलब, सुविधाले हुनुने मान्छेको भावन फरक छ । नवीनतम पुस्ताले त झन् संघर्ष देख्दै देखेन, सुखसुविधा, टेक्नोलोजिको काखमा हुर्कियो, त्यसैले उनीहरुमा कृतज्ञता, धैर्यजस्ता मुल्य मान्यता वा भनौँ आन्तरिक गहिराई विकसित गराउन गाह्रो छ ।
सिंगापुरको गरिबी, बेथिति, अथाह चुनौती देखेको भोगेको त्यो पुरानो पुस्ता, त्यसबाट खारिएर निस्किएका राष्ट्रप्रेमीहरु र आजको सुखसयलमा ‘घमण्डी’ हुँदै गएका किशोरकिशोरीको छाँटकाँट तौलिँदै गर्दा एलेनमा देखिएको चिन्ताबारे नै त सम्पादक हुइले पनि बोलेका थिए । उनका अनुसार वर्तमान सिंगापुरको इतिहासका सबै पाटा, बेलिबिस्तार लेख्नै बाँकी, भन्नै बाँकी भएको हुनाले नै यस पुस्तकको जमर्को गरियो, जसलाई पढुन् र नयाँ पिँडीले मनन गरुन् कि आजको उनको उज्जवल भविष्य निर्माणको जग, ईटामा कस्ता कथाव्यथा छन् ।
कोभिडपछि बजारमा आउने बित्तिकै सिंगापुरमा बेस्टसेलर बन्न भ्याएको यस पुस्तकबारे उनको भनाई थियो, सिंगापुरको कुरा गर्दा सबैले एउटै नाम लिन्छन्, ली क्वान यु । सिंगापुरको अवस्थितिले गर्दा, टापु, बन्दरगाह, वित्तीय सम्भावना आदिले गर्दा, टन्नै अवसर छँदै थियो, र लीजस्ता नेताको नेतृत्वमा त कायापलट भैहाल्यो नि भन्दिन्छन् र पन्छिन्छन् । देशभित्रकैले पनि यस्तै सोच्छन् । तर वास्तममा सिंगापुर निर्माणको इतिहासले भन्छ कि सक्षम नेतृत्वसँगै टीमभित्र उत्तिकै भरपर्दो सहयोगी, सारथी वा मित्र अपरीहार्य रहेछ । व्यक्तिगत स्वार्थ किनार गर्न सक्ने, सत्य बोल्न वा सही अडान लिन सक्ने मान्छे पार्टीमा नहुने हो भने पार्टी सही दिशामा जानै सक्दैन, देश हाँक्नै सक्दैन । हुईले यसो भनिरहँदा एशियाका विभिन्न देशका पत्रकारहरु पक्कै आआफ्नो देश, नेता, कार्यकर्ता संझदै थिए ।
ती आठ प्रशासकहरूमा आआफ्ना फरक स्वभाव, व्यक्तित्व त हुने नै भए । कार्यक्षमता, प्रशिक्षण वा इमान भने उस्तै थियो । परेको बेला आफ्नो क्षेत्रको मन्त्री वा प्रधानमन्त्री लीसँग पनि उनीहरु सहजै टक्कर लिन्थे । उनीहरु यतिविधि काममा भिजेका हुन्थे कि सजिलै आफ्ना सिनियरलाई भन्दिन्थे– माइन्ड योर बिजनेस! र आफ्नो परियोजना समयभन्दा छिटो कसरी सिध्याउँ भनेर लागि पर्थे, किनकी त्यसैभित्र त सुन्दर सिंगापुरको परीकल्पना थियो । एकअर्कासँग उनीहरुको क्षेत्राधिकार पनि निकै जुध्थ्यो, र कुरा अत्यन्त पेचिलो बन्न जान्थ्यो । तर सायद देश निर्माण नै सबैको एकमात्र लक्ष्य भएकोले होला, सबै खाल्का तनावलाई उनीहरुले जसोतसो किनार गर्न सके ।
यो सबै भैरहेको थियो, जब सन् १९५९ मा पिपल्स एक्सन पार्टी (पिएपा) शक्तिमा आयो र ली क्वान यु उनीहरुका मुखिया अर्थात प्रधानमन्त्री बने । विषेश गरी सन् १९६८ देखि १९९९ सम्म , लगातार ३१ बर्ष पालोपिलो गर्दै, वा सँगसँगै यीनै आठले मुख्य प्रशाशन, वित्तिय क्षेत्र आदि सम्हाले । यीमध्ये एक, जो थोरै पाका हुन थालेका थिए, उनले रहेक महत्वपूर्ण क्षेत्रमा बेलैमा भावी नेतृत्व तयार पार्दै लानुपर्ने, मन्त्रीमण्डलमा, देशको मुख्य निकायहरुमा उत्तिकै सक्षम र ईमान्दारहरुलाई ठाउँ दिन बेलैमा तारताम्य मिलाउनुपर्ने कुरालाई अति गम्भिरताको साथ उठाउँदा प्रधानमन्त्री लीपनि प्रभावित भएका थिए । बुढा नेतृत्वहरुले कि त महत्वपुर्ण कामले आफूलाई सान्दर्भिक बनाइराख्नु पर्ने, कि नयाँ पुस्ताका उर्जावानलाई ठाउँ खाली गर्दिहाल्न पर्नेे कुरामा सकारात्मक छलफल, बहस भयो । पार्टीमा सँगै लडेर, उठेर आएको, देश पनि अति दननीय हालतमा भएको हुनाले वास्तममा त्यहाँ पदको आधारमा सानोठुलो महसुस गर्ने गराउने, अहं प्रर्दशनको अभ्यासै हुँदैनथ्यो । त्यसैले देशसँग खेलबाड भएन ।
‘सबैको ध्येय विकाश र सुशाशन भएकोले नै यिनीहरुमा खासै खाडल आएन,’ हुईले भने ।
किताब भन्छ, यी आठमा राजनीतिमा जाउँ, पद प्राप्त गरौं भन्ने अभिलाषा देखिन्थेन । नत्र आपसकै टकरावले यीनीहरु पनि अनेक गुटमा विभाजित भई सिंगापुर निमार्णको सपनामा प्रशस्त अवरोध हुनेथियो । वास्तममा पिएपाका यी सदस्यहरु आत्तिएका थिए, देशको भविष्यलाई लिएर पीरमा थिए । भन्थे, हामी त गर वा मरको स्थितिमा छौँ । हामी उठेनौं भने, बिलाउँछौँ । त्यस्तै उनीहरु कल्पना गर्थे, ‘विश्व द्रुत गतिमा विकासतर्फ लम्किरहेछ, झन् एक्काईसौँ शताब्दीमा यहाँ के के हुन्छ होला? अनि हामी कहाँ हुन्छौं होला,’ अनि भावुक हुन्थे ।
तर पिएपा पनि सुरुमै खण्डित नभएको भने हैन । विभिन्न देशमा राजनैतिक परिवर्तन, कम्युनिजम फैलिरहेकोे त्यो समयमा सो पार्टीमा दुई ध्रुव बन्यो । अलि बढीनै बामपन्थी कित्ता छुट्टीएर बेरिसन सोसियलिस दल बन्यो, जसको आधार श्रमजिवी चिनियाँ, युनियनहरु थिए । यो कित्ता र अन्य राजनैतिक शक्तिहरुलाई किनार नगर्दासम्म लिको धारले सोचेझैं अघि बढ्न संभव थिएन । त्यसैले एक काण्ड घटाइयो (अपेरसन कोल्डस्टोर) सन् १९६३ फेब्रवरी तीनमा रातारात १०७ व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो । यो विवादरहित भएन, आज पनि छैन । तर यही कदमलाई वर्तमान सिंगापुरको सुरुवाती खुड्किलो पनि मानिन्छ । अपेरेसन कोण्डस्टोर लगत्तैको अति संवेदनशील अवस्थामा न चिनियाँ मूलका, न मलेया मुलका सुरक्षार्थीलाई विश्वाश गर्न सकिन्छ भन्दै सानो संख्याको गोर्खा आर्मीले त्योबेलाको सुरक्षामा महत्वपुर्ण भुमिका खेलेको प्रशंग पनि किताबमा छ (पहिले ब्रिटीश सरकारको कब्जामा भएदेखिनै त्यहाँ गोर्खा आर्मी भित्रिएको थियो) । बेलाबेला साम्प्रदयिक हिंसा भट्किसकेको, गाँसबाँस कपासको जनतालाई कुनै प्रत्याभुति भैनसकेको, शिक्षा, जागरुकतामा निकै तल, त्यसमाथि थुप्रै जनता र्दुव्यसनको सिकार, जताततै फोहोर, अव्यस्थित र अराजक उबेलाको सिंगापुरलाई सम्हाल्दै लग्नु अतिनै मुस्किल देखिन्थ्यो ।
पिएपाले सिंगापुरको भविष्यको लागि अपरिहार्य ठानी निर्णय लिएको यस घटनाको नेतृत्व यी आठ मध्येकै जर्ज एडविन बोगर्सले गरेका थिए । किताबमा, कुनै फिल्मको मुख्य नायक र खलनायकझैँ बडो स्वादले उनको व्यक्तित्वको चित्रण गरिएको छ । उता आफ्नो डिजाइनमा रातारात बबाल भैरहँदा यता कुनै खुङ्खार पात्रझैँ विस्तारै औँलामा सिगार च्यापेर शानले चुपचाप हिँड्ने जस्तो उनको छवि भन्दै लेखक आफैं निकै रोमान्चित भएका छन् । त्यतिबेला बोर्गस ३६ वर्षका थिए । गतिलो सुरक्षा सम्यन्त्र खासै बनिसकेको थिएन, भख्खरै क्रिमिनल इनभेस्टिगेसन डिपार्टमेन्ट आदि बनेको र उनलाई विषेश विभागका निर्देशक बनाइएको थियो । यस घटनापछि उनी थप बलिया भए र विस्तारै उनले देशमा आन्तिरिक सुरक्षा संयन्त्र सुनिश्चित गरे । उनको व्यक्तित्व र क्षमता भने केवल सुरक्षा संरचना र प्रबन्धको लागि मात्रै बनेको थिएन । ली क्वान युका प्रिय बोर्गसले देशमा अति नाजुक स्थितिमा रहेको अर्थतन्त्र र रोजगारको नाकनक्शा बदल्न पनि अहं भूमिका खेले । तर काम गर्दै जाँदा उनले जातिय संवेदनशीलता र भेदभावरहित नेतृत्व देखाउन नसकेको दोष पनि खेपे र त्यसको परीणाम पनि भोगे । त्यस्तै पत्नीसँगको सम्बन्धविच्छेद अघि नै एक महिलासँग प्रेममा पर्नु र रंगेहात समातिनुले उनको उकालो लागीरहेको ग्राफमा ठूलो धक्का पुग्यो । तर जुन सहजता र धैर्यले उनले यो बदनामी स्विकारे, फेरि उस्तै विनोदप्रेमी, शान्त र सहज देखिए, त्यसले उनको व्यक्तित्व बलियो रहेको उनका समकक्षीको बताउँछन् ।
‘हुन त सिंगापुरलाई आकार दिनेको लिस्टमा यी आठ मात्र नभएर अलि धेरैलाई राख्नुपर्ने हुन्छ, तर अन्यको जिकिर, कथा, कहीँ न कहीँ आइसकेको, थुप्रै प्रसंग त लीकै किताबहरुमा पनि समेटिसकिएको हामीले पायौँ । उनीहरु प्राय राजनितीमा सक्रिय थिए भने यी आठमा एकदुई मात्र पछि करकापले राजनितिमा आएका हुन्, नत्र प्रशासनसँगै, विकास निर्माण वा कम्पनीसँगै सरोकार राखे । यिनीहरुले सिंगापुर एयरलाइन्स जन्माए, हाउजिङको सपना सफल पारे, सुँगर बंगुर पाल्ने अत्यन्त फोहोरी इलाकालाई रातारात स्वच्छ सफा हराभरा पार्नतिर लागे, मलेया र चाइनिजबीचको डरलाग्दो साम्प्रदायिक हिंसाको डरमा बाँचेको देशभित्र संवेदनशील, विवेकपूर्ण निति नियम लागू गरी भाईचारातिर डोहो¥याए, देशको शान्ति सुरक्षाको लागि चुस्त योजना बनाए, रोग भोकले ग्रस्त जनताको औषधि उपचारको सक्दो ख्याल गर्दै एकपछि अर्को चामत्कारीक स्वास्थ्य सुविधा, बिमाहरुको घोषणा गरे, वित्तीय क्षेत्र, व्यापार, रोजगारमा हरसंभव प्रयास गरी कम्पनीहरुलाई नाफामा लगे । त्यो दननीय, चारैतिरबाट चुनौती खेपेको, एक्लिएको र आफूसँग स्रोत साधन पर्याप्त नभएको सिंगापुरलाई दिनरात नभनी उनीहरुले बनाए, सिंगारे । ती दिनहरु नजिकबाट हामीले हेरिरहँदा हामीलाई त सपनाजस्तो लाग्छ, कस्ता मान्छेहरु, कति सम्हालिएर हिंड्न सकेका, कस्तो इच्छाशक्ति, हामीले मनन त गर्नुपर्यो नि,’ सम्पादक सुईले एक प्रस्तिुतिबीच भने ।
किताबको ध्येय पनि यही हो । सिंगापुर रुपान्तरणको यात्रा, जुन करीब तीन दशक भित्रको योजना र उपलब्धिलाई मुख्य मानिन्छ, यी विभिन्न क्षेत्र सम्हालेका प्रशाशकका जीवनीबाट अझ विषेश तरीकाले बुझ्न सकिन्छ भन्दै आठ पत्रकार मिलेर लिपिबद्ध गर्ने योजना कोभिडभन्दा केही पहिले बनेको थियो । फलस्वरुप प्रत्येकले एकको सानो बायोग्राफीझैँ लाग्ने सामाग्री तयार पारे । पुस्तकको नामभने एक चाईनिज पौराणिक कथाबाट लिईयो जसमा आठ देवताहरु रहेका छन् (दि लाष्ट फुल्स ः दि एट इमोर्टल्स अफ ली क्वान यु) यी आठको अपत्यारिलो लगन, आफ्नो व्यक्तिगत सुखसयलै नहेर्ने कस्तो ठिट भनेर फुल भन्ने शब्द प्रयोग गरको र त्यसलाई धेरै रुचाएको सम्पादक सुई बताउँछन् ।
पुस्तकको बिउ रोपिदाँसम्म ती आठ (सिम की बुन, जर्ज बोर्गस, जे वाई पिल्ले, एनड्रि च्यु, होन सुई सेन, हो युन चोग, लि एक टीग, निगम टाग डाउ)मध्ये धेरैले संसारबाट बिदा लिइसकेका थिए । विषयवस्तु पेश गर्न पत्रकारहरुले उनका परीवार, साथीभाई, पुराना समाचार, सामाग्री, जिवित रहेका मुख्य व्यक्तिहरुबाट भरपुर सहयोग लिए । किताब भन्छ, यी आठै जना स्तरीय व्यक्तित्वका धनी थिए, राम्रै पढेलेखेका, विज्ञता हाँसिल गरेका । कयौंलाई त लि क्वान यु आफैंले बाहिर प्रशिक्षण लिन पठाएका थिए । अर्को एक स्वभाव पनि यी आठमा लगभग समान थियो– सानोतिनो हैन, ठूलै सपना देख्नु, अभावबीच पनि आशा नछोड्नु, ज्यान फालेर लागी परिरहनु ।
उदाहरणका लागि, यीमध्येका जे वाई पिल्ले (आठमध्ये यीनैसँग मात्रै यस किताबको लागी प्रत्यक्ष कुराकानी भएको थियो) जसले देशसँग पुँजी नहुँदा, मलेसिया लगायत अन्य राष्ट्रले पनि उनको योजनामा असहयोगी रवैया अपनाउँदा, वा भनौं टक्कर लिँदा पनि सिंगापुर एयरलाईन्सलाई यो यो माध्यमबाट अन्तराष्ट्रिय उडानमा चर्चित बनाउन सकिन्छ र नाफामा लैजान सकिन्छ भन्ने सपना देखे, योजना अघि सारे, जुन उबेला लीलगायत कसैले पत्याएका थिएनन् । तर उनले अडान लिए । एक समयमा एक निश्चित लक्ष्य अघि राख्ने, त्यसका चुनौतीको विस्तृत अध्ययन गर्ने, एकएक गरी त्यसलाई परास्त गर्ने उपाय खोज्ने, नआत्तिने अनि काम नरोक्ने, पुँजीका लागि विभिन्न स्मार्ट योजनाहरुमा सामेल हुने, विश्व स्टक बजारमा समेत सिंगापुरको प्रवेश गराई फाइदाको लागि खेल्ने आदि सबै क्षमताको श्रेय पिल्ले भागवत गीतालाई दिन्थे । भागवत गीता मनमा राखेकै कारण उनी त्यस्तो अविचलित, ध्यानकेन्द्रित भएको बताउँथे । वित्तीय क्षेत्रमा सिंगापुरको छलाङमा पिल्लेको ठूलो योगदान रहेको छ, अति संवेदनशील अवस्थामा, कम्पनीहरु डुब्दै गर्दा र कुनै उपाय नदेखिँदा पनि पिल्ले भने कुनै न कुनै योजना निकाल्थे । कामले यसरी उनी अति नै प्रभावशाली थिए तर हेर्दा उतिनै साधारण र अपत्यारिला ।
एक रोचक प्रसंगमा, अति सामान्य हुलियामा रहेका यिनै पिल्लेलाई सिंगापुर एयरलाईन्सकी एक एयर होस्टेसले चिचिनन् । उनले ककपिट निरीक्षण गर्न पाउँ भन्दा आनाकानी गरिन् । भित्र पाइलटलाई फोन गरिन् र भनिन्– यहाँ एउटा मान्छे आफूलाई बिजनेस क्लासको हुँ भन्दै ककपिट हेरौँ भन्छ तर हेर्दा कतैबाट बिजनेस क्लासमा चढ्नेझैं लाग्दैन, खै रक्सी पो खाएको छ कि, जिद्दी गर्दैछ । पाइलटले बोलाउनु भनेपछि उनले हिच्किचाउँदै भित्र लगीन् (उबेला, यात्रुले चाहेको खण्डमा यसरी अवलोकन गर्न दिईन्थ्यो, जुन अमेरीकाको २०११ को घटनापश्चात पुर्नविचार गरीयो ।) जब उनी भित्र छिरे, पाईलटले चिनिहाले र नतमस्तक भए ।
यसरी उनी उमेरले गलिसक्दा पनि हवाईअड्डा, उडान आदि बेलाबेला आफैं निरीक्षण गर्न निस्किरहे । हत्तपत्त कसैले पत्याउँदैनथ्यो कि अति सरल पहिरनका दुब्ला पातला पिल्ले सिंगापुर निर्माणका ठुला पिल्लर हुन् ।
इतिहाँसले देखाउँछ कि समयको मागले नै विषेश नेता, विशेष परीस्थिति जन्माउँछ, देशलाई फरक दिशा दिन्छ । संसारमा धेरै देशले यस्तो यात्रा तय गरेका छन् । सिंगापुरको पनि अस्तित्व धरापमा परेको, मलेसियासँग अलग्गिसकेपछि त ली क्वान युसमेत निकै आत्तिएको अवस्थामा अब आफ्नै दममा उभिनुपर्ने चुनौती सबैले महसुस गरे । यदि विश्व मानचित्रमा गनिनु छ भने त्यसै अनुसारको द्रुत विकास पनि हुनुपर्ने आँकलन गरे । तत्पश्चात जसरी सिंगापुरले एक अलग उडान लियो, देशको तस्बिर चाँडै नै बदलियो ।
हामी नेपाली कहिल्यै पराइको शासनमा बसेनौँ । देश स्वाधीन हुनु÷नहुनुको फरकै थाह भएन । जेजति राजनैतिक लडाईं भयो, आफ्नैसँग भयो, देशको अवस्था रुपान्तरण गर्न चाहिने ऊर्जा र चासो आज पनि देखिँदैन । नेता देश ठिकै छ भन्ने भाष्यमा रमाएका छन्, कार्यकर्ता ताली बजाउनमा । हामी मज्जाले विभाजित छौँ । आफ्नाको कर्तुत ढाक्न, अर्कोलाई औंला उठाउन, व्यक्ति–व्यक्ति प्रशिक्षित भैसकेको देखिन्छ, समाजिक सञ्जालको हवाला दिने हो भने हाम्रो चेतनास्तर, चरित्र चिन्ताजनक छ । तर हामीले सोध्नुपर्ने प्रश्न भने के हामी स्वाधीन छौं? ढुक्क भैदिने हो? भूराजनितिक हस्तक्षेप एकछिन पर राखौँ, हामी त झन् डरलाग्दो तरीकाले पुरै अरुको नियन्त्रणमा हुँदै गैसकेको छैनौँ र? कत्ति पनि आफ्नो नियन्त्र नभएको , ज्ञान नभएको, सुरक्षाको कखनै थाहा नभएको इन्टरनेटभरि छौँ आज हामी । हाम्रा डाटाहरु हामीसँग मात्रै छँदै छैनन्, बरु अरुसँग बढी छन् । हाम्रा क्रिया, प्रतिक्रिया, स्वभाव, रिस, आवेग, सूचनाको छनोट, पहुँच आदि सबै हाम्रा रहर वा डिजाइनभित्र रहेका छैनन् । भोलिका हाम्रा निर्णय वास्तममै हाम्रै निर्णय कसरी हुनेछन्? कमजोर राज्य, कमजोर सरकारले यो नौलो शत्रु नचिनेको मात्रै हैन र? यसको लागि छुट्टै आर्मी चाहिने कुरा मनन नगरेको मात्रै हो, जुन सबै देशले गरिसके । प्रविधि, इन्टरनेट, एआईको युगमा सिमाना आफैंसँग छ भन्दैमा मात्रै देश स्वाधीन हुन सक्दैन ।
अर्कोतर्फ, आत्मसम्मान कुल्चिएर हिंड्ने गरेको दर्जनौं नेता, पत्रकार, दलाल अगुवा छन् । सानै लाभका लागि कुनै एम्बेसीको ढोकामा लम्पसार पर्न सकस नमान्नेहरु, दिल्ली दगुरी हाल्नेहरू छन् । भान्छादेखि घाटसम्मका सामानमा परनिर्भरता, गरिबी, असुरक्षा, आफू र परिवारलाई रुवाउँदै खाडीतिर हराईरहेका कलिला युवापक्ति आदिको कथामा बेस्सरी रोइरहेको नेपालको स्वाधीनता कहाँ खोज्ने? भित्रभित्रै देशलाई गाल्दै लगेको भ्रष्टाचार, दास प्रवृतिबाट छुट्कारा, मनगणन्ते चालाभन्दा वस्तुनिष्ठ अध्ययन, जनमुखी, दुरदर्शी योजना, परीयोजना, सहज वर्तमान, सुन्दर भविष्य कहाँ खोज्ने ? के हामीले त्यस्तै केहि खुंखार देशप्रेमी मुर्खहरु र तिनका मुखिया जन्माइसकेका हौँला त?
नेपालक्लिसबाट साभार