काठमाडौं । सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोध्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने बताएका हुन् ।
मन्त्री बस्नेतले दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरु स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकता अनुसार अरु अस्पतालहरुमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने पनि बताए ।
यस्तै, मन्त्री बस्नेतले कतिपय अस्पतालले जथाभावी रुपमा स्वास्थ्य उपकरण खरिद गरेको पाइएको भन्दै अब खरिद गर्दा न्युनतम सेवा मापदण्डले औंल्याए अनुसारका उपकरणहरु मन्त्रालयको समन्वयमा खरिद गर्ने व्यवस्था लागू गर्ने बताए ।
आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिइ ओपिडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर्न लागेको पनि उनले जानकारी दिए ।