एजेन्सी । अमेरिकाको यूटामा एक महिलाले पतिको अचानक मृत्युपछि शोक पुस्तक लेखेकी थिइन् । पुस्तक प्रकाशनको दुई महिनापछि पतिको हत्याको आरोपमा उनलाई पक्राउ गरिएको छ । तीन बच्चाकी आमा कुरी रिचिन्सले मार्च २०२२ को एक रात सुतिरहेका पति एरिक छाम्दा चिसो भएको भन्दै प्रहरीलाई फोन गरेकी थिइन् ।
बेलुका सुत्नेबेला पतिका लागि आफूले भोड्का तयार गरेको उनको भनाइ थियो । पोस्टमार्टममा एरिक फेन्टानिल नामक लागुऔषधको ओभरडोजका कारण मृत्यु भएको पाइयो । एक व्यक्तिलाई मार्नेभन्दा पाँच गुणा बढी फेन्टानिल उनको शरीरमा भेटिएको थियो ।
त्यसअघि कुरीले लागुऔषध कारोबरको आरोपमा पहिले नै पक्राउ परिसकेका व्यक्तिसँग दुई पटक सो लागुऔषध किनेकी थिइन्।पहिलो पटक उनले लागुऔषध किनेको तीन दिनपछि भ्यालेन्टाइन डेको रात्रिभोजपछि पनि एरिक बिरामी परेका थिए ।

एरिकले आफूलाई पत्नीले विष दिएको पनि साथीहरुसँग बताएका थिए।दुई सातापछि कुरीले थप लागुऔषध किनिन् । जसको केही दिनपछि नै पति मृत भेटिए । उनले प्रहरीलाई भोड्का तयार गरेर बेडमा दिएको र आफू सुतेको तर राति ब्युँझिँदा पति चिसो भेटिएको बताएकी थिइन् ।
हालै उनले प्रियजनको मृत्युको शोकसँग जुध्न बच्चाहरुलाई सघाउने उदेश्यले ‘आर यु विद मि?’ नामक पुस्तक पनि लेखेकी थिइन् । यो पुस्तकले आफू र आफ्ना तीन छोरालाई शान्ति दिलाउने पनि उनको भनाइ थियो । पुस्तक उनले मृत पतिलाई नै समर्पण गरेकी थिइन् । तर, दुई महिनापछि उनी पक्राउ परिन् । मार्च १९ मा उनको सुनुवाइ तोकिएको छ ।