April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

गूगलका एक पूर्व सफ्टवेअर इन्जिनियरलाई गोप्य सूचना चोरेको आरोप

२०८० फाल्गुन २५

1.8K

अमेरिकामा गूगलका एकजना पूर्व सफ्टवेअर इन्जिनियरलाई आर्टिफिशल इन्टेलिजेन्सबारेका गोप्य कुराहरू चोरेर दुई चिनियाँ कम्पनीका लागि काम गरेको आरोप लगाइएको छ । बीबीसीले उल्लेख गरेअनुसार लीअन डिङ भनेर पनि चिनिने लिनवेइ डीङलाई क्यालिफोर्निया राज्यमा चार प्रकारका आरोपमा दोषी ठहर गर्दै बुधवार गिरफ्तार गरिएको हो ।

यी चिनियाँ नागरिकले ५०० भन्दा बढी अति गोप्य फाइल चोरेको आरोप लगाइएको पनि बीबीसीमा उल्लेख छ । उनले प्रत्येक आरोपमा १० वर्षसम्मको जेल सजाय र २ लाख ५० हजार डलरसम्मको जरिवाना तिर्नुपर्ने हुन सक्छ ।

डीङको प्रतिक्रियाका लागि उनका वकिलको पहिचान भई नसकेको स्थानीय मिडियाले लेखेका छन् । उनले चोरेको भनिएको सूचना गूगलको सुपरकम्प्युटिङ डेटा सेन्टरको संरचना सम्बन्धित रहेको बताइएको छ । जसको उपयोग ठूलाठूला एआई मोडललाई एक ठाउँमा राख्ने र प्रशिक्षण दिनेबारे रहेको छ ।

Advertisement

अभियोगपत्रका अनुसार डीङलाई गूगलले सन् २०१९ मा काममा राखेको थियो । उनको जिम्मेवारीमा उक्त सफ्टवेयर विकास पनि पर्थ्यो । उनले गूगलको सञ्जालमा सञ्चित सूचनालाई आफ्नो व्यक्तिगत गूगल अकाउन्टमा मे २०२२ मा अपलोड गर्न सुरु गरेको आरोप लगाइएको छ ।

त्यस्तो अपलोड नियमित रूपमा एक वर्षसम्म गरिएको अभियोगपत्रमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

त्यसैबीच डीङले चीनमा केही महिना बिताएको र बेइजिङ रोङगशु लियानझी टेक्नोलोजी नामको एउटा स्टार्टअप टेक कम्पनीका लागि काम गरेको बताइएको छ ।

अभियोगपत्रका अनुसार उनलाई कम्पनीले १४ हजार ८०० अमेरिकी डलर प्रतिमहिना तलब लिएर कम्पनीको प्रमुख प्रविधि अधिकारी (चीफ टेक्नोलोजी अफिसर) बन्न आग्रह गरेको थियो । उनले साङ्घाइ झिसुआन टेक्नोलोजी नामको आफ्नै प्रविधि कम्पनी पनि खोलेको आरोप छ ।

उक्त कम्पनीले एआई र मसिन लर्निङलाई केन्द्रमा राखेर काम गर्ने बताइएको छ । बीबीसीले रोङशु र झिसुआनलाई सम्पर्क गरेको छ तर तत्काल प्रतिक्रिया प्राप्त भइसकेको जनाएको छ ।