April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रिय जनमुक्ति पार्टीको सर्वदलीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

6.4K

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीको सर्वदलीय/सर्वपक्षिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समितिको आयोजना र जिल्ला कार्यसमिति, रुपन्देहीको व्यवस्थापनमा शुक्रबार रुपन्देहीको मंगलापूरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्राप्त उपलब्धिहरु (संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता आदि) को रक्षा, मूलुकमा व्याप्त व्यथिति र भ्रष्टाचारको अन्त्य, वैदेशिक हस्तक्षेपले राष्ट्रिय अस्मितामाथि पारेको असर, अनियन्त्रित महँगीको नियन्त्रण, सरकारले पहिचानको सम्मान गर्नुपर्ने लगायतका विषयमाथि दल र सरोकारवालाबीच अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामीले प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धि प्राप्तिका लागि परिवर्तनका पक्षधर शक्तिहरु एकजुट हुनुको विकल्प नभएको बताए । अस्लामीले नेपाली जनताहरुको बलिदानीबाट प्राप्त भएको संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता लगायतका राष्ट्रिय उपलब्धिहरूप्रति नियोजित प्रहार र खारेजीसमेतको दुष्प्रयास भइरहेको भन्दै परिवर्तनकारी शक्तिहरु एकजुट हुनुको विकल्प नभएको बताएका हुन् ।

Advertisement

महासचिव अस्लामीले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त भएका उपलब्धिमाथि षडयन्त्र भइरहेकाले सबै परिवर्ततनकारी शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताए । उनले दिनप्रतिदिन खस्कदो अर्थतन्त्र, भष्ट्रचारका राष्ट्रिय अपराध, वित्तिय तरलता, चर्को र चक्रवर्ती ब्याजदर आदिका कारण व्यापार तथा व्यवसायिक क्षेत्र धराशायी हुनुका साथै अनियन्त्रित महङ्गीले नेपाली जनताको जनजीवन दिनप्रतिदिन कष्टकर हुनुका साथै बैदेशिक हस्तक्षेप पनि बढेको बताए । यस्ता सबै किसिमका समस्याबाट देश र नागरिकहरुलाई मुक्त गराउनका लागि परिवर्तनकारी शक्तिहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रम पनि पुरानै ढर्राको भएको टिप्पणी गर्दै उनले बिदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्ने प्रतिवद्धता भने सकारात्मक भएको बताए ।

यस्तै, कार्यक्रममा बोल्दै माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता ल्याउनका लागि सबै दलहरु र नागरिकहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग रहेको र उक्त प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धि प्राप्तिका लागि परिवर्तनकारी शक्तिहरु मिलेर जानुपर्नेमा जोड दिए । माओवादी नेतृत्वको जनयुद्धबाट प्राप्त उपलब्धिविरुद्ध षडयन्त्र भएको भन्दै उनले परिवर्तनलाई जोगाएर थप परिवर्तन हासिल गर्न अब फेरि सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याए ।

यस्तै, नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले राज्य प्रणाली अहिले सिन्डीकेटबाट अघि बढेको बताउदै अहिलेसम्म प्राप्त भएका उलपब्धिलाई जोगाउन र थप उपलब्धि हाशील गर्न सबै एक ठाउँमा उभिनुपर्ने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समितिका अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव चित्र प्रसाद गुरुङले संचालन गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका गणेश पाठक, नागरिक उन्मुक्ति पार्टीका अशोक कुमार चौधरी, जनमत पार्टीका निलम यादव, मगर महासंघका अध्यक्ष छत्र दर्लामी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम थापा, पूर्व प्रहरी तथा सैनिक कल्याणकारीका महासंघका पूर्व उपाध्यक्ष खुमबहादुर थापा लगायतले पनि प्राप्त भएका उपलब्धिलाई जोगाउन र थप उपलब्धि प्राप्त गर्नका लागि अग्रगमनकारी र परिवर्तनकारी शक्ति मिल्नु पर्ने बताएका थिए ।

यसैगरी, यस विषयलाई लिएर शुक्रबारै पाल्पा, कपिलवस्तु र रुपन्देही सर्वदलिय र सर्वपक्षिय कार्यक्रम सम्पन्न भएको छ भने राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश ५ (लुम्बिनी÷लुथम) को आह्वानमा चरणबद्ध कार्यक्रम घोषणा गरेको संचार विभाग प्रमुख राम अस्लामीले जानकारी दिए । जसअन्तर्गत प्राप्त उपलब्धिहरुको रक्षार्थ यही २६ गतेका दिन खबरदारी मार्चपास विभिन्न जिल्ला सदरमुकामहरुमा गर्ने बताए ।