अनिता कोइराला
उपयोगिता ह्रास नियमको ठिक विपरीत छ ‘अर्को भोर’ कथासंग्रह । केशवराज ज्ञवालीले कथाहरू पढ्दै जाँदा पढ्ने भोक अझ जगाएका छन् । यस संग्रहका हरेक कथाहरूले अफ्ठ्यारो अवस्थालाई बिट मार्दै नयाँं बिहानी आउने संकेत गरेकोले शीर्षक उपयुक्त लाग्यो । सुन्दर फूलबारीमा ढकमक्क फुलेका जातजातका अमूल्य फूलहरू जसरी नै फुलेको छ, कथासंग्रह ।
“विविधता भित्रको समग्रता अर्को भोरको विशेषता” भन्दा म गलत हुन्न होला । साँच्चै अर्को भोरमा समाविष्ट चौधवटा कथाहरूमा पृथकता छ । समा, सम्बन्ध, संस्कार र मनोविज्ञानको सुन्दर चित्रण छ ।
‘कथा समाजको ऐना हो’ भन्ने कुरालाई चरितार्थ पारेको छ अर्को भोरले । यथार्थको मसीले लेखिएका मार्मिक कथाहरू छन् । कथाहरू आकर्षक र जादुमयी त छँदै छ अझ यसले पाठकहरूलाई रन्थन्याएर सोच्न बाध्य पार्ने गम्भीरता छ । उत्कृष्ट बिम्बको छनोट, जीवन्त संवादले कथालाई अमर बनाउने छ ।
मानवीय मूल्य मान्यता र सहअस्तित्वको लडाइँ संसारका हरेक कुनामा हुनेरहेछ भन्ने कुरालाई कथाहरूले बोलेको छ । लैङ्गिक विभेद, जातीय उत्पीडनको समाधान सम्पन्नताले मात्र प्राप्त हुने बिषय होइन रहेछ, सभ्यता त संस्कारले देखाउने कुरा सत्य रहेछ । संस्कार बिनाको समृद्धि क्षणिक हुनेरहेछ । उपलब्धता र सहजताले सहअस्तित्व र स्वाभिमानलाई बचाउन नसकेर सम्बन्धहरूमा फाटो आएका कथाले पाठकलाई टोलो पार्छ । प्रत्येक मानवको हृदयले वास्तवमा प्रेम चाहन्छ । मान्छे जति उचाइमा पुगेपनि आखिर खोज्ने त शान्ति, आनन्द, माया, समझदारी, सहकार्य र सहअस्तित्व नै त रहेछ ।
तीन बराबर पाँच
सामाजिक यथार्थवादी कथाले पाठकको हृदयलाई मज्जाले छुन्छ । नेपालमा हुने जातीय छुवाछूतको डरलाग्दो छायाँले लखेटेर अमेरिका पुगेको पात्रले जब मार्कोसको कथा थाहा पाउँछ ऊलाई आफ्नी दिदी र बिक्षिप्त पिताको याद आउँछ । कथा यताको होस् या उताको पीडा त जताततै समान हुन्छ भन्ने संदेश कथाले दिन्छ । जात र रङ्गको आधारमा गरिएको अमानवीय व्यवहारमाथि कथाकारले दह्रो कलम चलाएका छन् ।
राम कथा
रामहरूका कथा वास्तवमै हिजोआज नेपाली माटोमा प्रत्येक घरआँगनमा सुन्न पाइन्छ । वैदेशिक रोजगारीले निम्त्याएका प्रतिकुल परिस्थितिहरूलाई कलात्मक तवरले कथानक बुनेका छन् ज्ञवालीले ।
बूढाले मतिर हेर्दै फेरि भने, ‘बाबु रामको बनबास किन भयो ?’ म अकमक्क परें एकैछिनको मौनतापछि आफ्नो प्रश्नको उत्तर आँफै दिए बूढाले ‘बूढो अयोध्याले नयाँ रामको तेज धान्न सकेन । बनबास त नियती हो रामको ।’ यो वाक्यांशले पाठकको हृदय नराम्रोसँग कोक्किन्छ ।
मास्क
‘भाँडा जुठा पारेर दिनेहरूले उसैलाई जुठो हाल्न खोजे, ढाड भाँच्चिने गरि काम गर्न तयार थिई ऊ । काम दिनेहरूले भने उसको ढाडमा र्याल चुहाइरहे ।’ ४१
कोरोना कहरमा अभाव र भोकले थिलथिलो भएको शरीरसँग राहतको पोकोले समेत लुछ्न आएको प्रसङ्गले पाठकलाई उकुसमुकुस पार्छ । परिस्थितिले निचोरिएकी आमाको कथा र व्यथा छ मास्कमा । कसरी राज्यले उसको भोकको मजाक उडाउँछ र उसलाई गिजोल्ल खोज्छ सचित्र देखाएका छन् । मुखौटो लगाएर हिँडेका जत्थाहरू भन्दा बरू खुल्मखुल्ला देह व्यापार गरेको प्रसंङ्ग अतिनै मार्मिक छ ।
ब्ल्याकहोल
यस कथामा अस्तित्वको मनोविज्ञान छ । जवर्जस्तिको सम्बन्धहरूलाई कथाकारले फरक बिम्बको प्रयोग गरेर कथालाई उचाइमा पुर्याएका छन् जस्तो लाग्यो । ब्ल्याकहोल पढ्दा हरेक पाठकलाई आफू भित्रको त्यो ब्ल्याकहोलको पहिचान हुन्छ । हरेक व्यक्ति भित्रको त्यो ब्ल्याकहोलमा पुगे सम्बन्धहरू सबै खलाँस् हुन्छ ।
उज्यालो एउटा प्रस्थान बिन्दु
यस कथामा लैङ्गिक विभेदको कहालीलाग्दो संस्कारलाई उजागर गरेका छन् । भूगोल फेरिए पनि संस्कार फेरिन हम्मेहम्मे पर्ने रहेछ । ‘जुँगेमुठेहरू उक्सिएका पेटहरूभित्र हात छिराउँछन् र थुत्न थाल्छन् कलिला नानीहरू । आमालाई गम्लङ्ग अँगालेका नानीहरू च्यादिँदै बाहिर निस्कन्छ्न् । रक्तमुछेल नानीहरू च्याँ गर्दैनन् । आफ्नै ज्यान ध्वार्र च्यातिएका आमाहरू रगतपच्छे, चुपचाप उभिइरहन्छन्।’ (७३)
पाठकहरूलाई हुरूक्कै पार्ने वाक्यांशहरू कथाभित्र यत्रतत्र छन् । रुख र चराहरू कथामा रुख र चराहरूको बिम्बले वर्तमान समयको डरलाग्दो परिवेशलाई उदाङ्गो पारेका छन् । ‘एकदिन चराले रुखको काँधमै बसेर भन्यो; मैले हाम्रो वरिपरिको जङ्गल चहारेँ । एउटा कुनादेखि अर्को कुनासम्म पुगेँ । मेरो बलिया पखेटालाई यो जङ्गलको परिधि सानो भयो। अब म जान्छु ।’ कथाका हरेक शव्दहरूम गहकिला भावहरू छन् । भावुक पाठकहरू स्तब्ध हुन्छन् ।
लय
‘तिमी मेरो साथी भयौ अनि ब्वाइफ्रेण्ड । अब लोग्ने हुने तयारी गर्दैछौ । म तिमीलाई भेट्नुभन्दा पहिले पनि केही थिएँ र अहिले पनि छु । मेरो जीवनको उद्देश्य तिम्रो स्वास्नी बनेर सकिँदैन ।’ (९५) वास्तवमा लोग्ने स्वास्नीको सम्बन्ध विश्वास र सहकार्यमा मात्र लामो समयसम्म टिकेर बस्ने रहेछ । कथाकार भन्छन श्रीमान् श्रीमतीको जोडी डान्स पाटनर जस्तै हुनुपर्छ । कहिले एउटाको गोडा केन्द्रमा हुनुपर्छ त कहिले अर्कोको । कसैले कसैको अस्तित्वलाई धुलिसात् पार्ने कार्यले सम्बन्धमा खिया लाग्छ ।
एक्वारियम
कथामा कथाकारको कलमले बढो मार्मिक मसी ओकलेको छ, जसले संवेदनशील पाठकको मनलाई हुरूक्क पार्छ र आँखाबाट पानी पोखिन्छ । माछालाई समेत उसको बासस्थानबाट एक्वारियममा ल्याएर राख्नु पूर्व अनुकुल हुने वातावरण निर्माण गर्ने मान्छेले आफ्नै बाआमालाई उनीहरूको वातावरणबाट जुरुक्क उठाएर नौलो भूगोलमा ल्याउँदा बुझ्न सक्दैनन् बाआमाका पीडा र उकुसमुकुसहरू । कुकुरलाई पनि सावधानिपूर्वक पाल्छन् तर बाआमालाई ? यो कथामा एक्लोपनको कारूणीक अवस्थाको भव्य चित्रण गरेका छन् कथाकारले ।
खत
खत कथाले पनि निकै गहिरो भाव बोकेको छ । अमेरिका छिरेको छोरो आमाको मृत्युमा बिक्षिप्त छ । संवेदनशील छोरो संस्कारलाई भुल्न नसकेर उकुसमुकुस छ । आफ्नै आँफैले कपाल खौरिएर पीडाको खतै खत बाकेर हिँडेको छ सपनाको नगरिबाट ।
सुगन्ध
मान्छे सकारात्मक सोचले खुशी हुने रहेछ परिस्थिति जस्तो सुकैहोस् । मनस्थितिमा पो रहेछ त तागत, खुशी र रमाइलोको स्रोत । कथाको पात्र निक्कै मन पर्यो । जीवन कति लामो बाँच्ने भन्दा पनि कसरी बाँच्ने भन्ने कुरा महत्त्वपूर्ण रहेको मर्मलाई कथाकारले कथामार्फत स्पष्ट देखाएका छन् ।
मिल्खु
सशस्त्र द्वन्द्वकालको कहालीलाग्दो समयमा पाठकहरूलाई पुर्याउन यो कथा सफल छ । सैनिक पक्षबाट भएको अन्याय र अत्याचार, त्यो मानवता विरोधी जघन्य अपराधहरूको इतिहासलाई ज्ञवालीले पुनः ताजा पारिदिएका छन् ।
काकबन्ध्या
साँच्चै कथाकारले भने झैँ । आजको समयमा पनि महिलाहरू काकबन्ध्याको आरोपबाट मुक्त छन् त ? महिलाहरूमाथि हुने मानसिक हिंसा, परिवार र समाजबाट हुने विभेद आज पनि पूर्ण रूपमा निर्मूल भएको छ त ? अभाव, दबाब र प्रभावबाट आजका नारी पूर्ण रूपमा स्वतन्त्र छन् त ? पाठकहरूलाई ठूलै गृहकार्य दिएका छन् कथाकारले । विषय पुरानै भएपनि कथा पस्कने शैली उम्दा लाग्यो ।
परस्युइट अफ ह्यापिनेस
अमेरिकी भुमिमा खशी र आनन्द खोज्न भौतारिएका जोडीको कथा छ । जो दुधे नानीलाई नेपाल पठाउन विवश छन् । परबाट देखेको अमेरिका र नजिकबाट भोगेको अमेरिकामा धेरै फरक हुने रहेछ । जागिरको सुनिश्चितता हुन नसक्दा भोग्नुपर्ने मानसिक तनाव, घर, गाडी ऋृण आदिबाट उत्पन्न समस्याहरूलाई बडो सुन्दर ढंगले स्वैरकल्पनाको धरातलमा टेकेर कथानक बुनेका छन् ।
बेजुबान
यो कथामा बाहिरी मुलुकबाट गएका आप्रवासीहरूको कथा, व्यथा र मनोविज्ञान छ । अमेरिकी जीवनको तीतोसत्यलाई मीठो तरिका प्रस्तुत गरिको बेजोडको बिषय छ ।
गल्ती खोज्न थाले चन्द्रमामा त दाग देखिन्छ भने सामान्य पाठको सकारात्मक दृष्टिबाट हेर्दा सबै कथालाई एउटै तुलामा तौलने हो भने एक से बढकर एक कथाहरू रहेछन् । पद्मश्रीको न्यानो स्पर्शले त्यसै छोएको होइन रहेछ अर्को भोरलाई ।