जीवन देवान गाउँले
नेपालीमा एउटा उखान छ –‘एक काम दुई पन्थ !’ उखान आफैमा सिदान्त हैनन्, हाम्रा ब्यबहार हुन ।
ठ्याक्कै त्यस्तो त हैन तर देख्दा उखाने अर्थ लाग्ने गरि मलेसियामा एउटा महत्वपूर्ण पुस्तकको विमोचन गरियो । यसलाई यसरी भनौ –फोनिज मलेसिया शाखाको पहिलो अधिवेशन अन्तरगत रहेर पुस्तकको विमोचन गरियो । फलत उक्त पुस्तकको हुनु पर्ने जति चर्चा हुन सकेन । स्वभाविक हो, पुस्तक विमोचन सहायक कार्यक्रम थियो र प्राथमिकतामा पनि सहायक नै बन्न पुग्यो । जुन महत्वपूर्ण पुस्तकको नाम हो –मलेसियामा नेपाली साहित्य ।
मलेसियामा नेपाली साहितय नामक पुस्तक सार्वजानिक भैसकेको परिप्रेक्षमा मलेसियाको धरातल सँग लेखकको सम्बन्ध केलाउनु सान्दर्भिक होला । र, यसो गरिएको खण्डमा पुस्तकको लेखकिय धरातल उजागर हुन्छ कि !
उसो भए मलेसियामा नेपाली साहित्य पुस्तकका लेखक को हुन ? र, लेखकिय धरातल के हो ? –सतही रुपमा प्रस्तुत गरि हेरौ ।
एकताका मलेसियामा खुवै सोधिखोजि गरिने नाम र ब्यक्ति थिए –देवेन्द्र सुर्केली । सामाजिक कार्य या सामाजिक संगठन निर्माणमा होस्, साहित्य लेखनमा होस् या साहित्यिक संगठन निर्माणमा होस्, सक्रिय पत्रकारितामा या पत्रकार संगठन निर्माणमा होस् –यो नाम सबैको रोजाई र खोजाईमा पर्दथ्यो । फलस्वरुपः साहित्यिक संस्था अनेसास मलेसिया (तत्कालिन प्रवासी नेपाली साहित्य समाज), पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ मलेसिया शाखा, आप्रवासी नेपालीहरूको संस्था एनआरएन मलेसिया, जातीय संस्था किरात याक्थुङ चुम्लुङ मलेसियालगायत संस्थाहरूको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्ने मौका पाए –सुर्केलीले । यो छवि उनले छोटो अवधीमै अर्जेका हुन ।
सन् २००६ को अन्त्यतिर प्रवेश गर्दै गर्दा देवेन्द्र सुर्केली पनि आम नेपालीसरह पैसा कमाउने आशयका साथ मलेसिया आगमन भएको बुझ्न सकिन्छ । तर, आशय एउटै भए पनि उनको आगमनको प्रकृति आम नेपालीको भन्दा फरक रहयो । अर्थात वर्कर्स भिसामा नभएर स्टुडेण्ट भिसामा भित्रिए । उनले स्टुडेण्ड भिसामा भित्रिने आईडिया सहोदर दाजुबाट पाएका रहेछन् । त्यसो र, मलेसियाका लागि अन्तराष्ट्रिय विद्यार्थी ठहरिए –सुर्केली ।
यदी विदेशीनेहरूको लहैलहैमा लागेर कुनै एजेण्टको आईडियामा फसेको भए सम्भवतः सुर्केली भित्रको प्रतिभा कुनै कम्पनीको मेसिनमा काटिईने थियो । जसरी लाखौ नेपालीका सपना काटिएका छन् । त्यसो त कोरियन रेष्टुरेन्टमा काम गर्दै गरेका दाईबाट ‘जसरी हुन्छ पैसा कमाउनु पर्छ’ भन्ने मनोवैज्ञानिक दवाव मात्रै पाएका भए पनि सुर्केली भित्रको प्रतिभा किम्चीको स्वादमा ढालिएर अमिलिने थियो । उसै पनि रेष्टुरेन्टमा काम गर्ने आशय दाईलाई ब्यक्त गरिसकेका थिएछन, सुर्केलीले ।
धन्न ! दाईले उनको पहिचान गरिदिए,– तेरो प्रकृति काम गर्ने खालको हैन । तेरो फिल्ड नेपाली बजार हो’ भनेर बाटो देखाई दिनु एउटा कुरा होला ! तर कोतारायाको हुलमुलमा नौतुन भाईलाई लगेर हुलिदिनु त्यो बेलाको समयमा जोखिम मोल्नु बराबर नै हो । किनभने, ‘नयाँ मान्छेलाई कोतारायको माहौलमा लगेर छाडिदिने हो भने कि त्यो बेचिएर हराउछ कि त मान्छे बेच्ने भएर निस्किन्छ’ भन्ने कथन जो गरिन्थ्यो । सत्य घट्नामा आधारित हल्ला त के पनि थियो भने रेलको टायरमा हावा भर्ने काम लगाई दिन्छु भनेर समेत ठग्ने र ठगिने हुन्छ । यस्तो माहौलमा पनि जुन भरोसाले भाई माथि एउटा दाईले जोखिम मोले त्यही जोखिमको परिणाम नेपाली बजारमा सबैको नजरमा पर्ने व्यक्ति, प्रत्येकको मुखबाट लिईने नाम भयो –देवेन्द्र सुर्केली ।
देवेन्द्र सुर्केली कामै गरेर खाने प्रकृतिका जसरी हैनन, उसैगरि बेच्ने र बेचिने प्रकृतिका पनि हैनन । यहि स्वभावका कारण नेपाली बजारमा आफ्नो छवि बनाई छाडे । यसरी छवि बनाउन सक्नुको पछाडी उनले नेपालबाटै लिएर आएका तत्तत् विशेषताहरू हुन । भनौ न, उनी राजनीतिक सुझबुझ पोख्त थिए (भलै पार्टीगत राजनीति गरेनन्), कलमको निवमा कौशलता उनेर आफ्नो पेराफेरिमा घुमाउन सक्ने कला उनमा थियो, डिजिटल युगमा प्रवेश गर्दै गरेकाहरूलाई रंगिन बनाई दिने प्रविधिक ज्ञान उनले ल्याएका थिए । यिनै विशेषताले उनलाई नेपाली बजारमा विशेष बनायो ।
मलेसियाको नेपाली समाजमा सुर्केली यति विशेष थिए कि ! सामाजिक संस्था गठन गर्नु पर्यो –सुर्केली, पत्रकारको संस्था गठन गर्नु पर्यो –सुर्केली, कार्यक्रमको ब्यानर डिजाईन गर्नु पर्यो –सुर्केली, पुस्तक पत्रपत्रिका डिजाईन गर्नु पर्यो –सुर्केली । साहित्यको लागि त मूलधारसँग जोड्ने सेतु नै हुन –सुर्केली । कारण, लेख–रचना प्रकाशन गर्नु पर्यो –सुर्केली, पुस्तक सम्पादन गर्नु पर्यो –सुर्केली, मुलधारका कुनै साहित्यकार वा संस्थासँग समन्वय गर्नुपर्यो –सुर्केली । त्यतिमात्रै हैन, मलेसियाको नेपाली साहित्यको बारेमा बुझ्नु पर्यो –सुर्केली, मलेसियाको पत्र–पत्रिका एवं संञ्चार सम्बन्धी बुझ्नु पर्यो –सुर्केली, मलेसियाका नेपाली समाज र संस्थाका बारेमा जानकारी लिनु पर्यो –सुर्केली ।
यति हुदाहुदै पनि सुर्केलीको खास विशेषता हो –लेख्नु, लेख्नु र फेरि पनि लेख्नु ! र, यहि विशेषताको एउटा स्वरुप हो –मलेसियामा नेपाली साहित्य ।
लेख्नु, लेख्नु र फेरि पनि लेख्नु ! विशेषताका सुर्केलीले ‘मलेसियामा नेपाली साहित्य’ पुस्तकमा के लेखेका छन त ? –जिज्ञासामाथिको थोरै चर्चाः–
विषयसूचिमै पुस्तकभित्रका गुदी बर्गिकृत गरिएको छ र क्रमाङ्कसहित १. पृष्ठभूमि २. विधागत ३. साहित्यिक संस्था ४. मलेसियाबाट नेपाली साहित्यको लागि नयाँ विधा ५. साहित्यिक कृति सूचि ६. शब्दसूचि पूस्तकको प्रकाशन ७. साहित्यिक पत्रिकाहरूको सूचि ८. सक्रिय साहित्यकारहरूको सूचि ९. मलेसियामा नेपाली पुस्तकालय १०. सन्दर्भ ग्रन्थसूचि छ । यसरी उल्लेख गरिएको गुदी कोट्याउदाः–
पृष्ठभूमि भन्नाले,
–मलेसियामा नेपालीहरूको प्रवेश, प्रवेशको प्रकृति, प्रवेश भएका गराईएका उद्देश्य, बसोबासको स्थिति (अस्थाई स्थाई), नेपाली मुलका मलेसियन नागरिकको अवस्था अनि पछिल्लो कालमा वैदेशिक रोजगारका लागि प्रवेश भएका नेपालीहरूको अवस्था उल्लेख छ ।
–सन् १९४९ तिरै मलेसियाको केडिएन दर्तासमेत भएर प्रकाशन गरिएको पत्रिका ‘पर्वते’देखि लिएर सन् २००४ मा प्रकाशित ‘मितेरी’ सम्मलाई समावेश गरि साहित्यिक कालखण्ड छुट्याईएको छ । आध्येयता पुरण राईको पुस्तक उद्घृद गर्दै सन् १९४८ देखि यतालाई उत्तरकाल, भारत स्वतन्त्र हुनुअगाडिको समयलाई पूर्वकाल भनेर छुट्याएको उल्लेख छ ।
–सन् २००२ देखि मलेसियामा नेपाली व्यावसायको सुरुवात भएसँगै व्यावसायसँग जोडिएको प्रसंङ्ग उल्लेख छ ।
विधागत भन्नाले,
–विभिन्न विधामा कलम चलाउने श्रृष्टा, सर्जकहरूले प्रकाशन गरेको कविता संग्रह, कथा संग्रह, गजल संग्रह, मुक्तक संग्रह, लघुकथा संग्रह, उपन्यास, नाटक, संस्मरण, निबन्ध हरूको प्रकाशन मिति सहित उल्लेख छ ।
–गीतको सन्दर्भमा मलाया हुदा कै समयबोध हुने गरि लेखिएको गीत देखि मलेसियालाई उजागर गरिएको गीतसम्म र मलेसियामै रेकर्ड गरिएका गीतहरूदेखि व्याण्डको स्थापना सम्मको चर्चा उल्लेख छ ।
साहित्यिक संस्था भन्नाले,
–प्रवासी नेपाली साहित्यिक मञ्च, अन्तराष्ट्रिय नेपाली समाज, अनाममण्डली, प्रवासी नयन साहित्य समाज, नेपाली साहित्य समाज, उदाउँदो तारा साहित्य समाज, विश्व नेपाली साहित्य महासंघ, साहित्यिक चौतारी नेपाल, नेपाल मुक्तक प्रतिष्ठान, लघुकथा समाज, प्रगतिशिल साहित्य समाजको विस्तृत विवरण र तिनले गरेका गतिविधि उल्लेख छ ।
मलेसियाबाट नेपाली साहित्यको लागि नयाँ विधा भन्नाले,
–केस्रा र तप्कनाको बारेमा उल्लेख छ ।
साहित्यिक कृति सूचि भन्नाले,
–सन् २००४ मा प्रकाशित मितेरी (साहित्य संगालो)देखि लिएर वि.सं.२०७४ मा प्रकाशित चन्द्री मोक्तान खुशीको गजल संग्रहसम्मका पुस्तककृतिहरूको सुचिक्रित छ । जसमा, ७० वटा पुस्तकको लिष्ट सुचित छ ।
शब्दसूचि पूस्तकको प्रकाशन भन्नाले,
–मलेसियन भाषा सिक्ने र बोल्न सिकाउने उदेश्यले प्रकाशित १० पुस्तकको विवरण उल्लेख छ ।
साहित्यिक पत्रिकाहरूको सूचि भन्नाले,
–सन् १९४९ मा प्रकाशित पर्वतेदेखि लिएर पछिल्लो समय सन् २०१७ मा प्रकाशित साहित्य चौतारीसम्मका साहित्य केन्द्रित पत्रिकाहरू उल्लेख छ । जसमा ४० साहित्यिक पत्रिकालाई सुचित गरिएको छ ।
–समाचारमुलक पत्रपत्रिका भनेर वहुचर्चामा रहेको श्रम साप्ताहिकदेखि निशूल्क वितरणका उदेश्यले प्रकाशित हाम्रो आवाजसम्मका पत्रपत्रिकालाई सुचित गरिएको छ । प्रकाशन सुरुवात मिति साथै प्रकाशक र सम्पादक समेतको नाम लिष्ट समेत उपलब्ध छ । यसका अलवा अनलाइन तथा ब्लगहरूलाई पनि सूचित गरिएको छ ।
सक्रिय साहित्यकारहरूको सूचि भन्नाले,
–मलेसियामा रहेर कलम चलाउनु हुने सर्जकदेखि श्रष्टासम्मका लेखकहरूको विवरण उल्लेख गरिएको छ । जसमा करिव २०० जना लेखकलाई विवरण सहित समेटिएको छ ।
मलेसियामा नेपाली पुस्तकालय भन्नाले,
–मलेसियामा पुस्तकालयको नाम दिएर अस्थायी रुपमा संञ्चालन गरिएका पुस्तक संकलन केन्द्रलाई उल्लेख गरिएको छ । त्यसरी संञ्चालन गरिएका ३ वटा पुस्तकालय उल्लेख छ ।
सन्दर्भ ग्रन्थसूचि भन्नाले,
–पुस्तक तयार गर्दा लिईएका श्रोतलाई ईमान्दारीताका साथ उल्लेख छ ।
उसोर, गुदी कोट्याई सकेपछि चाखेर पाईने स्वादलाई एक शब्दमा भन्दा साहित्यको समालोचना भन्दा सर्जक संकलित पुस्तक हो –मलेसियामा नेपाली साहित्य ।
मैले चिनेको लेखकको बारेमा एक पटक फेरि,
लेखक अर्थात देवेन्द्र सुर्केलीलाई मलेसिया प्रवेश भएदेखि नै चिन्दछु । हाम्रो चिनापर्ची भएको पनि मलेसिया मै हो । उनको मलेसिया प्रवेश बहाना, उद्देश्य र लक्ष्य तीन प्रकृतिबाट भएको म बुझ्दछु । पहिलोपटक पढ्ने बहानामा आउदा म मलेसिया मै थिए । दोश्रो पटक कुनै एक कम्पनी अन्तरगत काम गर्ने उदेश्यले आउदा पनि म मलेसिया मै थिए । र, तेश्रो पटक फोनिज मलेसियाको अधिवेशनका लागि पुस्तक विमोचनको लक्ष्य लिएर आउदा पनि म मलेसिया मै थिए । यसोर सुर्केलीको मलेसिया बसाईलाई नीजि संगतले नजिकबाट चिन्छु भन्ने लाग्दछ । यद्दपी, म भ्रममा पनि भएको हुन सक्दछु ।
मैले जाने अनुसार,
–पढ्ने बाहानामा मलेसिया बस्दा सुर्केलीको बसाईको केन्द्र क्वालालम्पुर हो । बसाईको हिसावले स्टुडेण्ट तर उनले खर्चेको ज्यादातर समय आफ्नो पढाईमा भन्दा पनि नेपाली समाजको लागि हो । त्यसमा पनि उनले खर्चेको समय भनेको नेपाली साहित्य र पत्रकारितामा नै हो । पत्रकारितामा त झन पूर्णकालिन पत्रकार कै भूमिकामा रहे । लगभग चारपाँच बर्षे बसाईमा उनले स्वलेखनलाई मात्र सक्रिय राखेनन् बल्की धेरै ब्यक्तिहरूको अभिव्यक्तिमार्फत ब्यक्तित्व मुखरित गरिदिए । यो विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नु भएकाहरूको हकमा उनले गरेको महत्वपूर्ण योगदान हो ।
–दोश्रो पटक मलेसिया आउदा सुर्केलीको उद्देश्य स्पष्ट थियो । अर्थात कुनै कम्पनीअन्तर्गत रहेर काम गर्ने र केही कमाई गर्ने । तर, उनको उद्देश्यलाई पहिलो पटक बस्दाको प्रभावले यति असर गर्यो कि नचाहदा नचाहदै पनि उद्देश्य विचलित भयो । नेपाली समाजले उनको भूमिका पहिलो पटक बस्दाकै खोजेपछि उनले समाज, साहित्य र पत्रकारीतामा सक्रिय नभई धरै पाएनन् । यो पटक उदेश्य र कर्म विचको प्रविधिक समस्याले गर्दा सुर्केलीको बसाई लामो हुन त सकेन तर जति समय बसे आफ्नो लागि भन्दा पनि नेपाली समाजको लागि भएरै बसे ।
–तेश्रो पटक सुर्केलीको मलेसिया प्रवेश एउटा लक्ष्यले भएको हो । मलेसियाबाट फर्किएर पनि उनको एउटै लक्ष्य थियो, मलेसियाको नेपाली साहित्य र सर्जकहरूको बारेमा पुस्तकको रुप दिने र सो पुस्तकको विमोचन मलेसियामा गर्ने । अन्ततः ‘मलेसियामा नेपाली साहित्य’ पुस्तक बोकेर विमोचनका लागि मलेसिया आए ।
र, पुस्तक प्रकाशनको बारेमा केहि थपः
नेपाल फर्किएर पनि मलेसियाको नेपाली साहित्यको बारेमा चिन्तित रहन्थे –सुर्केली । मलेसियामा रहदा सक्रिय लेखन गरिरहेका श्रृष्टा सर्जकहरूलाई मूलधारमा कसरी जोड्न सकिन्छ ? उपाय खोजिरहन्थे । नेपाल फर्किए पछि लेखन क्षेत्रबाट हराउने पो हुन कि ! भन्ने चिन्ता गरिरहन्थे । आफूले समय खर्चेर मलेसियामा आर्जन गरेका साहित्य र सर्जकहरूको चिन्तनमा घोत्लिरहन्थे । यसैको उपज हो –मलेसियामा नेपाली साहित्य । त्यसैले, यो पुस्तक, पुस्तक मात्र नभएर मलेसियामा रहदा लेखनमा समय खर्चेका श्रष्टा सर्जकहरूप्रति सुर्केलीको प्रेम पनि हो ।
यति हुदाहुदै पनि प्रकाशन प्रति दृष्टिगोचर गर्दा मलेसियाका हरेक सर्जकले आफूलाई प्रश्न गर्नु पर्छ कि भन्ने लाग्छ । हुनत प्रकाशक हुनुको आ–आफ्नै दुःख होला तर सम्पूर्ण रुपमा मलेसिया केन्द्रित पुस्तक प्रकाशित हुदैगर्दा प्रकाशक पनि मलेसियाको माटोसँग सम्बन्ध भएका नै भइदिए… भन्ने भावना आउदो रहेछ । भावना नै त हामी (मलेसियामा बसेर साहित्य र लेखनमा लागेका र थोरबहुत नीजि पुस्तक प्रकाशनको अनुभव भएका)लाई यति चिन्ता, चासो, प्रेम गर्नु हुने सुर्केलीप्रति थोरबहुत प्रकाशनमा सद्भाव देखाउन सकेको भए… भन्ने पनि आउने रहेछ । अझ भावुक भएर सोच्दा त, मलेसियाको नेपाली समाजसंग कुनै साईनो सम्बन्ध नभएकी हेन्स्लो बेलायत निवासी प्रभा खापुङको सदासायता नहुन्थ्यो भने सायदै हाम्रो हातमा हुन्थ्यो होला –मलेसियामा नेपाली साहित्य !
अफसोच भनौ, ’मलेसियामा नेपाली साहित्य’ पुस्तक हातमा हुदा पनि लेखकिय दुःखप्रति हामीले सद्भाव देखाउन सकेका छैनौ कि भन्ने भान दिन्छ छ । लेखकको मेहनतप्रति सद्भाव राख्न सकेनौ कि भन्ने आभास दिन्छ । लेखकको चिन्तनलाई बुझ्न सकेनौ कि भन्ने महसुस दिन्छ । तेसोभए, के हामीले पुस्तक हातमा पर्दैगर्दा पनि स्वार्थीचस्माको लेन्स फिट गरेर त हेरेनौ ? नत्र, हाम्रा लागि, हाम्रा हकमा, हाम्रा निम्ती लेखिएको उक्त पुस्तक हामी कति जनाको हातमा छ ? हातमा लिएका हामी कतिले उक्त पुस्तकको चर्चा गर्यौ ? सुर्केलीले लेखकिय दायित्व पुरा गर्दैगर्दा पुस्तकमा समेटिएका हामी कतिले सर्जकिय कर्तब्य पुरा गर्यौ ?
नीजि निश्कर्षः
मलेसियामा नेपाली साहित्य पुस्तक सिर्फ पुस्तक मात्र नभएर एक दस्तावेज पनि हो । यस कोणबाट हेर्दा जुन महत्वको साथ पुस्तकको मुल्याङकन हुनु पर्थ्यो, त्यति भएन । कारण अनेक दिन सकिएला, त्यसमा लेखक स्वयंमको स्वभाव पनि एक हो । किनभने, अहिलेको डिजिटल जमानाको प्रयोगलाई लेखक देवेन्द्र सुर्केलीले जति बुझेको अरु सायदै होलान् । तर, आफ्नो नाममा प्रकाशित पुस्तकको लागि बुझेजति प्रयोग गर्दैन । ‘मलेसियामा नेपाली साहित्य’ को हकमा पनि औपचारिकता बाहेक ज्यादा गरेनन् । उनको यहि स्वभावका परिणाम ओझेलमा परेको एउटा पुस्तक हो –मलेसियामा नेपाली साहित्य ।
पुनश्चः देवेन्द्र सुर्केली नाम र व्यक्तित्व माथि समालोचना गर्ने हैसियत ममा छैन, तैपनि उनको चित्तमा बसेको एक सर्जक हुँ भन्ने स्वदावीसहित यति लेख्ने सहास गरे । बाँकी समीक्षा गर्ने पाठक छदैे हुनुहुन्छ ।