कवि: शकुन आँसु
तित्तो हुँदोरहेछ
अभावको स्वाद
अरुले नै तयार गरिदिएको
गुलियो क्याटबरि जिन्दगी
परिस्थितिले आज
पिलाईदिँदैछ तित्तो बिष
नियाल्छु आफूलाई
भेट्टाउँदिन कतै
पुरै जीवन अरुसङ्गै बाँचेजस्तो
रहर सबै उतै रमाएजस्तो
बिर्सिरहेछु यतै कतै नजिककै कुरा
र समाहित छु केवल थाकेँ नभनि चल्ने मेसिनसङ्ग
जस्ले तेलपिना दुईपट्टि छुट्याएर पेलिरहेछ मलाई
यो बर्षामा चुहुन नदिनु छ
घरभित्र झरी
आमाको टाटन बर्की
एकलट धुनु छ यै जाडोमा
आप्पाले फित्ते चप्पल कुपीमा जोड्दै लगाउनुभएको छ महिना नाघिसक्यो
छोरीहरु सुनाउँछन् घरको बेहाल खबरहरु
र सुनाउन त बाँकी नै छ
फि नतिरेको कारण परीक्षा छुटेका कुरुप मौसमहरु
एकजोर मात्र ड्रेस नसुकेर स्कुल नगएका रुञ्चे दिनहरु
र घरमा खाजा नपाकेको दिन
होमवर्क नै नगरि निदाईगएका निस्लट रातहरु
यो मरुभूमिमा कसरी थामिन्छ मन ?
बेपत्ता श्रीमान सम्झनाको तख्तामै टाँस्सिएका छन् अझै
छोरा नजन्मिनुको दोष थोपरेर
टाढिएका हुन्
सकिन म टाढिन, जसरी ऊ…
कि उनकै अनुहारका दुई छोरीहरु
आँखामा नाचिरहेछन् मेरा
मनभरि संवादहरुको भुँवरी चलाउनु छ
हातले मेसिन उसैगरी
तलवको लामो पर्खाई उस्तै
यता एक महिनाको तलवले
धान्दैन उता एकमहिना घर परिवार
दुःख पनि के भनौँ,
यो त दुःखहरु नै भक्कानिएर रोईरहने महादुःख हो
ता पनि
दुई छोरीलाई आँट भरिदिनु छ
हिम्मत अझै गर्नु छ
घरक्क मुलढोका खोलेर
अभाव छिरेपछि
जस्केलोबाट निस्केकी हुँ
पाइलाहरू आगन छिचोल्दै, समुन्द्र नाघ्दै
मरुभूमिमा टक्क अडिए
अफसोस्
सोचेको यहाँ भेटिएन
उल्टिएर कथा व्याथामा परिणत भयो
पर्देशमा बाँच्नु र घरदेशलाई बचाउनु
जतिको जोखिम जिन्दगी
डोरीमा झुण्डिएर दशौँ तलामा रङ दल्नु नहुन सक्छ
घरदेशको आशा र परदेशको निराशा
घोलेर पिउँदा पिउँदै
कुनदिन पुगिने हो अनन्त निन्द्रामा
त्यो त कसैले भन्नै सक्दैन
बस् यतिबेला
आफू जीवित हुनुको विज्ञप्ति निकालिरहेछु ।
खोटाङ,हाल कोरिया