April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लघुकथा: साउने ब्रत

2K

आचार्य प्रभा

“बल्ल साउनको ब्रत सकियो आज । ढुक्क भएँ अब ।” रंजिताले ठुलो सास फेर्दै भनी ।
मैले पनि व्यंग्यभावले सोधें ।–“केका लागि ब्रत लिएकी त ! त्यस्तो सास्ती खपी खपी ?”
–“के भन्छेस् र प्रभा ! मेरो बुढो दिनदिनै दुब्लाएर हेरी नसक्नु भई सके । अलिक गन्गने र रिसाहा पनि भका छन् अचेल । त्यही भएर बुढोको सुस्वास्थ्यको लागि र घरको शान्तिको लागि ब्रत बसेकी नि! साउनभरी ।”
मैले फेरि सोधें ।–“खाना कतिको खानु हुन्छ नि ?”
–“खानु र सुत्नु त पाईन्जेलसम्म जति पनि रूच्ने र सुत्ने नि । ब्रतको कारण घरमा माछा, मासु, अदुवा, लसुन सबबन्द छ । वहाँ मिठासे पर्नु भो फेरि । म पनि पूजापाठमा ब्यस्त हुन्छु । धेरजसो आफैले पकाउँनु पर्दा रिसाउँनु हुन्छ । त्यही पनि मिठो पकाउँन जान्नु हुन्न अनि आधा पेट खाएर गन्गनिंदै उठ्नु हुन्छ ।”
मैले फेरि अर्कै घुमाउरो प्रश्न तेर्स्याएँ ।–“तिमी कतिको टिकटकमा व्यस्त छौ अचेल ?”
उस्ले अचम्भित बन्दै सोधी ।–“अचानक
यो टिकटकको कुरा कहाँबाट आयो नि ?” मैले अर्थ्याउँदै भनें ।–“तिम्रो बुढो दुब्लाउँनु, वहाँ ज्यादा रिसाउँनु, घरमा अशान्ति हुनुमा घरको मान्छेको दिनचर्या र जीवनशैलीमा पनि भर पर्छ ।”
उस्ले हाँस्दै सोधी ।–“कसरी हौ? घरमा अशान्ति हुनु र वहाँ दुब्लाउँनुमा ब्रत, टिकटकसँग कस्तो कनेक्सन छ र ?”
मैले जवाफमा भनें ।–“एक तिम्रो महिनाभरीको ब्रत, न मिठोमसिनो, पोसिलो खाना खान पाउँनु छ, न बुढियाको हातको खानु छ । तिमी उता टिकटकमा व्यस्त भईदिन्छौ अनि वहाँलाई चिड्चिडाहट् हुन्छ । खाना रूच्दैन । घरमा अशान्ति त्यसै हुने भो नि ! अनि श्रीमानको जीउ कसरी लागोस् त !
छाडी देऊ यी तीर्थब्रत । घरमा स्वास्नी मान्छे भएजस्तो महशुस हुन देऊ । आफ्नो हातले परिवारलाई पकाएरअलिक पोसिलो खाना खान देऊ । आफ्नो जीवनशैली परिवर्तन गर।घरमा शान्ति पनि भित्रिन्छ, तिम्रो श्रीमानको मुहारमा खुसी छाएर जीउ पनि लाग्छ । ब्रत बसेर घरमा शान्ति होईन, अशान्ति भित्रिएको हो । परिवारमा एकार्कामा समझ्दारी भएमा मात्र सबै कुराको सन्तुलन हुन्छ ।” मैले यती भन्दाभन्दै उस्को श्रीमान फुगं अनुहारपार्दै हातमा भाँडा बोकेर चुल्होतिर लाग्दै थिए ।

Advertisement