April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पुस्तक समिक्षा: जब “बाबाको माया” शीर्षकको कथा पढ्न थालेँ, मस्तिष्क शून्य भयो

9.9K

अनिता कोइराला

ऐना कथा सङ्ग्रहका लागि मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको भर्खरै बजारमा आएको आख्यान हो “बाआमा” । पुस्तकभित्र बाआमाका कथा, व्यथा, सम्बन्ध र बदलिँदो नेपाली समाजको यथार्थ चित्रण छ । बाआमाकै सेरोफेरोमा कथाहरू बुनिएकोले शीर्षक उपयुक्त लाग्या । कवितात्मक शैलीमा शीर्षकहरूको प्रस्तुतिले बाआमालाई अझ चिटिक्क पारेको छ । कथाहरू एकआपसमा जोडिएका छन्, त्यसैले एउटै आख्यानबाट कथा र उपन्यास दुबैको स्वाद पाठकहरूले लिन सक्छन् ।

लोकार्पणकै दिन बाआमासँग घर आएको थिएँ । सोही दिन वक्ताहरूको मुखबाट बाआमा भित्रको व्यथा सुन्दै गर्दा हतारिएको थिएँ बाआमासँग कुरा गर्न । अझ सगुना शाहको मन्तव्य सुनेर कार्यक्रम स्थलमै आँखामा भेल उर्लेको थियो ।

Advertisement

बाह्रवटा कथाका माध्यमबाट द्वन्दले निम्त्याएको परिवेशमा बालमनोबिज्ञान, एकल आमाको संघर्ष र पीडा, सामाजिक कुरीती र अन्धविश्वास, महिला हिंसा, लाञ्छना, धोका, वाध्यता र बिदेश पलायनले निम्त्याएको नवीन सामाजिक समस्याहरूलाई अघिल्लो पुस्ताका बाआमादेखि पछिल्लो पुस्तासम्मका बाआमाहरूको कथालाई निकै रोचक ढंगले प्रस्तुत गरिएको छ ।

“बाबाको माया” शीर्षकको कथा जब पढ्न थालेँ, मस्तिष्क शून्य भयो । हातमा पसिना छुट्यो । मुटु जोडजोडले हल्लिन थाल्यो । अतितमा नराम्रोसँग डुब्न पुगेँ । कथाका पात्रहरूमा आफूलाई छर्लङ्ग देख्न थालेँ । एउटै कथाले दुई दिनसम्म मस्तिष्क हल्लायो । जोशीको कलमले हाम्रै कथा, हाम्रै व्यथा र हाम्रै भावना बोलिरहेको अनुभूति भयो ।
प्रत्येक अक्षरहरूमा वेदना छ, सत्यता छ, समाज छ, यथार्थ छ । अनि ठिङ्ग उभिको छ एउटा कहालीलाग्दो समय । पिताको अभावमा एउटा अवोध बालकको मनोबिज्ञानलाई टपक्क टिपेर अक्षरहरूको दृश्यले कथालाई सचित्र बनाएर आँसु पुछ्न बाध्यपारेको छ पाठहरूलाई ।

‘मेरो जीन्दगीमा हजार सुर्य एकै साथ उदाएका थिए । मेरो चन्द्रमा दाहिने भएर मुस्कुराएका थिए । बाबा नहुँदा कोही नभएको टुहुरो जस्तो देखिने म, बाबा पाएपछी संसारको सर्वजिता सिकन्दर भइगएको थिएँ ।’ (पेज १०)

आँगनमा हातखुट्टा बाँधेर आफ्नै आँखा अगाडि पिता र पतिलाई जिउँदै जलाउँदा कतिसम्म पीडा भयो होला ? कसले मापन गर्न सक्छ ? कल्पना भन्दा निकै गहिरो र फराकिलो हुन्छ वास्तविकता, जो कोहीले त्यो गहिराइ नाप्न सक्दैन ।

“आमाको काख” शीर्षकमा आमाका संघर्षका कथा र ब्यथा, प्रेम, दया, माया र क्षमालाई अति नै मीठो शब्दहरूको संयोजनले सुन्दर पारेको छ । ‘आमाको अतिशय कारूणिक अवस्था देखेर पागल हुन थालेको थिएँ । त्यसैले यो कामना गर्न म विवश थिएँ, अब त आमा गइदिए पनि हुन्थ्यो ।’ (पेज ४६)
कस्तो परिस्थिति र अवस्था सृजना भयो होला ? आमालाई असीम प्रेम गर्ने छोराले यस्तो भाव व्यक्त गर्न विवस हुनुप¥यो ।

“दाजीको दुःख” शीर्षकको कथा उस्तै दमदार छ । सबै थोक भएर पनि माया बिना मान्छे कति दुखी हुन्छ भन्ने कुरा कथाले बक्छ । बाको सपना साकार पार्न आफ्नो ईच्छा मार्ने सन्तान, पतिलाई धोका दिएर सडकमा पु¥याउने नारीको सेरोफेरोमा कथा बुनिएको छ ।
जोशी लेख्छन् ‘प्रत्येक मान्छेलाई अर्काको कुरा कथा लाग्छन्, आफ्ना कुरा ब्यथा’ (पेज ५६)
लेखकको कलमले शाश्वत कुरा बोलेको आभाष हुन्छ । भाषा शैली उत्कृष्ट छ । प्रस्तुति बेजोडको छ । संवाद, बिम्ब र प्रतिक उस्तै गहकिला छन् । जुन यो कृतिको सबल पक्ष हो । कथाहरू पढिरहंँदा समय बितेको पत्तै पाइदैन । पाठकलाई पुस्तकले तानिरहनु कृतिको मजबुत पाटो हो ।

“बौजूको बात”– नारी पात्रले भोग्नु परेको सामाजिक यन्त्रणाको तितो सत्य छ ।
‘रोइरहेको साउन जस्ती भएर जिन्दगीका कालीरात काटेँ । जब उज्यालो देख्ने बेला आयो, आफ्नै सूर्यले पोल्न थाल्यो । जब बैँसका पसिना रित्तिए, तब आफ्नै रामबाट यो लान्छना ? यो निच आरोप र अपमान ?’ (८८) कथा पढ्दै जाँदा निकै भावुक भएँ ।

“लेखिएको कथा” मा संघर्षको कथा छ । कर्तव्यको व्यथा छ । उत्तरदायीत्वको रस्साकस्सी छ । सन्तानप्रति बाआमाको अपार स्नेह र मायाको विराटतालाई कथालाई शिखरमा पु¥याएको छ ।

“नलेखिएको बयान” पढ्दा पुस्तकबाटै चलचित्र हेरेको आभाष हुन्छ । अब्बल कथा र प्रस्तुति । मथिङ्गल हल्लाउँने यथार्थ ।
‘संसार आरोप र लान्छनाले चल्दैन, सहनशीलता र सहिष्णुताले चल्छ । समयले तर्क र बहस मात्र माग्दैन, मौन आराधना पनि माग्छ । विराट प्रकृति मौन आराधनामै चलेको छ । संसार नियम र कानुनले मात्र बाँधिएको हुँदैन, महाशय, प्रेम र करुणाले पनि बाँधिएको हुन्छ । विधि र विधानले मात्र जिन्दगी चल्दैन, मन र मुटुले पनि चल्छ । मन र मुटुको भाषा कानुनमा राख्न सके संसार यसरी चल्ने थिएन, अर्कै भइजाने थियो ।’ (१२५)

“भेटिएकी देवी” कथामा सामाजिक बिसङ्गतीको कुरूप अनुहार पढ्न सकिन्छ ।
‘मैले त जिन्दगी कहाँ जिएँ र । नर्क जिएँ, नर्क । नर्कबाट आएको मान्छे यस्तै त हुन्छ नि साहेब ।तिमी जस्तो हुन त मैले फेरि जन्मनुपर्छ । त्यो पनि केटा मान्छे भएर । देउतालाई चढेको फूल बोटको जस्तो कहाँ हुन्छ र ! दुई दिनमा झुम्री जान्छ ।” उफ् ! उसका कुराले साँच्चै म पनि रन्थनिएँ । (१३५)

“छाडिएका भगवान” बढो मार्मिक छ । सन्तानले छोडेर हिँंडेपछि ढल्न लागेका रुखहरूको उराठलाग्दो कथा छ । बदलिँदो नेपाली समाजको दारूण अवस्थालाई कथामा निकै राम्रोसँग देखाइएको छ ।

“साथीको सम्झना” बाआमाको अभावमा छोराछोरीले भोग्नु परेको भीषण संघर्षलाई मार्मिक र कारुणिक भावहरूले कथालाई वास्तविक पारेको छ ।

“गुरुको साथ” शीर्षक कथा अझ उम्दा छ । एक असल गुरुले असल विद्यार्थी कसरी पहिचान गर्न सक्छन् ? शिष्यको अपार क्षमतालाई प्रस्फुटन गर्न शिक्षकले स्वयंले कस्तो कठिन परिस्थितिमा उभिनुपर्छ भन्ने कुरालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । गुरुलाई माता र पितासँग तुलना गरिनुको तात्पर्यलाई कलात्मक ढंगले देखाइएको छ ।

“छोराको सपना” कथामा अभिभावकहरूले सन्तानहरूबाट देखेको सपना र छोराछोरीले भविस्यप्रति देखेको सपनालाई यथार्थको धरातल उभिएर आख्यानको ऐनबाट दुरूस्तै उतारेका छन् ।
‘उफ्!मलाई लाग्यो, सायद मैले आँखा देखिनँ । आधुनिक युगको छोरोलाई हेर्ने महान् आँखा कहाँ थिए र मसँग ! मसँग त एउटा सानो हृदय थियो। बस् हृदयमा छोरा नै छोरा थियो ।’ ( २०७)

“छोरीको रात” शीर्षक कथामा जीवनको वास्तविकलाई दर्शाउन खोजिएको छ । समयसँगसँगै हिंड्नुपर्ने सत्यलाई बोध गर्न जरुरी छ । उड्न तयार भएका पन्छीलाई गुँडमा रोकेर राख्न सम्भव हुँदैन यो बिज्ञानलाई बुझ्नै पर्छ नत्र जीवन मुर्छाउँछ ।

परन्तु, जिन्दगी एक सपना रहेछ,
आधी रातमा टुटिजान्छ ।
माया भन्नू क्षणभरको साथ रहेछ,
बीच बाटोमै छुटिजान्छ । (२२५)

अन्त्यमा समाज, सम्बन्ध, परिस्थिति र मनस्थितिका मार्मिक कथाहरूले बाआमालाई भरिपूर्ण पारेको छ । सबै कथाहरू अब्बल छन्, उत्कृष्ट छन् । यो कृतिले इतिहास रचोस् । रामलाल जोशी र प्रकाशक बुक हिल प्रा.लीलाई हार्दिक बधाई तथा शुभकामना ।