धनुषा । प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०७९ सम्पन्न भएको छ । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा संयुक्त रूपमा आयोजित प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ धनुषाको जनकपुरधाममा मंगलबार सम्पन्न भएको हो ।
गोष्ठीमा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले अपराधको नयाँ शैली आएको अवस्थामा सुरक्षा निकायले पनि नयाँ प्रविधियुक्त अनुसन्धान पद्धतिलाई अबलम्बन गरी अगाडि बढ्नुपर्ने बताए । बढ्दो साइबर क्राइम तथा सिमा क्षेत्रमा हुने लागूऔषधको कारोबारलाई पूर्णरूपमा निरुत्साहित पार्न अझै सक्रिय हुनुपर्ने उनले उल्लेख गरे ।
गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आसन्न निर्वाचनमा नेपाल सरकारले दिएको जिम्मेवारीलाई निष्पक्ष भयरहित तवरमा नागरिकको मतअधिकारको प्रयोग गर्न दिने वातावरण बनाउनु नै समस्त प्रहरी कर्मचारीहरूको एकमात्र उद्देश्य रहेको बताए । अपराधीलाई कानून बमोजिम सजाय दिलाउन र पीडितलाई न्याय दिलाउनको लागि फौजदारी न्याय प्रणालीका तीन वटा पिलर अनुसन्धान, अभियोजन र न्याय निरूपणबीच अत्यन्तै राम्रो समन्वय र समझदारी हुन आवश्यक रहेको उनले उल्लेख गरे । साथै उनले प्रविधिको विकाससँगै बढ्दै गएका आर्थिक अपराध, साइबर अपराध, बैंकिङ कसूर लगायतका अपराधहरूको न्यूनीकरणका लागि केन्द्रमा मात्र नभई यस्ता मुद्दाको निरूपणका लागि प्रदेशस्तरमा समेत अदालत तोकिनु पर्नेमा जोड दिए ।
गोष्ठीमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले प्रमाणमुखी अनुसन्धानको पद्धतिलाई अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै अपराध अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोगलाई पनि उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । साथै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति, प्रविधिको विकाससँगै यसको दुरुपयोग बढ्दै गएकोले यसको नियन्त्रणको लागि अपराध अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने चर्चा गरे ।
गोष्ठीमा प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले स्वागत मन्तव्य एवं कार्यक्रमबारे प्रकाश पारेका थिए भने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा मधेश प्रदेश गृह तथा सञ्चार मन्त्रालयका प्रदेश सचिव राम कुमार महतो र उच्च सरकारी वकिल कार्यालयका उप–न्यायाधिवक्ता विवेक कुमार बरालले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
मधेश प्रदेश अन्तर्गतका ८ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले अपराध अनुसन्धानको समग्र वस्तुस्थिति र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरुको विषयमा प्रस्तुतीकरण गरेको उक्त गोष्ठीमा अपराधको अवस्था, सुधारका उपायहरु, आपसी सहकार्य सम्बन्धमा साझा धारणा पहिल्याउने, संहिता कार्यान्वयनमा देखिएका समस्याहरु, साधन स्रोतको अवस्था लगायतका बिषयबस्तुहरूमा विस्तृत छलफल गरिएको थियो ।
उक्त अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, धनुषा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, नागरिक समाज र स्थानीय संचारकर्मी लगायत जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त समीक्षा गोष्ठी पश्चात प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल लगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबीच शान्ति सुरक्षामा समन्वय, सहकार्य र सहयोग
सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो ।




