–जुनू दिव्या राना
म कल्पिन्छु–
क्षितिजको परेलीमुनि
त्यतै कतै होला तिम्रो जन्मघर
जहाँ तिमीले
पृथ्वीमा पहिलो पटक आँखा खोल्यौ ।
तिम्रो जीवनको प्रथम बिहानी
त्यहीँ उदाएको थियो
जहाँ तिमीले
पहिलो पटक आवाज निकालेथ्यौ ।
तिम्रो प्रथम रात त्यहीँ थियो
जहाँ तिमीले
पहिलो पटक मातृत्व अनुभव गरेथ्यौ ।
जहाँ तिम्रा पाइला बामे सर्न थाल्दा
तोतेबोलीमा ‘आमा’ भन्न सिक्यौ
पहिलो पाइलासँगै
उकालो/ओरालो/समथर बाटोमा
बयली खेल्न सिक्यौ
र त्यहीँ नै सिक्यौ होला तिमीले
पहिलो पटक प्रेम गर्न
एउटी आमाको रूपमा ।
साक्षात सृष्टिप्रति प्रेम दर्शाउन
तिमीले त्यहीँ नै सिक्यौ होला
र घरि घरि कल्पनाहरूमा
कसैको प्रतिबिम्ब सल्बलाउन थालेथ्यो होला
हो, त्यही नै तिम्रो पहिलो प्रेमको आँकुरा थियो
र, तिम्रा स्वप्न–वृक्षका डालीहरूमा
त्यसै दिनदेखि फूलहरू फुलेका हुनुपर्छ ।
म यस्तै यस्तै कल्पिन्छु—
पारि सल्लेरी पाखाबाट
छङछङ गर्दै बेग मार्दै झर्ने खहरे
ती गैरीखेतका आलीभरि झुलेका
पहेँलपुर धानका बाला
टारबारी नै ढाकेका मकैका घोगा
आहा !
ती मनमोहक सृष्टिसँग
तिमीले साउती मार्यौ होला
ती औँलाहरूले सुस्तरी स्पर्श गर्यौ होला ।
जब तिम्रा रहरहरू
यौवनको गोरेटोमा हिँड्न थाले
तिम्रो पहिलो प्रेमको साक्षी
त्यतै कतै होला
सपनाको राजकुमारसँग
दाँजिएर तिमीले नियालेको क्षितिज
अहिले पनि उस्तै होला
म यस्तै यस्तै कल्पिन्छु ।
मिर्मिरेको प्रिय आभास
शीतको मुलायम स्पर्श
तिमीलाई पहिलो पटक्
अर्कै अर्कै महसुस भयो होला
म यस्तै यस्तै कल्पिछु ।
उफ् !
तिम्रोजस्तै मेरो पनि एउटा गाउँ थियो
स्वर्गजस्तो गाउँ
जहाँ संसारभरिका करुणाहरू
एकैचोटि आएर मेरा आँखाका नानीमा बसेथे ।
मेरी आमाले
आफूलाई डुबाएर पीडाको आहालमा
मलाई यस सुन्दर धरतीमा
तिम्रो प्रेमको नायिका बन्न
तिम्रै निम्ति मलाई जन्म दिएकी थिइन्
जसरी तिम्री आमाले मेरो निम्ति
तिमीलाई जन्माएकी थिइन्
म यस्तै यस्तै कल्पिन्छु….।