–जुनु दिव्या राना
खोस म सँग जे छ
जे–जे छ, हत्याउ सारा
लछारपछार पार मेरो कोमलता
र, मेरो अस्तित्व निमिट्यान्न पार्न सके पार
सक्छौ जति सक्दो बदनाम गर
कुल्चिएर जलाएर
राख पार्न सके पार
भोग मेरो देह
पोख आफ्ना उद्धेलित वासनाको रापहरू
धिक्कार्न सकेको जति धिक्कार
मेरो उपस्थितिलाई
यद्यपि
म अविचलित नै रहनेछु
म धर्ती हुँ
म माटोको अर्को रुप हुँ
म तिम्रा अतृप्तिको
तृप्ती हुँ
अर्को धर्ती बनेर
ब्रह्माण्ड आफ्नै गर्भमा समेट्न सक्ने
र अर्को ‘म’हरूको
अस्तित्वलाई निरन्तरता दिने मै हुँ
म भित्र बग्ने “रातोनदी”
म भित्र सल्किरहने
ज्वालामुखी
आफैभित्र समेट्ने म अर्को धर्ती हुँ
सक्छौ
बेच मेरो अस्तित्व थोकको भाउमा
अपमानित गर मेरो नाम
नभुल
म धर्ती हुँ
मेरो नागरिकता पृथ्वी हो
म वाहेकको पृथ्वी
अस्तित्वमा जो छैन ।