काठमाडौं । शिक्षा अभियन्ता भीमकुमार सेलिङ्को शिक्षा संस्मरण कृति “शिक्षामा चवालिस वर्ष” विमोचन भएको छ । उक्त संस्मरण बिहीबार यलखिम् ललितपुरमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ्को बाहुलीबाट विमोचन गरिएको हो ।
कृतिको विमोचन गर्दै राज्यमन्त्री खापुङले नेपालको हरेक परिवर्तनमा शिक्षकहरूको महत्वपूर्ण ऐतिहासिक भूमिका र योगदान रहेको चर्चा गरे । त्यस्तै लेखकको यस कृतिले पाँचथर ओयामको योगदानको ऐतिहासिक अभिलेख राखेको पनि बताए ।
कार्यक्रममा समीक्षात्मक टिप्पणी राख्दै युवा कवि स्वप्निल स्मृतिले सेलिङको सो आत्मसंस्मरण कुनै बनिबनाउ साहित्य नभइ यथार्थ भोगाइ र योगदानको सही अभिलेख भएको बताए ।
कृतिप्रति शुभकामना मन्तव्य राख्ने क्रममा रङ्गवादी साहित्यकार तथा याक्थुङ लेखक संघका सल्लाहकार धर्मेन्द्रविक्रम नेम्बाङले उक्त कृति शैक्षिक जगतको सबाल्र्टन आवाज र अभिलेख भएको बताए ।
त्यस्तै, आफ्नो विचार राख्दै मदन पुरस्कार विजेता तथा आदिवासी जनजाति लेखक महासंघका अध्यक्ष राजन मुकारुङले यस्तै सिमान्त क्षेत्र र पक्षका कृतिले मात्र नेपालको वास्तविक शैक्षिक इतिहास र अवस्थाको प्रतिविम्ब उत्तार्दै सही दिशानिर्देश समेत गर्ने दावी गरे ।
अर्का मदन पुरस्कार विजेता पूर्व प्र.जि.अ. भगिराज इङ्नामले यो कृति एक जीवन्त सुब्बा परिवारको कृति भएकाले यसले लिम्बु सुब्बाप्रथा र परिवारको यथार्थ चित्रण समेत गर्न सकेको बताए ।
कार्यक्रममा नेपाल प्रहरीका एसएसपी चन्द्रकुबेर खापुङ र पूर्वउपरथी होमकुमार लावतीले समेत शुभकामना मन्तव्य राखेका थिए ।
कृतिका प्रकाशक ओयाम सरोकार समाज, काठमाडौँको आयोजना र अध्यक्ष खिम सेलिङको सभाध्यक्षता तथा उपाध्यक्ष सर्मिला न्यौपानेको स्वागत मन्तव्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव विष्णु शंकरले गरेका थिए ।