काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को महाधिवेशनका लागि राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । लिङ्देनले बिहीबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
पार्टीको महाधिवेशन आउन एक साता बाँकी रहेका बेला अध्यक्षत्रय थापा, राणा र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
लिङ्देनले धवलशमशेर राणाको समर्थनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षत्रय थापा, जबरा र लोहनीले पार्टीलाई बन्धक बनाएको लिङ्देनको आरोप छ । उनले पार्टीभित्र देखिएका पार्टीको परम्परागत गुट अन्त्य गर्ने दाबी गरे ।
बिहीबार धवलशमशेर राणाको उम्मेदवारी घोषणा गर्ने बताइएको भएतापनि राणाको उम्मेदवारी घोषणा अहिलेका लागि रोकिएको छ । उनलाई कुन पदमा निर्वाचन गराउने, कुनमा मनोनीत गराउने भन्ने विषयलाई विधानले टुंगो लागिसकेपछि उपाध्यक्ष वा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने जनाइएको छ ।
घोषणा कार्यक्रममा बोल्दै राणाले पार्टीको जिम्मेवारी नयाँ अनुहारलाई दिन नसके अस्तित्व संकटमा पर्ने बताए । सोही कारण नेता लिङ्देनलाई अध्यक्षको रूपमा अघि सारेको उनको भनाइ छ ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए ।
लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् ।
पछिल्लो समय थापा, जबरा र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।