April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

युद्ध साहित्य पुरस्कार-२०७८ केदार संकेतको ‘अफगानी रणमैदान’लाई

२०७८ कार्तिक २५

5.1K

धरान, २५ कात्तिक । युद्ध साहित्य पुरस्कार कोषले केदार संकेतको युद्ध उपन्यास ‘अफगानी रणमैदान’लाई युद्ध साहित्य पुरस्कार २०७८ प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कार सन् २०२२ मा एक भव्य कार्यक्रमको आयोजना गरि प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रत्येक दुई बर्षमा प्रदान गरिने यस पुरस्कारको राशि रु. ५०,००० अक्षरेपि (पचास हजार रुपैयाँ) र ताम्रपत्र रहेको छ । दुई बर्ष भित्रमा प्रकाशित भएको युद्ध साहित्यको कृति वा युद्ध साहित्यको उन्नति, प्रगति, संक्षण र सम्बर्दनमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति या संस्थालाई प्रदान गरिने कोषले जनाएको छ ।

युद्ध साहित्य पुरस्कार पाउने केदार संकेत पहिलो लेखक हुन । उनका हालसम्म आफै जलेको देश (कविता संग्रह २०६४), एथेन्सको झरी (यात्रास्पर्श) २०६७), पैयुँका फुलहरू (हाइकु संग्रह २०६८), संकेतका कविताहरू (कविता सग्रह २०६८), अफिम फुल्ने देशमा (खण्डकाव्य २०७०), ताँ गो तेकेरे नुङ (कोइँच भाषाको कविता संग्रह २०७३) र बुद्धल्यान्ड टु स्विजरल्यान्ड (यात्रास्पर्श २०७५) कृतिहरू प्रकाशित छन् ।

Advertisement

सांग्रिला पुस्तक प्रालीद्धारा प्रकाशित ‘अफगानी रणमैदान’ युद्ध उपन्यासमा संकेतले सैनिक पेशामा आबद्ध हुँदादेखि वर्तमानसम्म आफूले देखेका र भोगेका युद्धका अनुभूतिहरूलाई पस्किएका छन् । अनेसास ठाकुरप्रसाद उत्कृष्ट कृति पुरस्कार (२०६८), जैमली साहित्य डायस्पोरा पुरस्कार (२०६९) लगायतका पुरस्कारद्वारा संकेत पुरस्कृत भइसकेका छन् । उनी ‘साहित्य सँगालो’वेभसाइटका प्रधान सम्पादक पनि हुन् ।

नेपाली युद्ध साहित्य सिद्धान्तको प्रतावना सन् २०११ मा पहिलो नेपाली युद्ध कविता संग्रह ‘युद्धमा हराएको प्रेम’ मार्फत गरिएको थियो । उक्त संग्रहमा नेपाली युद्ध साहित्यको परिभाषा सहित युद्ध साहित्यबारे संक्षिप्त व्याख्या गरिएको छ । यसपछि सन् २०१४ मा ‘युद्ध साहित्य सिद्धान्त र सृजनाहरू’ प्रकाशित गरि युद्ध साहित्यको थप विवेचना, व्याख्या र विमर्श गर्दै युद्ध साहित्य अभियानलाई अझ सशक्त बनाउदै ल्याएका छन् ।

११ नोभेम्बर (रिमेम्ब्रेन्स् डे अथवा पप्पी डे) को अवसर पारी युद्ध साहित्य सिद्धान्तका अभियन्तहरुले युद्ध साहित्य कोषको निर्माण गरी युद्ध साहित्य पुरस्कार प्रदान गर्ने र युद्ध साहित्यलाई अझ बिस्तार गरी लैजाने बताएका छन् ।

गोर्खाली लाहुरे अर्थात गोर्खाली सेनाका संघर्ष, वीरता, ईतिहास र विभिन्न अलिखित विषयहरुलाई लेखन मार्फत संर्वधन र संरक्षण गर्ने र समग्र युद्ध साहित्यलाई स्थापित गर्ने उदेश्य रहेको गणेश राईले बताए । यस अभियानका अभियान्तहरु गणेश राई, काङमाङ नरेश राई र अप्जसे कान्छा हुन् ।

नयाँअनलाइनबाट साभार