लण्डन । गैर-आवासीय नेपाली संघ, यूकेको अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरले अहिलेसम्म गरेका काम र आगामी योजना समेटिएको भिडियो सन्देश सार्वजनिक गरेका छन् ।
साढे दुई दशकदेखि बेलायतको लण्डन बस्दै आइरहेका गाहा मगरले यही ३१ जुलाईमा हुने एनसीसी यूकेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सन् २०१७ देखि लगातार दुई कार्यकाल उपाध्यक्ष भएर काम गरेका गाहा मगरले आफूले हालसम्म कामको विवरण र आगामी कार्यकालका लागि प्रतिबद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
गाहा मगरद्वारा जारी भिडियोमा उनको जन्मदेखि नेपालमा रहँदा गरेका काम, ब्रिटिश आर्मीमा प्रवेश, ब्रिटिशमा रहँदा भोगेको विभेद र त्यसविरुद्ध आफूले गरेको संघर्ष, सेवारत अवस्थामा नै एनआरएन अभियानमा सहभागिता, युवाहरुलाई एकत्रित गर्न आफूले गरेका काम समेटिएको छ । त्यस्तै, सन् २०१७–२०१९ को कार्यकालमा पहिलो पटक एनसीसी यूकेको उपाध्यक्ष निर्वाचित भएर गरेका काम र सन् २०१९–२०२१ कार्यकालमा गरेका कामको बिबरण समेटिएका छन् ।
गुल्मीको तम्घासमा जन्मेका गाहा मगर नेपालको राष्ट्रिय बक्सिङ खेलाडी पनि थिए । राष्ट्रिय बक्सिङ टिममा रहेकै बेला भर्ती भएपछि यूके आइपुगेका हुन् ।
नेपाली समाजको एकता, कला संस्कृतिको प्रवर्द्धन, भूतपूर्व गोर्खा सैनिकहरुले भोग्दै आएका विभेद अन्त्य लगायतका क्षेत्रमा निरन्तर क्रियाशील गाहा मगरले आगामी कार्यकालका लागि संस्थाको पारदर्शिता र सुदृढीकरण लगायतका सात बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘एनआरएनलाई सबैले विश्वास गर्ने संस्था बनाउने छु,’ उनले भने, ‘कुनै पनि नेपालीलाई समस्या पर्दा मेरो एनआरएन छ भन्ने भावनाको विकास गर्ने गरी संस्थालाई सबै सदस्यहरुको मन मस्तिष्कमा रहने बताउने छु ।’
गाहा मगरको विगत र आगामी कार्ययोजना बारे जानकारी पाउन यो लिंक क्लिक गर्नुहोस् :