April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कर्णाली सरकार विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन ओलीको निर्देशन

4.9K

काठमाडौं । कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले संसदीय दलका नेता एवं मूख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रधानमन्त्री ओलीले त्यसबाट पछि हट्न प्रदेश सांसदहरुलाई निर्देशन दिने भएका छन् । बालुवाटार निकट स्रोतका अनुसार कर्णालीको रोग अन्य प्रदेशमा पनि सर्ने संभावना बढेपछि ओलीले कर्णाली प्रदेशका सांसदलाई अविस्वासको प्रस्तावबाट पछि हटेर समस्या समाधान गर्न निर्देशन दिन लागेका हुन् । 

तस्वीर – फाइल

मंगलबार बिहानैबाट बालुवाटार निकटका नेताहरु कर्णालीको समस्या समाधान गर्न लागिपरेको स्रोतको दावी छ । अविश्वास प्रकरणले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँगै अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै अप्ठ्यारोमा परेका छन् । 

सोमबार दिनभर कार्यकारी अध्यक्ष प्रचण्ड सो प्रस्ताव फिर्ता गराउन लागिपरेपनि ओलीले खास चासो नदिएपछि प्रचण्ड दिनभर तनाबमा रहेका थिए । 

Advertisement

उनले सोमबार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग यस विषयमा अलगअलग परामर्श गरे। 

प्रचण्डले पार्टीभित्र आफू निकट नेताहरूसँग पनि अविश्वासको प्रस्ताव फिर्ता गराउने उपायका विषयमा छलफल गरे तर ओलीले खासै चासो दिएनन् । 

तर मध्यराति भने ओलीले प्रस्ताव फिर्ता गराउन आफूले पहल गर्ने सहितको सन्देश प्रवाह गरेको स्रोतको दावी छ ।

अविश्वास प्रस्तावमाथि छलफल गर्न मंगलबार २७ गते नै प्रमुख सचेतकले वैठक बोलाएका छन् । संसदीय दलका नेता तथा मुख्यमन्त्रीले उनलाई सोमबार नै जिम्मेवारीबाट मुक्त गरेका छन् ।