November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

उधारोमा बन्दै रङ्गशाला

2.3K

काठमाडौं: रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थ अभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन ।

रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो । रङ्गशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म रु ४१ करोड ८८ लाख चार हजार ९३६ खर्च भइसकेको छ । सोमध्ये सोमबारसम्म प्राप्त बिलअनुसार रु नौ करोड २५ लाख भुक्तान गर्न बाँकी छ ।

हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उहाँको भनाइ छ । उहाँका अनुसार माघ मसान्तसम्म रु १० करोडभन्दा बढी उधारो हुनेछ । हालसम्म रङ्गशाला निर्माणका लागि रु ३१ करोड ८३ लाख ८३ हजार आम्दानी भएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले रु आठ करोड, वाग्मती प्रदेश सरकारले रु तीन करोड सहयोग गरेका छन् ।

Advertisement

महायज्ञमा बोलकबोल रु ६९ करोड ४५ लाख ५६ हजार भएकामा जम्मा रु नौ करोड ११ लाख ६५ हजारमात्रै प्राप्त भएको तिमिल्सिनाले जानकारी दिनुभयो । महायज्ञमा रु एक करोडभन्दा बढी आठवटा संस्थाले कबोल गरेका थिए । वाग्मती प्रदेश सरकारले रु ३० करोड, भरतपुर महानगरपालिकाले रु १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले रु दुई करोड २२ लाख, वामदेव गौलीले रु एक करोड १२ लाख बराबरको जग्गा, नेपाल एलपी ग्यास उद्योगले रु एक करोड, गैँडाकोट नगरपालिकाले रु एक करोड बराबरको काठ, नेपाल पोल्ट्री महासङ्घले रु एक करोड र ग्लोबल आइएमई बैंकले रु एक करोड बोलकबोल गरेका थिए ।

ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासङ्घले रु ३० लाखबाहेक अन्यले कबोलको रकम भुक्तान नगरेको तिमिल्सिनाले जानकारी दिनुभयो । महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुके कोभिड–१९ का कारण रकम उठ्न ढिलाइ भएको भए पनि दाताहरुको नदिने नियत नभएकाले रकम क्रमशः उठ्दै जाने बताउनुहुन्छ ।

रकम उठाउनका लागि समितिका तर्फबाट टीकाराम लामिछानेलाई जिम्मेवारी दिइएको र सम्पूर्ण हिसाबकिताब फाउण्डेशनलाई बुझाइएको उहाँले जानकारी दिनुभयो । वाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले आव २०७७/७८ को विनियोजित रकमबाट सहयोग गरे पनि महायज्ञमा कबोल गरेको रकम भुक्तानी गरी नसकेको तिमिल्सिनाले जानकारी दिनुभयो ।