बार्सिलोना: एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कपको उपाधि जितेको छ। आइतबार राति भएको उपाधि भिडन्तमा बिल्बाओले बार्सिलोनालाई ३-२ गोलले पराजित गर्दै उपाधि जितेको हो।
खेलको ४० मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ४२ मिनेटमा बिल्बाओका मार्कोसले बराबरी गोल फर्काए । ७७ मिनेटमा बार्सिलोनाले दोस्रो पटक अग्रता लियो। यसपटक पनि ग्रिजम्यानले गोल गरे।
९० मिनेटमा बिल्बाओले बराबरी गोल फर्काउन सफल भयो । उसका भिल्लारिब्रेले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याए। त्यसपछि खेलमा ३० मिनेट थप गरियो। ९३ मिनेटमा विलियम्सले गोल गरेर बिल्बाओलाई ३-२ ले अघि बढाए । योसँगै बिल्बाओले स्पेनिस सुपर कपको उपाधि हात पारेको हो ।
थप समयको अन्तिम मिनेटमा लिओनल मेसीले रातो कार्ड पाए । बिल्बाओका खेलाडीलाई मेसीले हातले धकेलेर लडाएका थिए। त्यसपछि रेफ्रीले भिएआर रिभ्यू हेर्दै मेसीलाई रातो कार्ड दिएका हुन्।