April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा पार्दै युवा तथा खेलकुद मन्त्रालय

२०८० कार्तिक २५

1.9K

काठमाडौं । नेपाल सरकारले एकैपटक ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने भएको छ । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, काठमाडौंको मुलपानी क्रिकेट मैदान र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्ने निर्णय गरेको थियो । ऐतिहासिक निर्णय गरेपछि खेलाडी र खेलप्रेमीहरू उत्साहित भएका छन् ।

नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रर्दशनको लय कायम राख्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको शीर उच्च बनाईरहेको तर मुलुकभित्र सुविधासम्पन्न क्रिकेट रंगशालाको खडेरी देखेपछि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले झण्डै ४, ५ महिना अघि देखि नै खेल पुर्वाधारमा लगानी बढाउनुपर्ने निष्कर्षका साथ गृहकार्य गरेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि मन्त्री लिम्बुको प्रस्तावमा सकारात्मक बनेपछि २०८० सालको दिपावली अघिको अन्तीम मन्त्रीपरिषद्को बैठक(२३ कार्तिक)मा मन्त्री लिम्बु स्वयमले उल्लेखित ३ क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने ठाडो प्रस्ताव पेश गरे र त्यसलाई मन्त्रीपरिषद्ले पारीत गरेको थियो ।

Advertisement

सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लिम्बुले भने, ‘नेपाली क्रिकेटले अहिले असाध्यै राम्रो गरिरहेको छ । हामीले अब रंगशाला लगायत खेल पुर्वाधारहरू निर्माणमा विशेष जोड दिने हो भने नेपालमा खेलपर्यटनको ठूलो संभावना देखिन्छ । टेष्ट मान्यता प्राप्त भारत, पाकिस्तान, बंगलादेशजस्ता हाम्रै छिमेकी र नजिकका राष्ट्रहरू क्रिकेटका लागि नेपाल आउन सक्छन् । हाम्रो देशको वातावरण पनि त्यसका लागि अनुकुल छ ।’

पछिल्लो समयमा नेपाली क्रिकेटले एकपछि अर्को सफलता हासिल गर्दै नेपाल र नेपाली फ्यानहरूलाई गौरान्वित बनाउदै आएको छ । भर्खरै काठमाडौंमा सम्पन्न टी–२० विश्वकपको एशिया छनोट प्रतियोगितामा उपविजेता बन्दै नेपाल सन् २०२४मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि छानिएको छ । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा पहिलो पल्ट छनोट भएको नेपाली क्रिकेट टोलीले दोस्रोपटक यो सफलता १० बर्षपछि हासिल गरेको हो । यसअघि एशिया कपमा छनोट भएर नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले भारत र पाकिस्तानजस्ता क्रिकेटका “पावर हाउस”संग खेल्यो । अहिले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमै “इमर्जिङ क्रिकेट पावर”का रूपमा लिन थालिएको छ । विभिन्न राष्ट्रहरू सम्मिलित क्रिकेट प्रतियोगिता नेपालमा हुदै आएको पनि छ तर दुर्भाग्य, अहिलेसम्म नेपालमा एउटा पनि सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भईसकेको छैन ।

निकै चर्चा र प्रसंशाका बीच धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन थालेको भरतपुर, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबाट धुर्मुस, सुन्तलीले हात झिकेपछि अलपत्र बन्न पुगेको थियो । अन्ततः गत कार्तिक २१ मा मात्र बागमती प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा सो रंगशाला निर्माण गर्ने सम्झौता भएको छ ।