काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग भिडन्त गर्ने भएको छ ।
एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो ।
आजभन्दा ४८ वर्षअघि सन् १९७५ मा भारत र पाकिस्तान एकदिवसीय विश्वकपको पहिलो संस्करण खेलिरहेका थिए । त्यतिबेला नेपाली क्रिकेट भने आफ्नै देशको सानो आकाशभित्र अल्झिएको थियो । नेपाली क्रिकेटले सन् १९९६ मा आएर आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो ।