April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बुढासुब्बा गोल्डकपको बजेटप्रति धरान फुटबल क्लब असन्तुष्टि

1.8K

धरान । बुढासुब्बा गोल्डकप फुटबलको २४ औँ संस्करणका लागि छुट्याएको बजेटप्रति आयोजक धरान फुटबल क्लबले असन्तुष्टि जनाएको छ । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति क्लबले असन्तुष्टि जनाएको हो ।

नगर सभाबाट पारित भएको बजेटमा ९ लाख विनियोजन गरिएको छ । बजेट निर्माण भइरहेको बेला क्लबले मेयर हर्क साम्पाङसंग प्रतियोगिताको पहिलो र दोस्रो पुरस्कार राशि १० र ५ लाख गरी कुल १५ लाख रुपैयाँ विनियोजन गर्न अनुरोध गरेको थियो ।

बजेटमा प्रथम पुरस्कार राशि सम्म नपुग्ने रकम विनियोजन भएको जानकारी पाएपछि क्लबले मङ्गलवार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै असन्तुष्टि जनाएको हो ।

Advertisement

क्लबका अध्यक्ष किशोर राईले मेयर हर्क साम्पाङले खेलकुदका लागि सरोकारवाला निकायसँग छलफल नगरी गोल्डकपप्रति पूर्वाग्रहीहरूको आधारहीन कुरा सुनेर विनियोजनमा सहमति जनाएको बताए ।

कार्यपालिकामा बुढासुब्बा फुटबल प्रतियोगीतालाई हल्का रूपमा लिएर क्लबले २५ वर्ष देखी गरेको त्याग, बलिदान र समर्पणलाई अवमूल्यन गर्दै फुटबलको प्रतिष्ठालाई मानमर्दन भएको उनले बताए ।

अध्यक्ष राईले भने धरान उपमहानगरपालिकाको बजेट विना पनि अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप गरेर देखाइ दिन सक्ने चेतवनि पनि दिएका छन् ।

२५ वर्ष देखी संस्थागत रूपमा क्लब धरानमा फुटबल खेलको विकासका लागि निरन्तर लागिपरेको स्मरण गराउँदै राईले भने ‘कुनै पनि बहानामा धरान फुटबल क्लबको मानमर्दन सह्य हुँदैन ।’ उनले यस बारेमा मेयर साम्पाङ र उपमेयर आईन्द्र बेघालाई ध्यानाकर्षण पत्र बुझाउने, वडाअध्यक्षहरुसँग छलफल गर्ने बताए ।