काठमाडौं । बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण महिला फुटबल खेलका लागि नेपाली टोली घोषणा भएको छ ।
१९औं एसियन गेम्सको तयारीमा रहेको नेपाली महिला फुटबल टिमले यही जुलाई १३ र १६ बंगलादेशसँग ढाकामा दुई खेल खेल्ने भएको हो ।
मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । बुधबारदेखि शुक्रबारसम्म तीन दिनको प्रशिक्षणपछि प्रारम्भिक चरणमा बोलाइएका टोलीबाट उनले अन्तिम टोली चयन गरेका हुन् ।
टोलीमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ छन् । त्यसैगरी डिफेण्डरमा अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे, मिडफिल्डरमा रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही र फरवार्डमा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी छन् ।
टोलीको व्यवस्थापकमा बिन्द्रा देवान छन् भने सहायक प्रशिक्षकमा पारस चौधरी तथा गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा छन् ।