काठमाडौं । तेह्रथुममा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०७९ कार्यक्रम सम्पन्न भएको छ । छथर गाँउपालिकास्थित शुक्रबारे बजारमा आइतबार प्रजातन्त्र दिवसको दिन सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
प्रतियोगितामा २५ पदकसहित छथर गाउँपालिका प्रथम भएको छ । छथर गाउँपालिकाले ११ स्वर्ण, १२ रजत र २ कास्य पदक हात पारेको हो । यसैगरी ९ स्वर्ण ६ रजत र ३ कास्य गरी जम्मा १८ पदकसहित म्याङ्लुङ्ग नगरपालिका दोस्रो भएको छ ।
यसैगरी ४ स्वर्ण १ रजत ४ कास्य गरी जम्मा ९ पदकसहित आठराई गाउँपालिकाले तेश्रो स्थान प्राप्त गरेका छ भने चौथो मेन्छ्यायेम गाउँपालिका, पाँचौं फेदाप गाउँपालिका र छैटौं लालिगुराँस नगरपालिका बनेको छ । विजेताहरुले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा भलिवल, एथ्लेटिक्स्, कबड्डी, फिल्ड र ट्रयाकका जम्मा ३० विधाका खेलहरु खेलाइएको थियो ।
स्थानीय विद्यालयकी शिक्षक अर्चना खड्काका अनुसार भूमि व्यावस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यता रहेको उक्त प्रतियोगिताको उद्धघाटनका दिन वडाहरूको अगुवाइमा गाउँपालिकाका सबै वडाबाट विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । झाँकीसहित शिक्षक, कर्मचारी, विद्यार्थी, जनप्रतिनिधि, महिला स्वयंसेविका लगायतले बजार परिक्रमा पनि गरेका थिए ।
कार्यक्रममा कलाकार तेजेन्द्र गन्र्दधले प्रस्तुति दिएका थिए भने नित्यहरु पनि प्रस्तुत गरिएको थियो ।
प्रतियोगिता कार्यक्रम नेपाल सरकार, युवा तथा मन्त्रालयको तत्वावधान एवम् राष्ट्रिय खेलकुद परिषद तथा सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ विराटनगरको संयोजकत्व र जिल्ला खेलकुद समितिको आयोजना तथा छथर गाउँपालिकाको व्यवस्थानमा सम्पन्न भएको हो ।