काठमाडौं–साविक विजेता रियल मड्रिडले सेल्टा भिगोलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ। रियलले सेल्टालाई २–० गोलअन्तरले पराजित गरेको हो।
शनिबार राति भएको खेलमा रियलको जितमा लुकास भाजक्वएज र मार्को एसेन्सियोले गोल गरे। खेलको छैटौं मिनेटमा नै लुकासले गोल गर्दै रियल मड्रिडलाई १–० गोलको अग्रता दिलाए। ५३ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २–० गोलको जित दिलाएका हुन्।
शनिबार राति नै भएका अन्य खेलमा भिल्लारियलले लेभान्टेलाई २–१ गोलअन्तरले पराजित गर्दा रियल भालाडोलिडले गेटाफेलाई १–० गोलले पराजित गरेको छ। त्यस्तै, सेभियाले भने रियल बेटिससँग १–१ गोलको बराबरी खेलेको छ।