April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

दशैं मेला तथा खेलकुद कार्यक्रम सम्पन्न

3.3K

शरद अधिकारी

पाँचथर । जिल्लाको याङ्वरक गाउँपालिका–२ साबिक फलैचा गाविसस्थित कञ्चनजंघा प्रगतिशित युवा क्लबद्वारा ऐतिहासिक स्थल साङ्गाङडाँडामा सदा झै बडादशैंको अवसरमा दशैं मेला साथै महिला तथा पुरुष नकाउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । च्याङ्थापु, फलैचा लगायत आसपासबाट पुरुषका एक्काइस टीम सहभागी प्रतियोगितामा माउन्टेन स्पोर्टस् गंगावाले प्रथम स्थान प्राप्त गरेको थियो भने आयोजक क्लबले दोश्रो स्थानमा चित्त बुझाएको थियो ।

फलैचाका वडाध्यक्ष देउकुमार योङ्हाङको प्रमुख आतिथ्यतामा भएको फाईनल खेल हेर्न वर्षाका कारण गतसालमा जति दर्शक उपस्थित हुन नसकेतापनि हेर्नलायककै उपस्थिति देखिएको कुरा क्लबका सचिव लोकेन्द्र बेघाले नेपाल मामिलालाई बताए । पुरुष तर्फको प्रतियोगितामा प्रथम हुने टीमले नगद रु. ५०,५५५ सहित ट्रफी, मेडल तथा प्रमाण–पत्र त्यसैगरी द्वितीय हुने टीमले नगद रु. २५,०२५ सहित ट्रफी, मेडल तथा प्रमाण–पत्र प्राप्त गरेका थिए ।

Advertisement

क्लबका अध्यक्ष आइतराज बेघाले अध्यक्षता गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरु अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । छिमेकी जिल्ला ताप्लेजुङबाट समेत प्रतिनिधित्व भएको महिला फुटबल प्रतियोगितामा जम्मा छ टीमको भिडन्त भएको थियो । जसमा यस क्षेत्रकै उत्कृष्ट महिला फुटबल टीम मानिएको हिमशिखर युवा क्लब बेतेनी पहिलो तथा फक्ताङ्लुङ युवा क्लब साब्लाखु दोश्रो भएको थियो । प्रथम हुने हिमशिखर युवा क्लबले नगद रु. १५,०१५, ट्रफी, मेडल तथा प्रमाण पत्र हात पार्यो भने फक्ताङ्लुङ युवा क्लब साब्लाखुले नगद रु. ८,०८० सहित ट्रफी, मेडल तथा प्रमाण–पत्र प्राप्त गरेको जानकारी क्लबका सचिवले दिएका छन् । कार्यक्रमका प्रमुख अतिथिको हातबाट प्रतियोगिताका विजेताहरु तथा विभिन्न उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष योङ्हाङले आयोजक क्लबलाई धन्यवाद तथा बिजेता खेलाडीहरुलाई बधाई दिनुका साथै सम्पूर्णमा बडादशैंको शुभकामना व्यक्त गरेका थिए । बेघा थोबोजुम काठ्माडौंको अवधारणामा निर्माणाधिन बृहत साङ्गाङ परियोजनाले केही हदसम्म भएपनि हेर्नलायक ठाउँ बनाएको उक्त क्षेत्रमा आयोजना भएको मेला तथा खेलकुद कार्यक्रमले त्यस क्षेत्रको महत्व अझ बढाएको बताउछन् परियोजना मुल समितिका अध्यक्ष प्रविन बेघा ।

एकाउन्न रोपनी क्षेत्रफलमा फैलिएको यो ठाउँ अहिले नै यति राम्रो छ परियोजना पूर्ण रुपमा सम्पन्न भएपछि झन् कस्तो होला भन्ने कौतुहलता मेला भर्न आएका सबैजसोका मनमा रहेको पाउँदा साङ्गाङडाँडा क्षेत्र साँच्चै हेर्नलायक बन्ने रहेछ जस्तो लागेको बताउछन् स्थानिय नेतिगेन याक्थुङ ।